
छोटा स्कर्ट मन नपराउँदा पुरातनवादी ठानिन्छ भने म हुँ
कविताः पुरातनवादी !
बैकुण्ठ पोखरेल
गोदावरी, ललितपुर ।
तिमीले लगाएका छोटा स्कर्ट
अनि मिनीस्कर्ट मन नपराउँदा
पुरातनवादी ठानिन्छ भने
हो, पुरातनवादी नै हुँ म !
तिम्रा नछोपिएका साँप्रा
खुल्ला बक्षस्थल
अनि अनावश्यक अंग प्रर्दशन नरुचाउँदा
पुरातनवादी ठानिन्छ भने
हो, पुरातनवादी नै हुँ म !
तिम्रा नजरमा
चुरोटको धुँवा उडाउन नजान्ने
सोमरसको स्वाद थाहा नभएको
डिस्को बार नधाउने
पुरातनवादी ठहरिन्छ भने
हो, पुरातनवादी नै हुँ म !
ठिकै छ
आयतित संस्कृतिको नाममा
क्रिसमस, भेलेन्टाइन अनि हेलोवीन नमनाउँदा
होली वाइन नचाख्दा
पुरातनवादी भइन्छ भने
हो, पुरातनवादी नै हुँ म !
जुवाघर नजाँदा
मोजमस्तीमा सरिक नहुँदा
बाउबाजेको बिंडो थाम्दा
पुरातनवादी भइन्छ भने
हो, पुरातनवादी नै हुँ म !
चुरोट स्म्याक तानेर
डिस्को बार धाएर
ट्याटु खोपाउँदै
छोटा पहिरनमा सजिएकी तिमी
अनि तिम्रा अंग प्रत्यंग
नहेर्दा आधुनिक भइन्न भने
आधुनिक हुनु छैन मलाई !
म त पुरातनवादी नै ठीक छु
सुन्यौ, म त पुरातनवादी नै ठीक छु !
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)