नयाँ साल धेरै आए पनि सायद जिन्दगीमा कहिले २०२२ लाई भुल्न सक्दिनँँ
लुईस भोटिया ‘सरु’
रुम्तेक, शिकारीटार, पुर्व सिक्किम
बितेको साल धेरै चुनौतीपूर्ण थियो । ब्यापार, व्यवसाय एकदमै मन्द थियो । कोरोनाकालले गर्दा सन् २०२० र २०२१ मा संसारलाई नै गाह्रो भैरहेथ्यो तरै पनि समस्याहरुसँग लड्ने क्षमता भएको कारणले गाह्रै भए पनि जिउन सक्षम बनेका थियौं ।
सन् २०२२ शुरु भएदेखिकै हाम्रो बाजे श्री राब्जङ्ग लामा अलिअलि बिसन्चो हुन थाल्नु भएको थियो । रुगा–मार्गी साथै बुढेशकालले पनि भेटाएको । साह्रै सिकिस्त त होइन, खान–पिउन सक्नुहुने, बातचित पनि गर्न सक्नुहुने । यसरी नै दिन, हप्ता र महिना गर्दै ६ महिना पुग्यो । त्यही समयभित्र अस्पताल लाँदै– ल्याउँदै गर्ने क्रम भै नै रह्यो ।
ैजुन महिनाको ११ तारिख थाहै नपाई हाम्रो बाजे राब्जङ्ग लामाज्युले हामी सबैलाई छाडेर जानुभयो । यो जस्तो क्षति भएको महशुस जीवनमा कहिले गरेकी थिइनँ । उहाँसँगको मेरो सम्बन्ध आत्मीय थियो । उहाँप्रतिको मेरो झुकाव, श्रद्धा, भक्ति कहिले देखावटी थिएन । केही सरसल्लाह लिनु छ भने म उहाँकै सामु उभिने गर्थें । कुनै पनि कुरोमा मलाई कहिले पनि मेरो बाजे ससुराले नाइँ भन्नू भएन ।
जिन्दगीमा बिर्सन नसक्ने घटना थियो । जति खेर पनि उहाँको सम्झाना गर्छु, आँखा रसाएर आउँछ । उहाँको अनुपस्थितिको तितोपन सायदै मैले मात्र आभास पाँउदैछु कि ?
उहाँ एक महान पुरुष हुनुहुन्थ्यो । आफ्नो भाषा र संस्कृतिलाई असाध्य माया गर्नु हुने एक योद्धा हुनुहुन्थ्यो, साथै अनुशासित पनि । जीवन धान्नलाई आफैमा आत्मविश्वास थियो । गहिराईमा सोच्न सक्नेहरुको निम्ति उहाँ एक असल उदाहरण हुनुहुन्थ्यो ।
नयाँ साल धेरै आए पनि सायद जिन्दगीमा कहिले २०२२ लाई भुल्न सक्दिनँ हुँली ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)