
साक्षात् ! शिवसँग ११ मिनेट
विश्वास र अनुभुति
भरत शर्मा
सोमबार साँझ । पशुपतिनाथमा महाशिवरात्रीको चहलपहल कम थियो, यसपाला । सायद कोरोना महामारीको कारण होला, साधुसन्तहरु पनि कम ।
शिव (श्री)को सेवक (भरत शर्मा)लाई श्रीसँग साक्षात्कार गर्ने अवसर बर्षको दुई पटक हुने गर्दछ । शिवरात्रीको अघिल्लो सोमबार पशुपतिनाथको दक्षिणद्वारबाट चौसठ्ठी अगाडि भएर बसें । श्रीको शीर गजुर दर्शन गरें । ‘नमः शिवाय’ भनेर मन्त्रजप गर्दै आनन्दको अनुभव गर्दै थिएँ ।
रात्री १० बजेसम्म श्रीको शरणमा बस्ने समय तय भएको थियो । अब केही दिनपछि अलि भीड हुनसक्छ भनेर सोमबार नै श्रीसँग भेट गर्ने समय तय भएको थियो । श्रीसँग भेट भएपछि के प्रश्न राख्ने होला भनेर टिपोट गरौं कि भनेर कोटको खोजीबाट डायरी र कलम निकाल्दै थिएँ । कलमले लेख्न छोड्यो । र, लेख्नलाई डायरीका खाली पाना नै भेटिएन ।
लौं, प्रश्न लेख्न नपर्ने रहेछ भनेर कलमकापी बन्द गरेँ । आँखा बन्द गरेर ध्यान गर्न बसेको मात्र थिएँ, श्रीको दर्शन भयो । अत्यन्त मनमोहक आवरणमा श्रीको दर्शन भयो । साथमा रहेका मेरा सहकर्मी कृष्णबहादुर थापा पनि मेरो नजिकमा नै शिवको ध्यान गर्दै थिए ।
शिवरात्री र सोमबारको अवसर पारेर दर्शनका लागि जाँदा थापालाई पनि साथै लगेको थिएँ । श्रीसँग भेट गर्ने कुरा चाहिँ गोप्य नैं थियो । यसअघि श्रीसँग पुसको अन्तिम साता धर्नुमास पूजाको अवसरको रात्री २ बजे एकैछिन मात्र भेट भएको थियो ।
आजको संवादमा अलि बढी समय माग गरेको थिएँ । मनका कुरा र केही प्रश्नहरु थिए, श्रीलाई सोध्न ।
विश्वमा कोरोना महामारी अन्तिम चरणमा चरण गर्दै छ । यसको कारण र यसपाला श्रीको चरणमा सुनको जलहरी र सुनकै जलारी समर्पण गरिएका बारे केही प्रश्न राख्ने मन थियो । मनमा अनेक प्रश्न भए पनि श्रीसँग भेट हुँदा प्रश्नहरु हराएर शून्यमा विलिन हुने अवस्था हुन्छ ।
‘ल ठीक छ । भेट भए जे वार्ता होला होला !’, मनमा यस्तै तर्कना गर्दै थिएँ । अगाडि श्री प्रकट हुनभयो ।
हालचाल सोधपुछ भयो ।
पहिलो प्रश्नः ‘कोरोना महामारीको साक्षी भएर अनुभव गरे मैले पनि ।’
‘अनुभव नै अवसर हो । ठीक भयो’, मुस्कानसहित श्रीले भन्नुभयो ।
यस पटक श्रीसँग भेट भएपछि समय ११ मिनेट तय भयो । खुसी भएँ, यो मेरो लागि धेरै समय हो । धर्नुमासको रात्रीमा १ मिनेट समय पाएका बेला गुनासो गरेको थिएँ । शिवरात्री आउनुभन्दा ठीकअघिको सोमबार साँझ अलि बढी समय दिने वाचा पाएको थिएँ ।
आज त धेरै प्रश्न गर्न पाएँ । खुसीको अनुभव गदै १ मिनेट सकियो ।
‘अब प्रश्नोत्तर’, श्रीबाट आज्ञा भयो ।
भक्तः कोरोना महामारी अब कहिलेसम्म ?
श्रीः अन्तिम चरणमा मानिसले अब मुक्तिबाट भक्तितिर लाग्नु पर्छ । यस्ता महामारी अनेक रुपमा फेरि पनि आउन सक्छ । यो केवल सचेतनाका लागि मात्र संकेत गरेको हो । मानिसमा घमण्ड, अहंकार र दम्भ बढ्यो । त्यसैले एकपटक यो संकेत मात्र हो । के यो महामारीबाट मानिसमा अहंकार कम भएको छ ?
