
हिँडेको स्वर्ग, पुगेँ चटकेकोमा
कविता
राधा तिमल्सिना
हिँडेको त म स्वर्गमा हो
तर खै कसरी हो ? बाटो पो बिराएछु !
ओहो ! भौँतारिदै जाँदा,
चटक देखाउने चटके कहाँ पो पुगेंछु !
त्यहीँ हुलमा बर्षौं हराइसकेछु !
अब फर्केर कहाँ जाने, के गर्ने ?
मैले सुनेको थिएँ, बाटो बिराए
हराएकै बिन्दुमा फेर्केर जाने ।
बर्षौंपछि फर्किएर जाँदा
त्यहाँ अपरिचितहरु थिए !
घर, गोठ, बगैँचा थिएनन् !
त्यहाँ त गिद्ध र स्याल मात्र थिए
मैले खेलेको चौतारो थिएन,
मसँगसँगै खेलेको दौतेरी थिएन ।
खेतमा बगर र बारीमा पहिरो
मेरो मनमा चोट झन झन गहिरो !
कल्पनाको स्वर्गमा आफै हराएँ
माफ गर ! मेरी आमा बाटो बिराएँ !
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



