
एक मध्यरात किन म के म एक्लो हुँ भन्ने प्रश्न बोकेर आर्यघाट पुगेँ ?
सुशील लामा
पाँचखाल, काभ्रेपलान्चोक
हालः लिमासोल, साइप्रस
म जहाँ गए पनि एक्लो महसुस गर्छु । कतै कसैले फलाकेको आदर्शको गन्धमिश्रित वाणी सम्झेर आफुले आफैलाई ठम्याउने कोशिस गर्छु ।
के म एक्लो हुँ ?
धेरै मानिसले घेरिएको भिडमा गएर हेर्छु । आफ्नै घरको परिवारमा बसेर म एक्लो होइन भन्ने कुरा सावित गर्ने प्रयास गर्छु । एकान्तमा एक्लै बसेर के हो ? एक्लो भन्ने बारे बुझ्ने प्रयास गर्छु । तर बदलामा केही पाउँदिन । एक्लो भनेको के हो ? एक्लो कसरी हुन्छ ? एक्लो भन्ने बित्तिकै एकलौटी, एकलकाँट्टे भनेर बुझ्दारहेछन् मान्छेहरु । म त्यही बुझ्छु जो मान्छेहरूले बुझ्ने गर्दछ्न् । मभित्र मौलाएको जिज्ञासालाई थेक्न सक्दिनँ म । मलाई म हेर्न मन लाग्छ । मलाई म चिन्न मन लाग्छ ।
म एक्लो हुँ या होइन भनेर आमालाई सोध्न मन लाग्छ ।
आमा हुँदैनन् सोच्ने बित्तिकै साथमा । आफ्नो लागि आफैले गरेको उटपट्याङ्ग प्रश्नको उत्तर खोज्न म आफैले आफैलाई ठूलो ऐना अगाडि पुर्याएर के म एक्लो हुँ भनेर बुझ्ने प्रयास गर्छु । मन, मुटुको स्पन्दन र मस्तिष्कलाई भावनाको विशाल लविमा राखेर मिटिङ्गमा राखी हेर्छु ।
क्रमशः म एक्लो मान्छेलाई नियन्त्रणमा राखेर संचालन गर्ने शरीरमा अवस्थित अंगअंगको बारेमा चिन्तन मनन गर्दै म जत्रै अग्लो ऐनाको अगाडि पुगेर आफुले आफैलाई हेर्ने कोशिस गरी ।
जब म ऐनाको सामीप्यसम्म पुगी एक पटक आफैभित्र हराएर नियालेँ अनि मनन गरेँ, मलाई ऐनासम्म जाऊ भन्ने आदेश दिने चेतनाको । त्यहाँसम्म पुग्न सहयोग गरेको दुई खुट्टाको । बाटो हेर्न साथ दिने दुई नयनको । ऐनालाई भित्तामा झुन्ड्याउन साथ दिएको दुई हातको । मभित्र रहेको अनेक अंगहरुको । दुईसय छ वटा हड्डीको टुक्रा मिलेर बनेको मेरो सग्लो शरीरको । यति धेरै कुराहरू मिलेर बनेको म कसरी एक्लो भएँ ? मभित्र ढाईसय भोल्टको करेन्ट खसेको आभास छायो । म कसरी भएँ एक्लो ?
अँ हँ । म एक्लो होइन । म एक्लो छैन । मलाई म बनाउन यत्ति धेरै कुराहरु छ र त म छु । म छु र त अरु छन् ।
हुन सक्छ म गलत हुँ । मेरो भावनाको ठम्याई गलत छ । बाहिरी दुनियाँले देख्दा म एक्लो नै हुँ । तर एक्लो मलाई नियन्त्रण सयौंको भिडले नभएर मभित्र रहेको अनेक अंगहरुले नियन्त्रणमा राखेको छ । सग्लो म बन्न यति धेरै विशिस्ट अंगहरु छन् त, म कसरी एक्लै भएँ ?
मन र मस्तिष्कको अन्तर्द्वन्दले मेरो चैतन्य कमजोर भएको छ । मेरो तन्नेरी हटले दैनिकी बिग्रदो अवस्थामा परिणत हुँदैछ भन्ने कुराको जानकारी ऐना अगाडि उभिएको मेरो अनुहारले जनाउँदैछ ।
कतै म आफैले आफैलाई उल्लु बनाएउदैं त छैंन ? आफैले गरेको स्वघोषित निर्णय सहि हो कि गलत ? निर्णयविरुद्ध मनले जाउ भन्छ तर मस्तिष्कले मान्दैन । मनले भन्छ, तिमी एक्लो हो । मस्तिष्कले भन्छ तिमी एक्लो होइन । कस्को पक्षपोषण गरौं ? दुविधामा फसेको छु । त्यसैत्यसै भावनामा फुरेको सहज सजिलो प्रश्नले मलाई अफ्ठ्यारोमा पारेको छ । मलाई थाहा छ, यो कुनै ठूलो प्रश्न होइन, जो लोकसेवा दिने छात्रछात्राको लागि काम आओस् ।
कस्तो उल्झन ? बिना कारण उल्झी रहेको छु बिना कामको कुरामा । खै किन उल्झी ठम्याउनु सकेन ? यस्तैयस्तै फाल्तु प्रश्नहरुको बेकामे उत्तर खोज्दाखोज्दै सकिन्छ होला जिन्दगी । आखिर जिन्दगी भनेको यस्तै हो कि क्या हो ?