भक्तः कुनै न कुनै रुपमा मानिसमा दम्भ कम भएको हुनुपर्छ । अंहकारको मात्रा पनि कम भएको छ तर घमण्ड त बाँकी नै देख्छु हजुर ।
श्रीः कलिकालमा यस्तो हुनु स्वभाविक हो । अझै मानवले कठिन दिनको लागि प्रतीक्षा गर्नुपर्छ ।
भक्तः हजुरको निर्देशन अनुसार हामी चल्ने हो । अझै हामीले दुःख पाउनु पर्ने ?
श्रीः मुक्तिको लागि भक्ति गर्नुपर्छ । संसारमा अहंकार भाव राख्नेहरुका मनमा सद्भाव जागरण गराउनु आवश्यक छ । मतभेद र मनभेद हटाएर सद्भाव, शान्ति र भाइचाराको लागि विश्वलाई नै पाठ सिकाउने हो ।
भक्तः यसपटको श्रीको चरणमा सुनजडित जलारी र जलहरी अर्पण गरेका थियौं ? यसमा हजुरको राय हामीलाई जान्नु छ ।
श्रीः भक्त नै मेरा सम्पत्ति हुन् । भक्तले समर्पण गरेका भाव नै मेरा लागि अमूल्य छ । भक्तले बेलपत्र, जलको साथमा सुनको जलारी र जलहरी दुवै भाव राखेर समर्पण गरे । मैले स्वीकार गरे ।
भक्तः हामी त हजुरको शरणमा छौं ? अबका दिनहरु कस्ता हुने हुन् ? महामारीले त मानवजातिलाई नै एकपटक सोच्न बाध्य बनायो नि हजुर ?
श्रीः म पनि भक्तको शरणमा छु । मेरा भक्तहरुलाई भएको दुःख कष्ट मैले पनि सहन गरेको छु । अबका दिन सुखद हुनेछन्, भक्तहरुले भक्ति गर्न छोड्दै गए । मनमा अहंकार बोकेर हिंडेकाले सचेत गराउनका लागि सचेत गराएका हुँ । मेरा भक्तहरु अब डराउन पदैंन । आत्मबल बलियो बनाउनु पहिलो शक्ति हो । यो रोगलाई परास्त गर्न एउटा औषधि दिएको त थिएँ नि । आत्मबल । आत्मबल बलियो हुनेहरुले रोगलाई स्वागत गरे अनि परास्त गरे । अनुभव नै जीवनको सार हो । श्वासको महत्व कति हुन्छ भनेर अनुभव नगर्नेलाई के थाहा ? कोरोनासँग लडेकाहरुलाई सोध्नुपर्छ, श्वासको महत्व कति हुन्छ ?
श्रीः भक्तको लागि प्रत्यक्ष उपस्थित हुन नसके पनि म सधै उपस्थित हुनेछुु । शिवरात्रीको समय मेरा प्यारा भक्तहरुको लाइन लामो हुनेछ । त्यसैले प्रिय मेरा भक्त भरतको लागि समय सकियो ।
यसपटको भेटमा मैले दुई प्रश्न मात्र राखेँ, कोरोना महामारी र श्रीको चरणमा अर्पण गरेको जलहरीबारे । प्रश्नोत्तर सकिएपछि नजिकै रहेका थापाजीले मलाई समय त रातको ९ः३० भएको संकेत गरे ।
मैले पनि ‘अब हामी निस्कने हो । कुराकानी सकियो’ भनेँ ।
‘कुराकानीको सार के भयो, के भयो ?’, थापा जी उत्सुकताका साथ हतारमा प्रश्न गर्नतिर लागे ।
मैले धैर्यपूर्वक भनेँ, ‘अझैं कठिन दिन आउन सक्छ तर भक्तिमार्गमा हिड्नेका लागि सुखद दिन आउने निधो भयो ।’
थापा मुसुस्क हाँसे । ‘अब हामी डराउनु पर्दैन ?’, थापाले भने ।
मैले भने, ‘होइन भक्तिमार्गको यात्रा जारी राख्नु पर्छ । अब तपाई फेरि अर्को महिना मुक्तिनाथ जानुपर्छ । अहिले मुक्तिनाथ जाने बाटो निकै राम्रो छ, केही चिन्ता छैन ।’
थापाले माग गरे, ‘श्रीँसँग मेरो भेट चाहिँ कहिले ?’
श्रीसँग मैले पनि अनुरोध गर्नुपर्छ भन्दै थिए । श्रीबाट आज्ञा भयो, ‘भक्त कृष्ण र मेरो भेट मुक्तिनाथमा अर्को महिना हुनेछ । आउनु भन्दा पहिले खबर दिनु कैलाशबाट मुक्तिनाथ नजिक हुने भएकाले त्यही नै भेटौला ।’
हरहर महादेव ।