
यो देश मात्र उसको रहेछ, बाँकी केहि पनि रहेनछ उसको यहाँ
कथाः धापमारे ठाँइलो
निर्मल घिमिरे
आधाउधी कपाल तिलचामल झै फुलिसकेको, कक्षा तीनभन्दा माथिल्लो कक्षामा उक्लन नसक्दा सानो उमेरमै पढाइ छोडी भागेको उसको शैक्षिक इतिहास । जीवनको लामै समय दरभङ्गा (भारतको बिहार राज्यस्थित एक शहर) मा ज्याला मजदुरी गरी ३४ सालपछि फर्किएको हुँदा उसले बोल्ने वाक्यहरुमा कहिँ न कहिँ भोजपुरी ट्युन झल्किन्थ्यो । प्रवासी हुन गएदेखि ३२ बर्षसम्म एक चोटी पनि नेपाल नआएको हुँदा नेपाली भाषा बोल्न अकमक्किने गर्दथ्यो । ‘अगर’, ‘क्यानम’, ‘मतलब’, ‘दुबारा’, ‘मालुम’जस्ता हिन्दी र भोजपुरी शब्दहरु उसले बोलिने हरेक वाक्यहरुमा मिश्रित भएर उच्चारित हुने गर्दथ्यो ।
नियतबस् नभई समयसमयमा आफ से आफ आफै उसका आखा झिम्क्याउने आदत बसेको थियो । जति कोशीस गरे पनि त्यो बानी उसले छुटाउनै सकेको थिएन । सोही आनीबानी देख्दा गाउँका ठिटाठिटीहरुले उनलाई चिमचिमे काका भन्दथे भने दाजुभाइले लठेप्रो उपनाम राखिदिएका थिए । भतिजाभतिजी अनि नातीनातीनाहरुले लाटो भनेर उपनाम दिएका थिए भने भाउजुबुहारीहरुले चाही गोज्यांग्रो उपनाम राखिदिएका थिए । देवघाटको भीम बिकजस्तै गरी सानासँग होस् कि ठुला, जोसँग बोल्दा पनि धाप मारेर बोल्ने बानी हुँदा बुढापाका गाउलेहरुले उनलाई धापमारे गोतामे ठाइँलो भनेर चिन्दथे । तर नाम, दाम र इज्जत बढी नै भएको कारण उनीबाहेक घरका अरु सबै जनाको थर गौतम थियो । केवल उनको मात्र गोतामे । उसलाई त्यसले त्यस्तो कुनै पर्वाह लाग्दैन थियो । जसले जुन नामले पुकारे पनि त्यी सबै नाम आफ्नै होला भन्ठानेर सबैलाई उत्तिकै आदर सम्मान र आज्ञाकारी बन्दथे ।
बोल्दाखेरी नाके-नाके स्वर भए पनि सबै लाई ‘हजुर्’, ‘तपाइ’ जस्ता आदर भावले बोल्ने र बडो मज्जाले अट्टहास स्वभावले हसेर बोल्ने अत्यन्तै रसिक स्वभावको वाककला । उसका दाजुभाइहरु सबै गाउँमै बसेर पनि सबैजना पढे लेखेका । कोही मास्टर, कोही खर्दार्, कोही पशु स्वास्थ्य कार्यकर्ता, कोही गाउँमै पसल चलाएर बसेका ब्यापारी । सबैको बन्दोबस्त उचित भैसकेको थियो । ठाइँलो छोरो भएकोले आफुभन्दा ठुला दाइहरुको त नातीनातीना समेत भइसकेका थिए भने उसले चाही परदेशी जीवन अनि केवल कामकै मात्र ध्याउन्नले गर्दा होला सायद उसले आफ्नो बारेमा सोच्ने फुर्सद समेत नपाएर होला जीवनको ४३ औ बसन्त पार गतिसक्दा समेत बिहे समेत गरेको थिएनन् ।
बिहेबारी नगरेको र जुन भाइको घरमा खान दिन्छन्, उसले उनैका घरमा दिन भरी खेतिपातीको काम देखी बस्तुभाउ चराउने, हलो जोत्ने, घास दाउरा, स्याउला ल्याउनेदेखि भतिजाभतिजीको कपडा धोइदिने काम समेत गरिदिनु पर्थ्यो । भाउजु, बुहारी एवम् भातिजाभातिजीको त के कुरा गर्नु, आफ्नै दाजुभाइहरुले समेत उसलाई ‘आफ्नो दाजु भाइ हो’ भनेर सोही अनुसारको ब्यबहार कहिल्यै गर्दैनन थिए । केवल सित्तैमा काम खानलाई सबै जनाले मुखन्जेल चेपारे पार्दथे भने उसको अनुपस्थितीमा चाही गिज्याउँथे । देउरानी जेठानीमा उसबाट काम खानलाई हानाथाप नै पर्थ्यो । सबैले लदाउन मात्र जानेका थिए । तर, पनि धापमारे ठाइँलोलाई कुनै वास्तै लाग्दैन थियो । जसले जे भने पनि हासेर फुर्ती साथ खुशीले मानिदिन्थ्यो । उसको यही कमजोरीको फाइदा जो कोहीले उठाउँथे ।
