
‘हनहनी टाउको दुख्लाझैँ भएर ढल्किरहेछु’, रिमोट खेलाउँदै उषाले भनिन्
लघुकथा- गुरुदक्षिणा
म्यामराज राई
हतुवागढी-६, होम्ताङ्, भोजपुर, हाल: जापान
साहित्यकार डा.सिंहको घरमा अनुजहरुको भीड बढ्यो । गुरुपूर्णिमाको दिन गुरुलाई सम्मान गर्न र गुरुबाट आशिर्वाद लिन आउनेहरू बिहानदेखि लाइन लागेका थिए । करिब साँझसम्ममा सुनसान भयो ।
फोन बज्छ ।
‘राज बाबु ! बिर्सेका छैनौ कि ! छुट्टि कहिले आयौ ?’
‘प्रणाम गरेँ गुरु ! तपाईलाई भेट्न आज आउँछु ।’
श्रीमानको फोन वार्ता उषाले सबै सुनिन् र गनगनाउन थालिन् ।
‘मान्छेको थुप्रो,कोरोना महामारीको बेला,फोनबाटै पनि हुन्थ्यो होला आशिर्वाद आदान-प्रदान मात्र त ! हिजो दिनभरि, फेरि आज पनि !’
राज विशेष गुरुदक्षिणा चढाउन चाहन्थे । बेलायत बसाइ, दुई वर्षमा बल्ल बिदा मिल्छ । सैनिक जीवनसँगै साहित्यमा उत्तिकै लगाव, अझ लघुकथा लेखनमा रूची राख्छन् । उतै नेपालीभाषी समुदायमा भर्खरै सम्पन्न लघुकथा लेखन प्रतियोगितामा प्रथम भएछन्, पुरस्कारमा प्रमाणपत्रको साथमा नेपाली रुपैँया दश हजार ।
‘गुरु,आइपुगेँ । भाउजू खै त ? देख्दिन ! अनि नानीहरू ?’
‘किचनतिर होलिन् भाउजू । नानीहरू शहरमा पढ्छन् ।’
‘उषा ! चिया बनाऊ त, राज बाबु आएको छ ।’
‘हनहनी टाउको दुख्लाझैँ भएर म त ढल्किरहेछु । हजुरले नै बनाइदिने कष्ट गर्नुहोस् न है’, च्यानलको रिमोट खेलाउँदै उषाले अनुरोधरुपी जवाफ फर्काइन् ।
‘हैन, हैन पर्दैन गुरु, अलिक हतारमा छु । खास हिजो आउनुपर्थ्यो तर मेरो समय नमिलेकोले आज आएको हो । यो सानो उपहार मेरो तर्फबाट।’
‘किन यसरी दुख गरेको भाई ? पर्दैनथ्यो । भेटघाट हुनु ठुलो कुरो हो ।’
डा.सिंहले अप्ठ्यारो मान्दै ग्रहण गरेको पोको सरक्क किचन् कोठामा राखिआउँछ ।
त्यो पोकोमा फलफूल, बेलायती साडी, खामभित्र पाँच हज़ार रुपैँया पैसा साथमा कागजको सानो एक टुक्रो जहाँ लेखिएको थियो; तपाईबाट प्रेरित भई लेखेको लघुकथाले पुरस्कार जित्यो जसको आधा हिस्सा तपाईको नाममा राखेर आज गुरुदक्षिणा चढाउने अवसर मिल्यो ।
सबै देख्ने बित्तिकै उषा दंग हुँदै बाहिर निस्किइन् ।
‘ए, हजुर ! राज बाबुको लागि चिया ल्याउँछु है । अनि, खाना पनि यतै खाएर पठाउनुपर्छ ।’
त्यतिखेरसम्ममा राज त्यहाँबाट हिडिसकेका थिए ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



