आखिर ! नपाएको एउटा न्याय न हो

कविता

सुफल थपलिया

सुनसान त्यो जंगल
तिम्रो निर्दयी पाखुरी
तिनै पाखुरीको वलमा
उम्लिएको तिम्रो पुरुषत्व
आखिर नसुनेको एउटा चित्कार न हो ।

च्यातिएको मेरो चोली
लुछिएका मेरा अंगप्रत्यंग
मलाई निर्लज्ज बनाएर, चलेको तिम्रो मनोमानी
रम्नै नपाई खोसिएको मेरो खुसी
आखिर निमोठिएको एउटा कोपिला न हो ।

तिम्रो तृप्तिसँगै
मेरो शरिरभरि बगेका रगत
तिनै रगतका टाटाहरुसँग
तर्सिएको मन अनि
दबाइएको मेरो घाँटी
आखिर नचलेको एउटा सोस न हो ।

खोजिएको मेरो शरिर
भेटिएको सडेको लास
लाशमाथिको तिम्रो सशक्त खबरदारी
तिनै नारा र जुलुसमा बालिएको टायर
आखिर नपुगेको एउटा प्रमाण न हो ।

निस्फिक्री तिम्रो जीवन
खोजिरहेको नयाँ दाउपेच
बढिरहेको तिम्रो दुस्साहस
समाजमा तिम्रो अस्वभाविक रवाफ
आखिर भड्किएको त एउटा आत्मा न हो ।

घन्किरहेको स्वतन्त्रताको नारा
लेखिएका नारी अधिकारका कुरा
कल्पना गरिएको सम्वृद्ध देश, सुखी नेपालीसँगै
विकसित अनि शिक्षित यो समाज
आखिर नपाएको एउटा न्याय न हो ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button