
‘एई बुढा, साथी नेपालनाम्चालाई किन नलेखेको ? लेख्ने होइन ?’
मेरो मन
प्रकाशप्रसाद उपाध्याय
धेरै भो नेपालनाम्चाको निम्ति केही नलेखेको । सेवाबाट अवकाश पाएर बसेको भए पनि, लेखपढ गर्ने क्रममा सम्झेको भए पनि केही लेखी पठाउन सकिएन । आलस्यले गर्दा भनुँभनें लेखपढ भइराखेकै छ, २ वटा पुस्तकको पाण्डुलिपि तयार पारें । एउटा धार्मिक ग्रन्थको अनुवाद पनि सकें । हाल सबै प्रकाशकहरूका तजबीजमा छन् । यी सबैका बीच सभा–बैठकहरूमा सामेल पनि भइ रहें । तर किन हो नेपालनाम्चाका लागि लेख्न भ्याइनँ । सायद बुढो दिमागले कुनै विषय सुझाउन सकेन कि ? तर आज मनले एक्कासि भन्यो– ‘एई बुढा, आफ्नो पुरानो साथी नेपालनाम्चालाई किन नलेखेको ? लेख्ने होइन ?’
मनले भन्न त भन्यो । यसले पनि के–के भन्छ, के –के । कहिले बहकाउने कुरा गर्छ त कहिले बहलाउने । थाहा हुँदैन । उसले भनेअनुसार सबै काम गर्न थाल्यो भने घरबाट निस्कनुपर्ने स्थिति आउन पनि अबेर नलाग्ला । तर आज त मनले एउटा राम्रै कुरा, रचनात्मक कुरा नै गरेको जस्तो लाग्यो । उसको कुरा सुनेर अपराधबोध पनि हुन थाल्यो । हुन पनि मैले नलेखेको धेरै भइसकेको रहेछ । कोभिड–१९ (कोरोनाकाल) ताका नियमित लेख्ने मानिसले कसरी च्वाट्टै नेपालनाम्चाका लागि लेख्न भ्याएन, थाहा भएन । तर कपाल कनाउँदै चिन्तन गर्दा पहिलो कारण त स्वयम् कोभिडबाट सङ्क्रमित भई थला पर्नु देखियो । दोस्रो चाहिँ मोटरसाइकिल दुर्घटनाका कारण हातमा ६ साता प्लास्टर लाग्नु भेटियो । अब हात चलायमान भएको देखेर होला मनले घचघचायो । यसपालि त रचनात्मक कुरा नै गरेको लाग्यो ।
मनको कुरा शिरोपर गर्दै कलम लिएर बसें । तर के लेखूँ, कुन विषयमा लेखूँ ? सोच्न सकिनँ । मनले त राम्रै कुरा गरेको हो, तर विषय पाउन सकिनँ । सोच्दैछु । कपाल कनाउँदै छु । कुनै विषय फेला नपर्दा मेरो पालो आयो मनलाई घचघचाउने । भन्न थालें– ‘एइ साथी, सधैं मलाई मात्र कचकच गरिराख्छस् । केही न केही भनि राख्छस् । आज कुनै राम्रो विषय पनि त बता लेख्नको निम्ति ।’ हेरुँ के भन्दो रहेछ । प्रतिक्षामा छु ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)