
हलो जोत्ने भोकै पर्दा साह्रै गाह्रो हुँदोरहेछ
गीतिकविता
हरिप्रसाद गौतम
साह्रै गाह्रो हुँदोरहेछ
हलो जोत्ने भोकै पर्दा
उस्तै पीडा हुँदोरहेछ
लुगा बुन्ने नाङ्गै पर्दा ।१।
साह्रै पीडा हुँदोरहेछ
दुःख गर्ने दुःखी हुँदा
त्यही दुःखी नै मर्नुपर्छ
महङ्गीले आकाश छुँदा ।२।
दुःखीलाई नै छान्दोरहेछ
दैव पनि दुःखै थप्न
त्यही दुःखीले पर्नेरहेछ
दुःखमाथि दुःख खप्न ।३।
घर बनाउने मजदुरकै
ओत लाग्ने वास हुन्न
जसका लागि काम गर्छन्
ऊबाट क्यै आशै हुन्न ।४।
दैवको यो संसारमा
हर्ताकर्ता उनै हुँदा
किन यति निष्ठुरी खै
आफ्नै सन्तान दुखी हुँदा ।५।
साह्रै गाह्रो हुँदोरहेछ
काम गर्ने ज्यामी मर्दा
असह्य नै हुँदोरहेछ
उसैमाथि बज्र पर्दा
साह्रै गाह्रो हुँदोरहेछ
हेर्दै चुपचाप बस्नुपर्दा ।६।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)