
भोलि उनले हुनुपर्नेछ सिकार, पर्सि फेरि यो मुद्दा बेकार
लीना बानियाँ
अझै कति हुने बलात्कार
अझै कत्ति बन्ने समाचार
कहिलेसम्म बन्ने लाचार
किन सहने सधै अत्याचार !
किन सक्दैनौ उठाउन हात
किन सक्दैनौ जुटाउन साथ
किन बन्दैछौँ अपराधका साक्षी
किन हुदैछौ आँसुमा सहभागी ?
हिजो उसको भयो बलात्कार
आज दबियो उसको चित्कार
भोलि उनले हुनुपर्नेछ सिकार
पर्सि फेरि यो मुद्दा बेकार !
कहाँ छ सुरक्षा ? कहाँ छ त न्याय
कहाँ हिड्यो राज्य च्यापी अन्याय
कहाँ लाउँ गुहार इज्जत र ज्यानको
गरिदेला रक्षा भन्दै इमानको ।
मृत्यु सँगैसँगै सत्य बन्छ खरानी
आवाज दविन्छन् बन्छन् कहानी
गिद्ध नै गिद्धले घेरिए बस्ती यहाँ
कति बेला ठुँग्छन् के भर भो जिन्दगानी !
मिलेन न्याय रोएर अब यहाँ
पाइएन बाँच्न बनेर मानिस यहाँ
तोडिदिउँ न बाँध सहनसिलता पनि यहाँ
जगाउन भाव मानवताको पनि यहाँ ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



