कामचोरहरूले चिया खर्च अझै मिलाउदैनस् त भने !

कविताः पवित्रताको वेदना

डा. विदुर चालिसे

अलिकति मर्यादा साँच्न खोजेँ
दलालहरूले कटनी कति दिन्छस् भने
साँच्न नसकेर गरिब बनेँ
र, बगिरहेँ, बगिरहेँ अपमानको बहावबीच
सदाबहार स्वार्थीहरूको आहालमा ।

थोरै सीप र ज्ञान रोप्न खोजेँ कति हो कति
कामचोरहरूले चिया खर्च अझै मिलाउदैनस् त भने
म दुखका साथ बगरमा टोलाएर बसेँ ।
बगरको गिट्टी, माटो र बालुवामा
घस्रिरहेँ, घस्रिरहेँ कुम्भकहरूको मेला बीच
अपसंस्कृतिका चिल्ला स्वरहरूमा !

ज्ञानको पुस्तकमाथि दम्भ, अहँकार र दमनको बुटले
किचिमिची मेरो मुहारको समृध्दिको नक्सा
सहन शक्ति हुन्जेल समातेर खपिरहेँ ।
समातिरहेँ, तानिरहेँ, बाँधिरहेँ गुटुमुटु पारेर
तिनीहरूको नपचेका लाजका अगाडि,
नियति सम्झेर कोलाहलका माझ ।

आकाशमा गिद्धहरूले घुमिरहे
मलाई खुब पछ्याइरहे,
म सालौँ साल लखेटिरहे,
पहाड झैं उभिरहेँ र सत्यको गीत गाइरहेँ ।

कालान्तर जीवनको अध्यायसम्म
जब देश नबुझेका चिम्प्यान्जीहरू आए
जब भेष नभएका ओराङओटानहरू आए
जब फेस नभएका वेशयावृत्तिहरू पनि आए
उन्मादमा मेरो दरिद्रतामाथि धावा बोल्न थाले ।

फेरि उनीहरूले अर्ति र उपदेश दिंदै
मेरो अस्तित्वमा धावा दिएर बोले,
‘अब सब विगठन हुन्छ !’

के विगठन ?
स्वार्थीहरूको स्वार्थ ?
या निस्वार्थीहरूको धरा ?

मलाई ताजुबको घृणा लागेको छ,
एक भोट दिन पनि तिनीहरूलाई
र, मतवाली रातको नजरका पाखण्ड कर्मलाई !

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button