एक साँझ बारचाहिँ शनिबार हो क्यारे अलिअलि आउदैंछ सम्झना । विशाल नगर, हाँडीगाउँमा रहेको अस्थायी बसोबास गर्ने डेराबाट चाबहिलसम्म जाने योजना बन्यो । योजना अनुरुप चाबहिलसम्म गएँ । गणेश मन्दिरमा साँझको आरती चल्दै थियो । मिठो धुँपबत्तिको सुगन्ध, आरतीमा गुन्जेको मीठो भजन । मन त्यसै पुलकित भयो । एक्लो हुँ भनेर हिँडेको म सयौंको भिडमा मिस्सिएँ । म एक्लो होइन जस्तो लाग्यो । मनको हार मस्तिष्कको जित भएको कुरा मस्तिष्कले ठूलो आवाजमा चिच्यायो ।
मैले त पहिले नै भनेको तिमी एक्लो हुँदै होइन भनेर ।
तर तिमीले मनको कुरा सुनेर मेरो कुरा मानेनौ । म चुपचाप अनुभुती संगालेर मात्रै बसेँ । यो र ऊ को पक्षमा लागिनँ ।
मन्दिरको मांगलिक वातावरणले चाबहिलसम्मको यात्रालाई बढाएर पशुपतिनाथसम्म पुग्ने निर्णय गरेँ ।
केही बेरको हिँडाईपछि पुगेँ पशुपति । मलाई धेरै मन पर्ने ठाउँ पशुपति अनि सँगै अवस्थित आर्यघाट । आर्यघाट जुन ठाउँले कहिल्यै कसैलाई विभेद गरेको देखिनँ । जो जस्तो सुकै हैसियतको भए पनि समान समावेशी व्यवहार गरेको पाएको छु ।
म आफ्नै निजी फगत मनगणन्ते प्रश्नको उत्तर खोज्दै पुगेको थिएँ त्यो साँझ त्यो ठाउँमा । जुन प्रश्नको उत्तर अपरिहार्य थिएन । र, पनि खोइ किन हो कुन्नी म डुबेँ त्यो सानो कुरामा ।
मनमनै दर्शन गरेँ भोलेनाथको । श्रद्धालु भिडमा हराउँदै टहलिएँ केही बेर । बागमतीले आफ्नो धर्म भुलेको थिएन । बग्दै थियो । शहरको दुर्गन्धित रहरहरु बगाउँदै । खोला छेउमा रहेको चिताहरु प्रायः खाली थियो । एउटामा चाहिँ एउटा जिन्दगी जल्दै थियो । मनमनै श्रद्धाञ्जली अर्पण गरेँ । एक अपरिचितले । यदि उनी जिउँदै भएको भए न मेरो दृष्टि उनी माथी पर्थो न उनको । र पनि एउटा जिउँदो जिन्दगीले मरेको जीवनलाई नदेखेको स्वर्गमा पुग्ने शान्तिको कामना गर्नु राम्रै होला भनी ठानेँ ।
पाइलाहरु अगाडि लम्किरह्यो । खासमा मेरो पुग्नु नै पर्ने गन्तव्य थिएन । पशुपतिनाथ मन्दिर पारी रहेको एउटा बेन्चमा गएर बसेँ । मन्दिर, मुर्ती, थुप्रै यताउति गर्दै गरेको मान्छेको चहलपहलको दृश्यपान गर्दै । सन्ध्याकालिन आरतीको मीठो धुन, घन्टी, शंख र डमरुको मीठो आवाजले मनले एक प्रकारको शान्ति लिँदै थियो । वरिपरि कोहि थिएन । एक्लो म अनि सिंगो बेन्च थियो । सँगै धेरै बुडो भएको रुखहरु ।
मनमा एक प्रकारको उर्जा भरेको थियो । सायद आस्तिक म आस्थाको देव महादेवको प्रांगणमा पुगेर होला । मनभित्रको कौतुहल साम्य भएको थिएन अझै । के म एक्लो हुँ ? या होइन भन्ने कुराको ।
हुनत म यहि कुराको खोजीमा गएको भन्ने पक्कै होइन । चाबहिल हुँदै त्यहाँसम्म पुग्नु मेरो संयोग मात्रै थियो, साँझ छिप्पिदै रातमा परिणत हुँदै गर्दा ।एक्कासी मेरो कानमा एम्बुलेन्सको आवाज ठोक्किन आईपुग्यो । आवाज झन नजिक हुँदै गरेको आभास हुँदै थियो ।
