
सन्तानले पाएको पुरस्कारले दिलाएको खुशी
शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ
पुरस्कार भन्ने चिज सानो किन नहोस्, त्यसले ठूलो महत्त्व राख्दछ । व्यक्तिलाई आफ्नो लक्ष्यमा अघि बढ्न हौसला प्रदान गर्दछ । अझ साना बालबालिकालाई झनै उत्साहित बनाउँछ । राम्रो कामको लागि उत्साह जगाउन, प्रेरित गर्न पुरस्कार दिने चलन चलाइएको होला भन्ने लाग्छ । आज मैले यो लेखमार्फत सन्तानको मिहिनेतले प्राप्त पुरस्कारले दिलाएको खुशी बाँड्ने जमर्को गरेकी छु।
कुरा २०६७ सालतिरको हो, त्यसबेला हाम्रो बसाइ सुनसरीको सदरमुकाम इनरुवास्थित बलाहा भन्ने ठाउँमा थियो । त्यसबेला इनरुवा नगरपालिका वडा नं. १० मा पर्थ्यो । अहिले सोही न.पा.को ५ नं. वडामा पर्छ, सो ठाउँ ।
इनरुवाकै जनक स्मृति स्कुलमा कक्षा पाँच र दुईमा पढ्थे मेरा नानीहरू । सानैदेखि रेडियो, एफ. एम. बाट प्रसारण हुने कार्यक्रमहरु सुन्न, बाल पत्रिका पढ्न (विशेष ‘मुना’ मासिक बाल पत्रिका मैले नियमित किनिदिने गरेकी थिएँ) रूचि राख्दथे, दुवै नानीहरू । विशेष अन्ताक्षरी, नाटक, हाजिरी जवाफ कार्यक्रम मन पराउँथे । विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप (खेलकुद बाहेक ) मा प्राय प्रथम, द्वितिय पुरस्कारको दावेदार थिइन् विशेष ठूली नानी । त्यस्तै क्रममा सुनसरीको इनरुवास्थित पपुलर एफएमको साप्ताहिक हाजिरी जवाफ कार्यक्रममा ठूली नानी सहभागी भइन्, फोन सम्पर्कमार्फत । तीस मिनेटको समयमा कार्यक्रम अबधिभर प्रत्यक श्रोतालाई पाँच/पाँचओटा प्रश्न सोधिएको थियो । सबै प्रश्न सम्झनामा नरहे पनि एउटा प्रश्न चैँ याद छ, अझै पनि: इन्डोनेसियाको राष्ट्रिय खेल कुन हो भनेर सोधिएको थियो । सुरुमा हल्का डराएकी नानीले यक्षप्रश्न जसरी एकपछि अर्को आफैँले फटाफट सही उत्तर मिलाइन् । पाँच / छ जनाले सहभागिता जनाएकोमा पाँचैओटा प्रश्नको सही जवाफ मेरी नानीसहित अर्को एकजनाले मात्रै मिलाएका थिए । गोलाप्रथाबाट मेरी नानी विजयी भएकी थिइन् । कार्यक्रमको अन्तिमतिर साङ्गीतिक आवाजमा ‘कङ्ग्र्याचुलेसन्स ! सम्झौता’ भनेको सुन्न पाउँदा खुशीले मन फुरुङ्ग भएको थियो । सन्तानको सफलतामा कुन आमा खुशी नहोलिन् र ?
पुरस्कारको लागि इनरुवास्थित पपुलर एफएमको कार्यालय गयौँ, आमाछोरी । स्टेशन म्यानेजरले प्रश्नको सही जवाफ आफैँले मिलाएको कुरामा संशयसाथ “आफैँले हो या कसैले सिकाइदिनुभयो ?” भनेर प्रश्न तेर्स्याए । जवाफमा नानीले आत्मविश्वासका साथ सबै प्रश्नको उत्तर आफैँले मिलाएको कुरा बताइन् । एकैछिनपछि त्यहाँ कार्यरत महिला कर्मचारीले “बधाई!” भन्दै पुरस्कार लेखिएको एउटा चिर्कटोमा सायद आधिकारिक बनाउनहोला कार्यालयको छाप लाएर नानीको हातमा थमाइन् ।
पुरस्कारमा के के छन् भन्ने कुरा त विज्ञापनबाटै लगभग थाहा पाएका थियौँ । एउटा पुरस्कारका लागि ‘आचार्य चस्मा घर’ गयौँ, सायद जिल्ला अस्पतालको छेउछाउ थियो कि भन्ने लाग्छ । आचार्य चस्मा घरबाट कालो चस्मा पुरस्कार लिएर हामी अर्को पुरस्कारको लागि शान्ति टाकिज (सत्य नारायण मन्दिर छेउ) गयौँ जहाँ बिहानी /दिवा सेवामा दुई जनाको लागि “फ्रि टिकट”को व्यवस्था थियो । हलमा भोजपुरी फिल्म लागेको रहेछ । हेर्न मन त नेपाली फिल्म थियो तर भाग्यले आफूलाई त्यस्तै जुराएको, त्यो पनि नानीले पुरस्कारको रुपमा पाएको; छोड्ने कुरै भएन ।
फिल्मको नाम बिर्सिएँ, नाम अलि लामै थियो । हिरोको भूमिकामा थिए, त्यसबेलाको सिनेक्षेत्रमा ‘चलेका’ नायक विराज भट्ट । विराजद्वारा अभिनित पहिलो फिल्म थियो, मेरालागि । झन्डै तीन घन्टाको समय, ठूली नानीले त मनोरन्जन लिइन् । सानीले कथा, भाषा नबुझेर पनि हुनसक्छ, एकछिन गन्गन गरेर निन्द्रा पुर्याइन् । मलाई भने घरैको पिरलो । एउटा गाई थियो घरमा । चराउन खेतमा ठोक्ने चलन थियो । बेला बेलामा ठाउँ सार्नुपर्ने, सासूआमा बुढ्यौलीका कारण जर्याकजुरुक गर्न नसक्ने अवस्थाले गर्दा मैले बेलैमा घर पुग्नुपर्ने, साँझ पर्न लागेकाले पनि मलाई अलि हतार थियो । जिम्मेवारी बढि हुने नै भयो, तुलनात्मक रूपमा तर पनि फिल्म हेरियो । एउटा पुरस्कार चस्मा ल्याइयो । अर्को पुरस्कारको फिल्म हेरियो ।
जम्मा तीनवटा पुरस्कारमध्ये दुईटा पुरस्कार सदुपयोग भयो । एउटा पुरस्कार (इनरुवास्थित ‘ए वन कम्प्युटर इन्स्टिच्युट’मा दुई घन्टाको कम्पुटर फ्रि सिकाई) समय अभावका कारण खेर गयो । त्यसै दिन भ्याइएन, भोलिपल्ट नानीहरू स्कुल जानुपर्ने । आफूले पनि घरायसी कामको कारण समय निकाल्न सकिनँ । अर्को शनिबारसम्म पर्खिँदा पुरस्कार ‘बासी’ हुने । तसर्थ ए वान कम्प्यूटर इन्स्टिच्युटको पुरस्कार चैँ खेरै गयो ।
आफूले पैसा खर्च गरेर सन्तानलाई फिल्म हेराउनुपर्ने, सन्तानले पुरस्कारस्वरुप फिल्म हेराउँदा कुन आमा खुशी नहोलिन् र ?
हिजोआज ति दिन सम्झिँदा खुशी लाग्छ । सानै उमेरदेखि पाको व्यवहार गर्ने उनको बानी देखेर गर्व लाग्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)