कोभिड खोप लगाएकी नर्सको एक–एक अनुभव
उनी नर्सिङ स्टाफ । मकवानपुरगढी गाउँपालिका, मकवानपुरमा कार्यरत छिन् । नर्सिंङमा काम गरेको ४ बर्ष भयो । त्यसअघि गैरसरकारी संस्थाहरुमा थिइन् । समाजशास्त्रमा स्नातकोत्तर समेत गरेकी उनले पालिका ज्वाइन गरेको २ बर्ष भयो । हेटौंडाको मकवानपुर अस्पतालमा हालै उनले काभिडविरुद्धको खोप लगाइन् । खोप लगाउनुअघि, लगाइरहँदा र लगाइसकेपछिका शाररिक, मानसिक र भावनात्मक पक्ष खोतल्ने स्वास्थ्यप्रधान प्रयास ‘स्वस्थ बातचित्’मा नेपालनाम्चा र रमिला घलानबीचको कोभिड कुराकानी विशेष ।
नेपालनाम्चाः नमस्कार ।
रमिलाः नमस्कार ।
नेपालनाम्चाः बधाई छ । कोभिड भ्याक्सिनेसनको लागि । के तपाई आफ्नो कोभिड भ्याक्सिनेसन अनुभव शेयर गर्न चाहनु हुन्छ ?
रमिलाः हुन्छ । के भनम् ? भन्नुस्न् ।
नेपालनाम्चाः कसरी लगाउन मेसो मिल्यो ?
रमिलाः म नर्स् हुँ । कोभिडविरुद्ध फ्रन्ट लाइनमा काम गर्ने स्वाथ्यकर्मी हुँ । त्यसैले यो अवसर मिल्यो । मेडिकल टीमसँगै स्वास्थ्य स्वयंसेविका, सरसफाई टीम र एम्बुलेन्स चालकलाई पनि प्राथमिकताको आधारमा खोप दिइदैछ ।
त्यसरी कुरा सुरु भएको थियो । कुरा भइरहँदा रातको ११ बजिसकेको थियो र उनले कोभिडविरुद्धको खोप लाएको झन्डै १२ घन्टा । बाँकी उनकै शब्दमा ।
लकडाउनको सबैजसो समय काममै बित्यो । विशेष गरी बाहिर देश र जिल्लाबाट आएकाहरु र कोभिड शंकास्पद व्यक्तिहरु व्यक्तिहरुलाई घरभेट गर्ने, फिल्ड जाने, त्यस खालको मुभमेन्ट भयो । त्यसक्रममा टीमका केही साथीहरुलाई कोभिड पनि भयो । तर, मलाईचाहिँ भएन ।
टेस्ट गराएकी पनि थिएँ । पिसिआर नेगेटभि आयो । एकपटक मात्र टेस्ट गर्ने अवसर मिल्यो । लक्षण देखिएकाहरुलाई प्राथमिकतामा राखिएकाले हामीलाई पटकपटक अवसर नमिलेको हो । पछि त टेस्ट गर्ने कुरा नै प्राथमिकताबाट हट्यो । शंका लागेका व्यक्तिहरु स्वयमले घरमै आफूलाई केयर गर्ने भन्ने कुरा आयो । नेपालको अवस्थाले नै धान्न नसक्ने स्थिति थियो नि त । र, अर्को कुरा मलाई लक्षण पनि देखिएको थिएन । त्यसैले धेरै पटक टेस्ट गर्नुपर्ने अवस्थै आएन पनि ।
मैले साउनको १० गते पिसिआर टेस्ट गराएकी थिएँ । त्यति बेला मेरो घाँटीमा समस्या थियो । टन्सिलाइटिस् भएको थियो । घाँटी पुरै पाकेको थियो । स्थिति अलि गम्भिरै थियो । त्यसकारण मैले पिसिआर टेस्ट गराएको थिएँ, अस्पतालमा भर्ना हुन पिसिआर टेस्ट अनिवार्य भएकोले । मलाई कोभिडको कुनै लक्षण थिएन । तर, लक्षण नभएका कतिपयलाई पनि कोभिड पोजेटिभ देखाइरहेको थियो । त्यसकारणले गर्दा मलाई एकखालको डर थियो । अर्कोतिर मलार्ई कुनै लक्षण नभएकोले पोजेटिभ आउँछ भन्ने डर थिएन पनि । त्यो डर पनि लागेको र डर पनि नलागेको अवस्था थियो । एकखालको दुविधा थियो तर भोलिपल्ट नै रिपोर्ट आयो र जेहोस् खुशी लाग्यो ।
विश्वव्यापी महामारीको रुपमा कोभिडले धेरै जनाले ज्यान गुमाए । अझै पनि यसको कारणले धेरै जनाले ज्यान गुमाउन परिरहेको छ । त्यसले गर्दा एक खालको त्रास छ । मानसिकता नै फरक भइरहेको छ । हामी पनि यसबाट संक्रमित हुने पो हो कि भन्ने लागिरहेको त्रासैत्रासको अवस्थामा कोभिड भ्याक्सिन नेपालमा पनि आयो । र, आउँदैछ भन्ने सुन्न पाउँदा धेरै खुशी लाग्यो, विशेष गरेर हामी फ्रन्टलाइनमा रहने स्वास्थ्यकर्मीहरुको लागि भनेर ।
