‘अध्यात्म अन्तरङ्ग’मा स्वस्थानी सम्वाद
लामो समय गोरखापत्रमा ‘अध्यात्मदर्शन’ र युवामञ्चमा ‘जीवनदर्शन’ स्तम्भ लेखेका कमल रिजाल गोरखापत्रका प्रधान सम्पादक र मधुपर्कका सम्पादक समेत रहिसकेका छन् । हाल अवकाश प्राप्त जीवन व्यतीत गर्दै आएका रिजालले तीन वर्ष इमेज एफएमको प्रभातकालीन (आध्यात्मिक) कार्यक्रम सञ्चालन समेत गरेका थिए ।
अध्यात्मदर्शनमा आधारित उनका एक दर्जन पुस्तक प्रकाशित छन् । तिनमा सुकर्म, पृथा, दृष्टिभ्रम, सुदर्शन, दर्शनभित्रको दर्शन, विश्वविख्यात वैदिक वैज्ञानिक, रत्ननीति कथासङ्ग्रह भाग एक र दुई तथा विख्यात पौराणिक पात्र र मिथकहरू मुख्य हुन् । पौराणिक प्रवचनलाई पैतृक धरोहर मान्ने रिजालजी पत्रकार नभएको भए सायद आफू पनि भागवत प्रवचन गर्दै हिड्ने थिएँ होला भन्छन् ।
केही समयअघि नेपालनाम्चाको एक प्रश्नमा पत्रकारिता क्षेत्रमा जीवनको उर्वर समय बिताएका रिजालले भनेका थिए– ‘संस्कृत साहित्यमा उच्च शिक्षा हासिल गरेपछि मेरा लागि दुई विकल्प थिए– पैतृक धरोहरकै सम्मान गर्ने कि पत्रकारिताको माध्यमबाट आध्यात्मिक क्षेत्रमा लाग्ने भन्ने । निकै सोचविचारपछि मुलुकमा आध्यात्मिक क्षेत्रमा पत्रकारिता गर्ने मानिसको ठूलै खडेरी छ जस्तो लाग्यो र यस क्षेत्रमा आबद्ध हुन पुगें ।’
नेपालनाम्चाले सुरु गरेको बिहिबारे स्तम्भ ‘अध्यात्म अन्तरङ्ग’ अध्यात्मबारे गहिरो ज्ञान राख्ने कमल रिजालसँगको स्वस्थानी सम्वादबाट सुरु गरेका छौं । आशा छ, पाठक वर्गबाट सल्लाह, सुझावका साथै थप स्नेह पाउँदै जानेछौं । सम्पादक
अध्यात्म अन्तरङ्गलाई हामी कसरी व्याख्या गर्न सक्छौ ? कतै अध्यात्मको अन्तरङ्ग ब्रह्माण्डसितै सम्बन्धित त छैन ?
हो, छ, अवश्य छ, यसको अन्तरङ्ग ब्रह्माण्डसितै सम्बन्धित छ । समग्र विश्वब्रह्माण्ड अध्यात्मले ओतप्रोत छ । हामी मानौं नमार्नौ विश्वब्रह्माण्डको संरचना नै अध्यात्मबाट भएको छ र सञ्चालनको काम पनि अध्यात्मले नै गरेको छ । हामीलाई जन्माउने पनि उही हो, बचाउने पनि उही हो । अध्यात्म उर्जाको समन्वय विना न हामी खान सक्छौं न खाएको चीज पचाउनै सक्छौं ।
त्यसको अर्थ कहाँ छैन अध्यात्म ?
हो, अर्थ कहाँ छैन अध्यात्म ? आकाशमा छ, अन्तरिक्षमा छ, पृथिवीमा छ । द्यावाभूमि सर्वत्र छ । हावाको झोक्कामा छ, कुखुराको डाँकोमा छ, चराको चिरबिरमा छ, नदीनालाको सुसेलीमा छ, समुद्रको छालमा छ, वनजङ्गलमा छ, अन्नको टुसामा छ । यहाँसम्म कि बाबुको वीर्यमा पनि यही छ अनि आमाको रजमा पनि यही छ ।
ओहो !
समग्रमा भन्नुपर्दा जुन विन्दुमा अभिनय समाप्त हुन्छ, त्यही विन्दुबाट अध्यात्मको जग उठेको हुन्छ ।
यसबारे आगामी श्रृङ्खलामा थप चर्चा गर्दै जाउँला, अहिलेलाई भने आजैदेखि सुरु स्वस्थानी कथा श्रृंखला वा स्वस्थानी संस्कृतिसँग नेपाली समाज र सभ्यताका बारेमा नै कुरा सुरु गरौं हुँदैन ?
हुन्छ किन नहुने ? सायद यसबेलामा बढी गर्नुपर्ने कुरा नै यही हो, यसैसित सम्बन्धित हो ।
धन्यवाद । यसैबारे चर्चा गरौं ।
एकताका स्वस्थानी नेपाली समाजको अभिन्न अङ्ग नै बनेको थियो भन्दा हुन्छ । हरेक वर्ष पुस, माघ महिनामा स्वस्थानी नभन्ने घर नै हुँदैन थियो भन्दा बढी हुन्छ जस्तो लाग्दैन । सर्वप्रथम संस्कृत भाषाबाट यसको अनुवाद नेपाल भाषामा भएको थियो ।
यो पुरानो कुरा तर धेरैका लागि नयाँ सुचना हो ।
केही पछि गएर मात्र नेपाली भाषामा अनुवाद भई पढिन थालिएको हो । जब नेपाली भाषामा अनुवाद भयो, तब यसको लोकप्रियता यति बढेर गयो कि एकैचोटी ह्वात्तै मेचीमहाकाली समेट्न पुग्यो । सुरुसुरुमा कतिपय मानिसले साक्षरताको पहिचान नै यसैलाई मानेका थिए । जुन बालबालिकाले राम्रोसँग स्वस्थानी भन्न र सुनाउन सक्थे उनीहरू अवल दर्जाको मानिन्थे ।
अहिले यसको लोकप्रियता घटेको छ ?
