
मर्न लागेको कुकुर बचाएँ, अचेल भिडियो कल गर्छु

जानवी ठकुरी
६ वर्ष अगाडिको कुरा हो । म एक दिन काठमाडौं उपत्यकाभित्रकै एउटा गाउँतिर घुम्न गएको थिएँ । असार लागिसकेको थियो । हिँड्दै जाँदा बस्तीदेखि अलिपर बाटो धेरै नै हिलो भएकोले म बाटो माथिको खेतको छेउबाट हिँड्न थालेँ । एकछिन के हिँडेको थिएँ, मेरो खुट्टाअगाडि स-साना केही जीव मसिनो स्वरमा कराएको सुनेँ ।
पहिले त म आत्तिएर फरक्क फर्केर भागेँ । अलि पर पुगेपछि झसङ्ग भएर आफैसँग प्रश्न गरेँ, ‘अरे! म किन आत्तिएर भागेको ? त्यो त कुकुरको साना बच्चाहरु जस्तो छ ।’
म फेरि फर्केर त्यो ठाउँमा गएर हेरेँ । साँच्चै त्यहाँ कुकुरको सानासाना चारवटा आँखै नखुलेका बच्चाहरु हिलोमा लतपत्तिएर रोइरहेका थिए । हाम्रो समाजमा त्यस्ता आँखा नखुलेका कुकुरको बच्चालाई खोलामा बगाइदियो भने धर्म हुन्छ भन्ने अन्धविश्वास छ, सायद त्यही भएर कसैले ती बच्चाहरुलाई खोलामा फाल्न नसकेर त्यहीँ छोडिदिएको होला । त्यस्ता सानासाना बच्चाहरुलाई आमाको न्यानो काखबाट छुटाएर मृत्युको मुखमा पुर्याउँदा के धर्म हुन्छ र ?

मैले ती बच्चाहरुलाई एउटा कार्टुनमा हालेर लिएर हिडेँ । बाटोमा एकजना दाइले ‘के ल्याउनुभएको त्यो कार्टुनमा’ भनेर सोध्नु भयो, मैले सबै कुरा सुनाएँ । उहाँले ‘राम्रो गर्नुभयो, बहिनी तपाईंलाई धेरै धर्म लाग्छ, लगेर पाल्नुस्’ भन्नुभयो । उहाँले ‘त्यति साना छन्, दूध त बोतलमा खुवाउनु पर्छ होला, तपाईंको घरमा त्यस्तो बोतल छ त ?’ भनेर सोध्नु भयो । मैले ‘हाम्रो घरमा साना बच्चा कोहि नभएकोले बोतल त छैन, किनेर ल्याउनु पर्छ’ भनेँ अनि उहाँले ‘मेरो बाबुको बोतल छ, लिएर जानुस्’ भन्नुभयो । मैले ‘तपाईंको बाबुलाई नै चाहिएला नि’ भनेको । ‘होइन मेरो बाबू अब अलि ठूलो भयो, बिना बोतल नि दूध खान्छ लिएर जानुस्’ भन्नुभयो । अनि म त्यो बोतल लिएर खुशी हुदै घर आएँ ।

घर पुगेपछि पहिले ती बच्चाहरुलाई राम्रोसँग कपडाले पुछिदिएर नरम न्यानो कपडाले बेरेर कार्टुनमा राखिदिएँ । तातो पाएर होला, सबै लपक्क निदाए अनि मैले दूध किनेर ल्याएर तताएर मनतातोभन्दा अलि तातो बनाएर तिनीहरुलाई पालैपालो खुवाएँ । तातो दुध खाएपछि तिनीहरु फेरि निदाए । मलाई भित्रैबाट एक किसिमको आनन्दको अनुभुति भैरहेको थियोे । चारवटामा दुईवटा भाले र दुईवटा पोथी थिए । तीन वटा खैरो रंगका र एउटा कालो पोथी । कालीको त नङ्ग्रा पनि २२ वटा थिए । तर धेरै समय आमाबाट छुट्टिएर त्यस्तो चिसो हिलोमा बसेर भोकप्यास अनि चिसोले कठ्याङ्ग्रिएका ती चारवटा बच्चामध्ये दुईवटा काली र एउटा भाले बच्चा मरे । मलाई साह्रै नराम्रो लाग्यो ।
दिन बित्दै गयो । बाँकी रहेका दुईवटा बच्चा हुर्किदै गए । तीमध्ये पनि भाले बच्चा अलि शान्त स्वभावको थियोे भने पोथी अलि बाठी, चञ्चल र छुकछुके थिई ।
एक दिन म मेरो साथीको घर बोराटार गएको थिएँ । उसले कुरैकुरामा ‘उस्को सानो छोरीलाई कुकुर एकदमै मनपर्ने अनि कुकुर ल्याइदिनु भनेकोभन्यै छ’ भनी । मैले आफुसँग लोकल कुकुरको बच्चा दुईवटा भएको र एउटा उसलाई ल्याइदिन्छु भनेँ । पहिले त ऊ अलि अकमक्काई । मैले धेरै सम्झाएर ‘हेर, धेरै पैसा हालेर विदेशी कुकुर पाल्नुभन्दा यस्तो अनाथ कुकुरलाई तिमीले पाल्यौ भने धेरै धर्म लाग्छ, एउटा अनाथ कुकुरको नि भलो हुन्छ’ भनेपछि ऊ मानी । उसले आफ्नो छोरीलाई नि यो कुरा सुनाइ, छोरी पनि खुशी भई ।
भोलिपल्ट मैले भाले बच्चालाई कपडाले बेरबार पारेर बोकेर साथीकोमा पुर्याइदिएँ । साथी र उसको छोरी खुशी भए । माथि छतमा लगेर घाममा मैले नुहाइदिएँ । नुहाएपछि तातो घाममा मज्जाले सुत्यो । नयाँ ठाउँ भएर पहिले त मेरो पछि मात्र लाग्यो । पछि बिस्तारै छोरीसँग खेल्न थाल्यो । अहिले ५ वर्ष पूरा भैसक्यो । उनीहरूको धेरै माया पाएर त्यो कुकुर खुशीसाथ बाँचिरहेछ ।

हरेक तिहारमा कुकुर पुजा गरेको फोटो र भिडियो उनीहरू मलाई पठाउँछन् । मेरो कारणले अकालमा मर्न लागेको एउटा प्राणीको उद्दार भयो । यो सम्झेर मन अति नै प्रफुल्लित हुन्छ । बेलाबेला साथीसँग हाम्रो कुरा हुँदा भिडियो गर भनेर त्यसलाई हेर्छु, बोलाउँछु । म्याक्स हो उसको नाम । उसको घरमा जाँदा नि मलाई देखेर ऊ धेरै खुशी हुन्छ । मसँगै बस्न आउँछ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)