ऊ खुल्ला किताब झै थियो, कसैको कुभलो चिताउनै सक्दैन थियो । सबैलाई उत्तिकै खुशी बनाउन पाए हुन्थ्यो भन्ने सोचाइ राख्थ्यो । तर यति हुँदा हुँदै पनि बुहारीभाउजुहरु चाही आफ्नो काम परेको बेला खोज्दा भेटिनन भने “ए फलानी हाम्रो गोज्यांग्रोलाई त्यता कतै देख्यौ र” भनेर छिमेकीलाई सोधेको उसका आफ्नै कानले कयौ पटक सुन्दा भने ऊ ग्वालीमाथि लगाएको आफ्नो बिस्तारामा पल्टेर मन दुखाएर धेरै बेर रुन्थे । दाजुभाइको गोठालो जाँदा एउटा दुइ ब्याटरी जाने रेडियो बजाउँदै सुनेर बस्थ्यो । रेडियोमा बोलेको सुन्दा सुन्दा उसमा नेपाली भाषाको ज्ञान बिस्तार हुँदै थियो । बस्तुभाउ चराउन जाँदा गोठाला सहपाठीहरुसँग उनको धेरै राम्रो सम्बन्ध थियो । ठिटाहरु गोठाला जाँदा बाघचालमा घण्टौ घोप्टिदा उनैले सबैको बस्तुभाउको रेखदेख गरिदिन्थे किनकि उनी सबैले भनेका र अर्हाएका कुरा सजिलै मानिदिन्थे ।
गाउँकै पुछारपट्टी सुनसान ठाउँमा एक अधबैसे अविवाहित महिला एक्लै घरमा बस्थिन् । उनी बोल्न सक्दैन थिइन् । उनी घरमा एक्लै बस्ने हुँदा राती दुइ जना गाउकै जड्याहाहरु गएर ललाइफकाइ गरे । यद्यपि उनी त्यहाँबाट चिच्याएर उम्कन खोज्दा त्यी बलिस्ट जड्याहाहरुले उनलाई जबरजस्ती करणी गरेर गए । बिहान गाउँलेहरुले थाह पाए र उनको लागि न्याय माग्दै आन्दोलन गर्दै महिला समुहहरुले आन्दोलन फुके । शहरबाट बढ्काबढ्का महिला अधिकारकर्मीहरु आए । युट्युबे, टिकटके र फेसबूकेहरुको भिड लाग्न थाल्यो र आफै न्यायधिश बन्दै फैसलाको निर्णय मिडियामार्फत सम्प्रेशण गर्न थाले । बोल्न नसक्ने हुँदा उनलाई जबरजस्ती गर्ने अपराधीहरु को थिए भनेर उनले बताउन चाहेर पनि सकिनन् ।
तर, सबैभन्दा सोझो, बोल्न राम्रोसँग बोल्न नजान्ने र सजिलै दोष लगाउन सकिने, जसलाई पनि आखा झिम्क्याउने बानी, सबैलाई मायाले स्पर्स गर्दै धाप मार्ने सकारात्मक स्वभावको कारणको शंकाले गर्दा भनौ या जो सोझो, उसको मुखमा घोचो भन्ने कारणले भनौं, गाउँले र युट्युबेको भिडले दोषी करार गरेर उनै धापमारे ठाइँलोलाई प्रहरी बोलाएर बुझाइदिए । उनले पनि बोल्न त खोज्दै थिए आफु निर्दोष हुँ भनेर । तर, त्यो भिडमा उनको बोली सुन्ने न त कोही थिए, न त बोलिदिने नै । भिडभाडकै उजुरी अनुसार प्रहरीले मुचुल्का खडा गर्यो, बयान सोही अनुसार नै लियो । अदालतमा सोही अनुसारकै मिसिल प्रस्तुत गरियो । सोही कागज अनुसारकै अदालती फैसला भई उसलाई कारागार चलान गरियो ।
कारागारको सजाय भुक्तान गरिरहेको दुइ बर्षपछि एक दिन ती दुइ जड्याहाले जाड खाएको दिन भट्टीमा आपसमा झगडा पर्दा एकले अर्कोको पोल खोलेको कुरा भट्टीकी साहुनीले मोबाइलमा रेकर्ड गरेर प्रमाण सुरक्षित गरी गाउँलेहरुलाई दिएकी हुनाले गाउँलेहरुले प्रहरीलाई खबर गरेर ती नरपिचासहरुलाई तुरुन्तै गिरफ्तार गरी प्रकृया पुर्याएर अदालतबाट पुन निर्णय गराइ धापमारे ठाइँलोलाई छुटाए भने अपराधीलाई उनको ठाउमा जेलमा कोचिदिए ।
यो देश मात्र उसको रहेछ, बाँकी केहि पनि रहेनछ उसको यहाँ । बिना कसुर धापमारेले इज्जत गुमाए, सजाय पाए, दुइ बर्ससम्म खोरमा जाकिए । तर, जब उनी छुटेर गाउँमा आए, तब बिना कसुर सजाय दिलाइएकोमा न त कुनै गाउँलेहरु लज्जित भए, न त आत्माआलोचना नै गरे, न त क्षमायाचना नै गरे भने न त कसैले उनी सामुन्ने आइ ‘सरी है धापमारे’ भने । यही कुराले मन कुड्याउँदै आफैले आफैलाई धिक्कार्दै गर्हौ, थकित, शरिर र टिल्पिलाउदै आँखाका ढकनीका साथ मनभरी पिडा बोकी अब आइन्दा कहिल्यै नेपाल नफर्किने प्रणका साथ धापमारे ठाँइलो दरभङ्गा जाने बस चढी आजै रबाना हुँदै छ । हो, यी र यस्तै ब्यतिथीले गर्दा मनप्रसाद गौतम उर्फ धापमारे गोतामे ठाँइलो देशै छोडी सधैका लागि प्रवासिदै छन् आज ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



