
लौरो ! आइ लभ यु
बुढेशकालको सहारा लौरो
दुर्गा शर्मा
जीवनको उत्तरार्धमा लौरो निकै उत्तम सहारा हो । शिथिल शरीर, कमजोर नजर, थर्थराउने हातगोडा, सुस्त र कमजोर आत्मवल, मन्दगतिको बोली, कमजोर श्रवण शक्ति, कमजोर पाचन क्रिया, उपेक्षित जीवन, बोझिलो मानसिकतालगायत यावत कुराहरुले गाँजिएको बुढेशकालको सहारा लौरो ।
शरीरको आडभरोसा, खुट्टा र हातको दरिलो टेको, मन मस्तिकको भरोसा लौरो । प्रत्येक पाईलापाइलाको अडेस, प्रत्येक खुड्किलाको सहारा । पाईखाना होस् वा भान्सा, घर होस् वा वजार, इष्ट मित्रकोमा होस् वा छिमेकीकोमा, दैनिक उपभोग्य वस्तु किन्न होस् वा बेच्न, बस चढ्न होस् वा जहाज चढ्न, बैंकमा होस् वा सहकारीमा, खेतमा होस् वा बारीमा, छोराछोरीकोमा होस् वा भान्जा भान्जिकोमा होस्, हरपल हर समय लौरो नै सहारा भएको छ । यो व्यस्त र मस्त दुनियाँमा । नपत्ताए घरघरमा गै हेर्नुहोस् केकस्ता परिदृश्य देख्नु हुनेछ ।

लौरोले न अंश खोज्छ न त झिझिन्छ, न त कटु वचन लगाउँछ न त आँखा तर्छ, न त उस्ले बोझ सम्झिन्छ नत रिसाउछ, नत कहिलै ठुसिन्छ, नत वकवकाउँछ । लौरो सदा स्थिर, धैर्य, एकैनास रहन्छ र हरपल हरसमय साथ दिइरहन्छ । त्यसैले त गौतम बुद्धले भनेका छन्, आफ्नो भरोसा आफै हो । प्राकृतिक प्रेमी वन, गहन अध्यन गर, आफै गुन, आफै मनन् गर, सत् कर्म गर, लोभलालच नगर, रिसराग त्याग, लहैलहैमा नलाग, विवेक प्रयोग गर र सहि र उचित निर्णय आफै लिने कोशिस गर ।
हो, हामी आफै दुखी भएका छौं । दुखको सृजना हामी आफैं गरिरहेका छौं । तर पनि लौरो कहिलै दुखी हुँदैन, जति दुखकष्ट दिएता पनि । लौरोले मुख लगाउँदैन, जवाफ फर्काउँदैन । सदा ट्याक्ट्याक आवाज दिंदै अघिअघि मार्गदर्शकको रुपमा बाटो देखाइरहेको हुन्छ । लौरो अरुहरुको टेको हुँदाहुँदै पनि कहिलै मन दुखाउँदैन । लौरो अरुहरुको लागि हजार पटक ठोकिन्छ, कुच्चिन्छ, थेचिन्छ, फुट्छ, भाचिन्छ । यी र यस्ता यावत दुख सहन्छ । न त रिसाउँछ, न त गाली गर्छ, न त ठुसिन्छ, नत कुरा काट्छ, न त दोष लागाई अरुहरुको कुभलो चिताउँछ, न त ओठेजवाफ फर्काउँछ । लौरो विवेकी, सहनशील र सहयोगी रहेको छ । न उसलाई लोभ छ न त डाहा नै । फगत सहयोगी रुप, सहयोगी सार ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)