भिमकाय डोजरले भत्काउँदै हिँड्ने थिएँ दुनियाँभरका सिकसिको लाग्ने गल्लीहरु
सम्झना: सिकसिको लाग्ने गल्लीहरु
सुरेश राई
कोरिया आएपछि थाहा पाएँ, हामी बस्ने क्षेत्रमा मेट्रोको सुविधा आइपुगेको रहेनछ । मेट्रो चढ्नको लागि बस चढेर हाम्रो क्षेत्रसँगै जोडिएको छिमेकी सहर सुवन पुग्नु पर्ने रहेछ । सुवन स्टेशनबाट चढेर सियोल मेट्रोको सन्जालमा जोडिएपछि जतैपनि पुग्न सकिँदो रहेछ ।
एक घमाइलो आइतबार म सियोलबाट फर्किरहेको थिए । सुवन स्टेशनमा उत्रेर बस चढी रुम फर्किरहेको बेला बसभित्र एक नेपाली मित्र भेटिए । उनले ‘सोल्टी पनि नेपाली हो?’ भनेर सोधे । मैले ‘हो’ जनाउ टाउको हल्लाएँ । सामान्य कुराकानी पछि उनले अलि इत्रिएर भने ‘लु है सोल्टी, सुवन चै महिनामा कम्तीमा एक पटक धाउनु पर्छ । म त उस्तै परे दुई या तीन चोटि पनि धाइदिन्छु ।’
मलाई उनको कुरा थोरै अनौठो नलागेको होइन तर सार्वजनिक सवारी साधनभित्र लामो कुराकानी गर्न मनाही छ त्यसैले ‘हजुर हो नि’ भनेर टारेँ । कुरा त्यतिमै टुङ्गियो तर ती बन्धुको रहस्यमय मुस्कान जारी नै थियो ।
बेलुका भयो । कम्पनीले उपलब्ध गराएको आफ्नो कोठामा आएपछि मैले बीरेन्द्रलाई (परिवर्तित नाम) दिउँसो बसमा भएको कुराकानी सुनाएँ र सुवन किन धाउनु पर्ने हो भनेर सोधेँ । बीरेन्द्र कोरिया आएको केही वर्ष बितिसकेको थियो, म चार महिना मात्र । बीरेन्द्रले थोरै अफ्ट्यारो मान्दै भन्यो, ‘अन्त , सुवनमा त्यो छ्न्त हौ’ मैले सोधेँ ‘ के त्यो?’ उसको उत्तर थियो ‘त्यै का त्यै । अड्डा’ मैले अझै बुझिनँ र फेरि सोधेँ ‘कस्तो अड्डा?’ ऊ थोरै झर्कियो ‘ह्या !!..सिसाघर हौ ! रेड लाइट एरिया क्या!’ यो सुनेर म खङग्रङै भएँ ।
धत्तेरिका ! अघि कुरै नबुझी ‘हजुर हो नि!’ भनेर प्वाक्क बोलेकोमा ग्लानी भएर आयो । बीरेन्द्रतिर फर्किएर सोधेँ ‘तिमी नि जाने गर्या छौ बीरेन ?’ उसले थोरै अन्कनाएर जवाफ दियो- ‘यहाँ सबै जान्छन् । नजाने को होला र?’ मलाई अफ्ट्यारो लाग्यो । कुरा अघि बढाउन उचित ठानिनँ । खाली नेपालमा भएकी बीरेनकी नव दुलही ज्योत्स्नाको (परिवर्तित नाम) अनुहार झलझली आँखामा आइरह्यो ।
त्यसरी सात वर्षअघि बसमा भेटिएका ती सोल्टी अझै पनि बेलाबेला मेरो सम्झनामा आउँछन् । सुनेको छु सुवनको गल्लीबाट आजकल ती अड्डाहरु हटेर फ्यन्तेक नामको सहरतिर सरेका छन् रे । आज भोलि उनी उतैतिर धाउँदै होलान् र कहिलेकाहीँ यसो सोच्छु समयको धारा फर्केर सोल्टी ज्युसँगको त्यो भेट फेरि दोहोर्याउन पाए म जरुर जवाफ बदल्ने थिएँ- ‘होइन हौ सोल्टी, अरुहरुलाई सुकिलो लाग्ला, मलाई त ती गल्लीहरु सिकसिको पो लाग्छ हौ! त्यसैले महिनामा एक पटक त के, पुरै जिन्दगीभरी एकै पटक पनि मलाई त्यता जान नपरोस् । उता घरमा मप्रति समर्पित, मलाई बेस्सरी माया गर्ने, सुनाखरी झैँ सुन्दर मेरी राधा मलाई पर्खी बसेकी छ ।’
हिजो हेरेँ, मसँग एउटा बूढो ल्यापटप थियो । त्यसमा राधालाई सम्बोधन गरी के के गन्थनहरु बेला बेला कोर्ने गरेको रहेछु । आज पढ्दैछु-
प्रिय राधा !
तिमीलाई थाहै छ । यौन धन्दाको लागि विश्वका ठूला सहरका थुप्रै थुप्रै गल्लीहरु चर्चित छन् । आर्मस्टर्डम, बैंकक, टोकियो जस्ता थुप्रै सहरहरु यही कारणले पनि मशहूर छन् । छिमेकी राष्ट्र भारतका मुम्बई, कोलकाता जस्ता अनेकन सहरहरुमा कोठी भनिने यौन धन्दाका अड्डाहरु बेलाबेला खबरहरुमा छाइरहन्छन् । यस्ता कोठीहरुबाट आउने महिला बेचबिखन र शोषणका दर्दनाक किस्साहरुमा कति चलचित्रहरु बने भनि साध्य छैन । आधुनिक मानव विकासको यो एतिहासिक खण्ड जहाँ स्त्रीहरु शरीर बेचेर पैसा आर्जन गर्छन्, यो कस्तो विकास हो राधा ? यो कस्तो उन्नति हो मानव जातिको? यो कस्तो आधुनिकता हो?