लोकप्रियता घटेको छ भन्ने होइन । आधुनिक पुस्ताको कुरा छाडौं, पश्चिमा शिक्षाको हावाले केकतिलाई छोएको छ, त्यो बेग्लै कुरा हो । पुरानो पुस्ताको कुरा गर्ने हो भने अहिले पनि स्वस्थानीको स्थान उत्तिकै सम्मानित छ, समुन्नत छ । काठमाडौं उपत्यकाको शालीनदीमा महिनाभर स्वस्थानी मेला नै लाग्दै आएको छ । पहाड–पर्वतकै कुरा गर्ने हो भने पनि पूरा महिनाभर स्वस्थानीको व्रत बस्ने आमाहरूको समूह ठूलै छ ।
तर यसका केही अशोभनीय अस्वाभाविक पक्ष पनि छन् नि । जस्तो कि बालविवाह, बहुविवाह, स्त्री जाति भनेका भोग्या हुन्, श्रीमती भनेका दाशी हुन, यस्तैयस्तै । यसबारेमा चाहिं के भन्नुहुन्छ नि ?
यो आ–आफ्नो दृष्टिमा भर पर्ने कुरा हो । जस्तो आँखाले हे-यो, संसार त्यस्तै देखिन्छ । कसैलाई गुलियो मन पर्दैन भने उसका लागि त्यो जति सत्य हो, कसैलाई मन पर्छ भने त्यो पनि उसका लागि उत्तिकै सत्य हो । पश्चिमी संस्कृतिको लेप लागेको संस्कृति मात्र सही संस्कृति मान्ने र ठान्नेहरूलाई स्वस्थानी संस्कृति न राम्रो लाग्न सक्छ तर यसको अर्थ यो होइन कि स्वस्थानी संस्कृति आफैमा नराम्रै संस्कृति हो । आफ्नै शिक्षा र संस्कृतिमा रमेका वा रम्न चाहनेहरूले राम्रो मानिरहेका छन्, मान्दै आएका छन् । कसैलाई मन पर्दैन भने उसले नमान्न सक्छ, पाउँछ तर नकारात्मक टीका टिप्पणी गर्दै हिड्न भने कसैले पनि पाउँदैन, हुँदैन । हो, स्वस्थानीमा समयसापेक्ष नभएका वा हुन नसकेका केही प्रसङ्ग जरुर छन् तर त्यो कुन परिवेशमा लेखियो भन्ने पनि हेर्नुपर्ने हुन्छ । तत्कालीन समाजले सायद त्यस्तै रुचाउँथ्यो, त्यस्तैलाई सजिलै पचाउन सक्थ्यो । लेख्नेले त्यस्तै लेखिदिए, पढ्नेले पढ्दै गए । फेरि पनि अपजसको भार पूरा ग्रन्थलाई दिन्छौं भने हत्केलाले आँखा छोपेर अँध्यारो भयो भन्दै हिड्नु जस्तै हो ।
त्यसो भए स्वस्थानी कथा मात्र होइन ? हो भने अरु के हो त ?
रूपमा त त्यही हो । यो कथा हो, कथा मात्रै हो तर सारमा होइन ।
सारमा के हो त यो ?
सारमा भन्ने हो भने यो जीवन हो, जीवनदर्शन हो, जीवन पद्धति हो, दैनिक जीवन चर्या हो, सबैभन्दा बढी काम, कर्तव्य र अधिकारको समन्वयात्मक प्रस्तुति हो, प्रतिविम्ब हो । जीवनमा सबैले आफ्नो हक र अधिकार खोजी गर्नुपर्छ तर कर्तव्यलाई भने बिर्सन हुन्न । स्वस्थानीले सारमा दिएको सन्देश यही हो । हक अधिकार खोज्नेले कर्तव्य बिर्सदै हिड्नु उचित हो भने स्वस्थानी मन गणन्ते कथा मात्र हो । यदि त्यो उचित होइन भने स्वस्थानी पनि कथा मात्र होइन, कथाभन्दा धेरै अरु नै हो । पाप गर्दा विष्णुले पनि त्यसको फल भोग्नुपरेको छ । पितृधर्म पालन गर्दा भिखारी ब्राह्मणीको छोरा पनि राजा भएको छ । अरुको डाहा, ईष्र्या गर्दा दक्षप्रजापतिको शिरच्छेदन भएको छ । सहयोग गर्दा पहाड पर्वतले पनि सम्मान पाएको छ । यो भन्दा उत्तम सामाजिक शास्त्र अरु के खोज्ने ? आजका शासकहरूले स्वस्थानीबाट अलिकति मात्र शिक्षा लिएका भए पनि सायद समाजको अवस्था अर्कै हुन सक्ने थियो । त्यसैले स्वस्थानी केही पनि होइन भन्दै व्यर्र्थै उम्लिंदैं हिड्ने होइन कि स्वस्थानीको कक्षा लिनेतिर ध्यान दिनु उचित हुनेछ ।
धन्यवाद् । आजलाई यति गरौं । अर्को बिहिबार ‘अध्यात्म अन्तरङ्ग’मा फेरि भेटौंला ।