उपजाति छन्दमा ‘गुरु’

मञ्जु मञ्जुभाषिणी

शिक्षाविनाका गुण हुन्न पूरा
गुनी हुँ भन्ने पनि छन् अपूरा
पूरा छ बन्ने सबभित्र चाह
आस्था सबैका गुरु हुन् अथाह ।

कालो न मैलो गुरुभित्र हुन्न
घमण्डले त्यो मन कत्ति छुन्न
ज्ञानी महात्मासरि शुद्ध चित्त
बाँच्छन् अरूकै हितका निमित्त ।

कांचो छ माटो जब छोइदिन्छन्
आकार राम्रो गुरु भर्न सक्छन्
छ शिष्य भन्दै परिपूर्ण आशा
फाल्छन् सबैका मनका निराशा ।

विद्रोह ईर्ष्या रिस ती सहन्छन्
शालीन मुद्रा सँगमा रहन्छन्
आकाश धर्ती गुरु हुन् हिमाल
छ शिल्पकारी उनमा विशाल ।

पीडा सबै नै मनका लुकाई
मुस्कान प्यारो छ भनी सिकाई
सारा समस्यासँग जुझ्न सक्छन्
अपार दीक्षा गुरु भर्न सक्छन्।

बालेर बत्ती भव यो जगाए
कुना अंध्यारो मनको हटाए
सम्झेर सारा गुरु विश्व माझ
यात्रा सुनौलो अति लाग्छ आज ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button