लाउने भन्ने कुरा त भयो तर यहीबीचमा एक खालको भ्रम पनि फैलियो । त्यसले गर्दा लाउने कि नलाउने, लाउने कि नलाउने भन्ने पनि भयो मनमा । भ्रमको आधार के थियो भने यो ट्रायल फेजमा छ, यो रिसर्चकै क्रममा छ । र, हो पनि । त्यसकारणले गर्दा के गर्ने भन्ने भइरह्यो । नलाउने हो कि भन्ने पनि लाग्यो मलाई पनि ।
लाउने कि नलाउने, लाउने कि नलाउने भन्ने दोधार भइरह्यो । त्यसपछि डाक्टरहरुसँग सल्लाह गरियो । अग्रजहरुसँग पनि सल्लाह गरियो । ‘डब्लुएचओले पनि मान्यता दिएको छैन’ भन्ने कुरा आएपछि डब्लुएचओकै डाक्टरसँग पनि सल्लाह लिएँ । त्यस्तो होइन, मान्यता नदिएको भन्ने कुरा होइन, लाउनुपर्छ भन्ने खालको सल्लाह पाएँ । त्यसपछि कन्फिडेन्ट भएर लाउन गएको हुँ ।
सबै मेडिकल टीम, महिला स्वास्थ्य स्वयमसेविका, एम्बुलन्स चालक, सरसफाई कर्मचारी आदिले भ्याक्सिन लगाए । भ्याक्सिन हाम्रो लागि त नर्मलै हो तर पनि ‘के हो ! के हो !’ भन्ने पनि थियो ।
यो भ्याक्सिनले के गर्छ भन्ने कुरा अझै पनि स्पस्ट भइसकेको थिएन । यसको साइड इफेक्ट १२ घन्टापछि मात्र देखिन्छ भनेर लगाइसकेकाहरुले भनिरहँदा अलिकति डरचाहिँ लागिरहेको छ । मैले बिहान साढे ११ बजे लगाएको हो । अहिले लगभग रातको साढे ११ नै हुन लागेको छ । तर, मलाई त्यस्तो गाह्रो भइरहेको छैन । साइड इफेक्टहरु पनि देखिएको छैन ।
मैले भ्याक्सिन लगाउने बित्तिकै स्कुटर ड्राइभ गरिहालेँ । त्यसकारणले गर्दा अलिअलि मसल्स् पार्टचाहिँ दुखेजस्तो फिल भएको छ । र, दिनभरमा एक घन्टाजति स्कुटर पनि चलाएँ, राम्रो र कतै अफरोड गरी । झन्डै २० किलोमिटर । हेटौडाबाट मकवानचुली र मकवानचुलीबाट हेटौंडा ।
बाइ द वे, खोप लगाएका कतिपय ज्वरो आइरहेको छ । र, अफिसै नगएर सुत्नु पनि भएको छ, जसले हिजोअस्ति लाउनु भयो । र, मलाई पनि त्यही हुने हो कि भनेर साइकोलाजिकल्ली पनि पर्यो नि त । त्यही भएर मैले तातो पानी एकदमै खाएँ, अफिसमै । चिया कफी पनि खाइरहेँ । खाजामा पनि ध्यान पुर्याएँ । जे होस्, बिहानैदेखि डाइट मिलेको छ । खाजा, खाना र फ्रुट्स् पनि खाएँ । सागहरु, झोलिलो कुराहरु । त्यस्तै ।
गुडनाइट ।
नेपालनाम्चाः खोप लगाएपछि प्रथम बाह्र घन्टा कटेको छ र तपाईंको स्वास्थ्यमा केही असर परेको छैन । बधाई प्लस गुडनाइट ।
भोलिपल्ट बिहान
रमिलाः हिजो राती बाह्र बजेतिर निदाएँ । तर, राती भन्ने कि बिहान, दुई बजेतिर मलाई ज्वरो आयो नि । त्यति बेला अलि गाहे नै भयो । कामजरो जस्तो आएको थियो । पछि निदाएँ ।
बिहान उठ्दा ज्यान दुखिरहेको थियो । टाउको भारी भइरहेको थियो । एउटा पारासिटामोल खाएँ बिहान । ज्वरो घट्यो । अफिस पनि गएँ ।
दिउँसो
रमिलाः गुड आफ्टरनुन् नेपालनाम्चा । अहिले घर फर्किसकेको छु । अहिले फिभर छैन । ज्यान चाहिँ अहिले पनि दुखिरहेको छ । धेरै गाह्रो पनि होइन, पुरै निको पनि होइन । अलि भारी जस्तो भइरहेको छ । अलिकति विकनेसजस्तो । अरु त त्यस्तो केही छैन । तर, एउटा कुरा सोधौं, तपाईंको बारेमा ?
नेपालनाम्चाः सोध्नुस् ।
रमिलाः तपाईंको खास नाम के हो ? कि नेपालनाम्चा नै हो ?
नेपालनाम्चाः ‘… कि नेपालनाम्चा नै हो ?’ तपाईंले यसो भनेको सुन्दा ‘नेपालनाम्चा’ मेरो नाम हो भन्दा पनि सुहाउने नै रहेछ जस्तो लाग्यो । सम्झनुस्, मेरो नाम नेपालनाम्चा नै हो ।