तिमीले पनि सुनेकै हुनुपर्छ । हाम्रो देश नेपालमै पनि यदाकदा सरकारले अब ब्यबस्थित ढंगले रेड लाइट कोठाहरु चलाउन दिनुपर्छ भन्ने स्वरहरु उठ्न थालेको देखिन्छ । उनीहरु भन्छन्, त्यसो गर्नाले बलात्कार जस्तो अपराध कम हुन्छ । यो सुनेर मलाई हाँसो लाग्छ ,केवल हाँसो । जस्तो कि दुई चारवटा यौनगृहहरु थियो भने कुनै वलात्कार काण्ड घटित हुने नै थिएन । मान्छेहरुलाई शिक्षित गर्नु, कानून र अर्डर मेन्टेन गर्नु, दण्डहीनताको अन्त्य गर्नु,सार्वजनिक सुरक्षाको प्रत्याभूति गर्नु आदि इत्यादि लन्ठा गर्नु भन्दा कोठीहरु खोल्नु निसन्देह सजिलो काम हो राधा र यहाँ सबैलाई सजिलो काम मात्रै गर्नु छ ।
कोही भन्छन्, देह ब्यापार सबैभन्दा पुरानो पेशा हो त्यसैले यसलाई रोकिरहनु जरुरी छैन । त्यसो हो भने के यो कुनै गर्व गर्न लायक कर्म हो जसलाई जोगाइरहन पनि जरुरी छ? पुरानो पेशा त खेती किसानी पनि हो । तर किन मानिसहरु खेतिपातिबाट टाढा हुँदै गइरहेका छन् ? तिमीलाई अचम्म लाग्दैन राधा ? कोही भन्छन् आफै राजी खुसी देह ब्यापार गर्न चाहनेलाई किन रोक्नु पर्यो र ? माने कि यो उसको ब्यक्तिगत अधिकारको कुरो हो । तर कुन अर्थराजनैतिक ब्यवस्थाले गर्दा आज एउटी नारी सडक किनारामा आफ्नो देह बेच्नको लागि राजी भएकी छे? यो प्रश्नको जवाफ कसैले खोज्नै चाहँदैन ।
तिमीलाई थाहा छ राधा ? संसारमा महिलाभन्दा पुरुषले हरेक पेशामा धेरै तलब र सुबिधा बुझ्ने गरेको पाइन्छ । तर जब मोडलिङ र पोर्न इन्डष्ट्रीको कुरा आउँछ, उल्टो छ । यसमा महिलाहरु कमाईमा पुरुषभन्दा अगाडि छन् । के यो खुसीको कुरा हो? के यही हो नारीको सशक्तीकरण ? आजको यो वैश्य युगमा कस्तो खालको अर्थ प्रणालीले गर्दा यस्तो हुन गइरहेको छ ? यसको चिन्तन हुन जरुरी छ ।
प्रिय राधा !
अर्काथरी मान्छेहरु भन्छन् कि त्यस्ता कोठीहरु खोलिएमा पीर बिसाउने ठाउँ हुनेछ, युवाहरूको यौन चाहनाको परिपुर्ति हुनेछ र मनोकुण्ठा रहित युवाशक्तिले समाजमा सकारात्मक असर पार्ने छ । त्यसो हो भने त आज पुरुष युवाहरुको ठूलो जनसंख्या बाहिर बिदेशमा छ । स्वदेशमै रहेका यौवना श्रीमतीहरुको यौनको बारेमा भने कुनै कुरा उठेको पाइन्न, किन? अब के उनीहरूको निम्ति पनि सहरमा बेग्रेल्ती पुरुष कोठीहरु खोल्नु पर्ने हो र ? बिल्कुल होइन । देशलाई आम्दानी हुने नाउँमा होस् या जुनसुकै तर्कको आधारमा होस् यौनको किनबेच मानवीय सभ्यताको यो उचाईमा आएर केबल एक लज्जा होइन र? विकासका निम्ति उद्योग, जलस्रोत, पर्यटन,आईटी जस्ता पचासौं क्षेत्रहरु हुँदाहुँदै यौन बजारबाट आम्दानी गर्ने सोचले विवेकशील भनिने मानव जातिको शिर ढलेको छैन र? जरुर छ र अब यसको शिर उठाउनी गर्न जरुरी छ ।
र अन्त्यमा, म कहिलेकाहीँ कल्पना गर्छु राधा कि यदि यो विश्व एक सिङ्गो महानगर हुन्थ्यो भने र म त्यस महानगरको मेयर हुन्थेँ भने, म भिमकाय डोजर लिएर निस्कने थिएँ र भत्काउँदै हिँड्ने थिएँ दुनियाँ भरका त्यस्ता सिकसिको लाग्ने गल्लीहरु र बढारेर फाल्ने थिएँ मानव इतिहासको दिगमिग लाग्दो यो एक खण्ड । तब विगतमा देह ब्यापार सबैभन्दा पुरानो पेशा जरुर थियो होला तर इतिहासमा भने लोप भएको डायनोसरको कथा बन्ने थियो।
उही तिम्रो सुकिलो प्रेमको पुजारी,
रछान र ओछ्यानको अन्तर बुझ्ने प्रेमी,
वसन्त ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)