उडी ऊ क्यानडा
सविना सापकोटा
‘आई एम गोना मीस यु’ दोहाबाट दीप्ताले पठाएकी मसेज मोबाइलमा देखेँ । मन भरिएर आयो, आँखा टलपल । नरमाइलो लाग्यो । आखाँ अगाडि सरर आइ ऊ ।
ऊ मलाई छाडेर जाँदै थिई । रातको १२ बजे ऊ नेपाल छोडेर जाँदै थिई, कम्तीमा पनि ४ बर्षको लागि । अझ अरु कति बर्ष बस्छे ? थाहा छैन ।
‘हिड्नु नँ । एयरपोर्टसम्म पुर्याउन’ भन्दै थिई रुन्चे स्वरमा हिजो राती ।
मेरो त आज परिक्षा कसरी जानु ? त्यसमाथि त्यति राती ।
एक त म प्राय पाएसम्म ९ बजेसम्म सुत्ने मान्छे । तर, बिहान ७ बजेदेखि परिक्षा तालिका हुदाँ कम्ता पिर थियो र ? त्यसमाथि राती १२ बजे एयरपोर्ट्बाट फर्केर कति बेर सुत्नु ? फेरि ऊ जाँदै गर्दाको दृश्यले थप भावुक नबनाओस् भन्ने पनि थियो ।
एयरपोर्ट् नगए पनि मन अस्थिर भइरह्यो । सोचाइहरु आइरहे, अनेक थरी । ओहो ! एयरपार्टमा कुनै कागजपत्र नपुगेर केही अप्ठ्यारो त हुने होइन उसलाई ? त्यस्तो केही भइहाले के गर्ने ? भोलिपल्टको परिक्षामा के लेख्नेभन्दा पनि एयरपोर्ट्मा के होला भन्ने कुराहरु दिमागमा खेलिरह्यो ।
केही समयअघि नै ऊ उता जाने निश्चित भइसकेको थियो । ऊ उत्सुक थिई, म पनि खुशी थिएँ तर मलाई बेचैनी किन ? मन अशान्त भइरह्यो ।
उसका घरपरिवारलाई ऊ यहीँ बसेर केही गरोस् भन्ने थियो र उसलाई इन्जिनियरिङ (बीइ)को तयारी कक्षामा भर्ना पनि गरिदिएका थिए । त्यसमा उसले कत्ति पनि मन लगाइन । खेर गयो समय अनि पैसा ।
ऊ भन्ने गर्थी, ‘म क्यानडा गएर राम्रो नर्स बनेर देश आउँछु अनि सबैलाइ सजिलो हुने खालको उपचार विधि ल्याउँछु ।’
म अहिले सम्झिन्छु, विदेशिएका हाम्रा गाँउका धेरै दाइदिदीहरु धरै पैसा कमाएर देश विकासमा लगानी गर्छौ भन्थे तर उनीहरु उतै कता हराए । थाह छैन, के छ खबर उनीहरुको ? नेपालतिर आउने केही सुर छ कि छैन भनेर सोध्दा फेरि ‘नयाँ घर किनेको, किस्ता भर्दै ठिक हुन्छ, दुई दिन काम नगर्दा सबै हिसावकिताव बिग्रिन्छ’ भन्छन् ।
उसले पनि एकपटक भनेकी थिई, ‘पढाइ सकाएर उतै आउनु अनि रमाइलो गरौंला दिदी ।’
ऊ उच्च शिक्षाका लागि क्यानडा उडी तर अझै पुगेकी छैन । दोहा एयरपोर्ट त अघि नै पुगेकी । अब त्यहाँबाट पनि उडी होली ।
‘आई मीस यु’ दीप्ता ।