मनमनै, यति रात्ति अस्पतालको बाटो जानुपर्ने यम्बुलेन्स किन आर्यघाटमा ? मेरो जिज्ञासा केही मिनेटमै हल भयो । शवबहानको साटो एम्बुलेन्सले नै एउटा शव पुर्याउन आएको रहेछ । शव निकाल्यो । उनको आफ्ना मान्छेहरु होला सायद । सबैजना मिलेर शवलाई ब्रम्हनालमा पुर्याएर पालैपालो पानी चढाए । केहि पर, नजिकै उनको लागि चिता तयार पारिदै थियो । आफन्तहरुको अनुहारमा पीडा झल्केको थियो । कोहि रुँदै थिए । यावत दृश्यलाई नजिकै गएर हेरिरहेको थिएँ म । फर्कनु पर्ने बेला भैसकेको थियो । र, पनि म छेउमा बसेर अवलोकन गरिरहेँ । एउटा जिन्दगी अन्त हुँदै गरेको अवस्था । यसरी पहिले कहिल्यै नियालेर हेरेको थिइनँ । अन्तिम संस्कार गरेको बेला । हुनुत म ती पार्थिव शरीर बनेको मान्छेको आफ्नो मान्छे होइन । तर भावना भएको मान्छे पक्कै थिएँ । त्यसैले हेरिरहेँ ?
संभवत रात धेरै भएकोले होला, एक जना पण्डितले छिटोछरितो साथ विधि पूरा गरे । ती बडेमानको पार्थिक शरीरलाई पाँच–सात जना मिलेर चितामा राखे । उनको छोरा होला । उनले मुखमा तेलमा भिजेको कपासको बत्ति ख्वाए । चारै सुरमा आगो लगाए । विस्तारै शवले आगो लिन थाल्यो । म अझै नजिक गएर हेरिरहेँ । जल्दै गरेको शवभित्र प्राण थिएन । त्यसले बल्दै गरेको मुडासँग मुडा जस्तै भएर जलिरह्यो । क्रमशः शरीरको एक एक ईन्द्रीयहरु आगो जस्तै गरेर बल्यो, नबल्दा सँगै हातमा घोचा लिएर बसेको घाटेले घ्युउ थपी थपी जलाए ।
एकोहोरो भएर टोलाएर हेर्दाहेर्दै मनमा अनायास फुरेको प्रश्नमा पुनः नजिकिन पुगेँ, के म एक्लो हुँ ?
हो जस्तै लाग्यो, चितामा जलिरहेको त्यो जिन्दगी देख्दा ।
ऊसँग धेरै मान्छेहरु थिए । उसलाई बाँचुन्जेल मिल्यो होला साथ सबैको । आज उसको मृत्यु भयो । मृत्यु भएर जादै गर्दा उसँग सँगै जाने कोहि थिएन । ृm सिवाय ।
आउँदा एक्लै आको थियो, जादाँ एक्लै जाँदैछ । शुन्यतामा बिलिन हुँदै ।
रात निक्कै बितिसकेको थियो । जल्दै गरेको शव खरानीमा परिणत भयो । हेर्दाहेर्दै चिता जस्तो पहिला थियो उस्तै भयो । उसको अन्तिम यात्रामा उपस्थित मलामी फर्के । म पनि उनीहरुकै पछिपछि लागेर बासस्थानतर्फ मोडिएँ । प्रश्नको उत्तर मज्जाले पाएको जस्तो लागेको थियो मलाई । आखिर मेरो मनले मानेको म अनेक एक रहेछ जस्तो लागेर फर्केँ ।
मस्तिष्क मख्ख भएको थियो ।
आखिर मान्छे एक्लो नै हुँदा रहेछ । आउँदा र जादै गर्दा । बाँकी बीचको समयमा भेट्ने, छुट्ने, सँगै हुने, एक्लै हुने, यी सब बहाना रहेछन् जीवनमा मृत्यु कुर्ने ।
निक्कै राती म एक्लै रातलाई साथी बनाएर अस्थायी जीवनको एक रात अस्थायी डेराको बेडमा पुर्याएर बिसाएँ, मीठा सपनाहरुको कल्पना गरेर ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)