
छोरी, म आफ्नै घरमा भतुवा भएँ
सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।
कथाः मायाको चिनो
रन्जना पराजुली (लम्साल)
बुद्धनगर, नयाँ बानेश्वर
रातभरी बाटोमा भुक्ने कुकुर रुँदा झिमिक्क नपरेका आँखा बिहानीपख झपक्क हुन पुगेछन । झ्यालबाट घामको किरणले चियाउँदा पनि आँखा उघ्रिएनन् । आँगनको छेउमा लटरम्म फुलेको आँपको बोटमा काग आइ बसेर कराउँदा असिन पसिन हुँदै झल्यास्स ब्युझिन नराम्रो सपना देखेर तर्सिए जस्तो । तर सपना कस्तो देँखे उनी आँफैले एकिन भने गर्न सकिनन । रातभरी कुकुर रोएको र एकाबिहानै आफ्नै आँगनमा काग कराएकोलाइ अशुभको संकेत भनी जुरुक्क उठी जिउलाई भारी बनाउँदै अनेकौं कुराहरू सोची नित्य कर्मतिर लागिन् ।
लगभग हप्ता दिन भएको थियो बाबासँग कुरा गर्न नपाएको । महिनौ भएको थियो भेट नभएको पनि । घरले जाजा र वनले आइज भन्ने अवस्थामा पुग्नु भएका बाबाको जिर्ण शरीरको आकृति हरपल अँखामा नाचिरहँदा पनि विवश थिइन् सामिप्य हुन र फोनमा बोल्न । जुन घरमा जन्मी हुर्की उहीँ घरको आँगन टेक्न त परै जावस्, फोन गर्न समेत डराउनु पर्ने विवशताले घरीघरी छियाछिया हुन्थ्यो मुटु । बाबाको शेषपछि जन्मिएको घर सदाको लागि बिरानो हुनेछ भन्ने कुराले झन्झन् छाती भत्भती पोलिरहन्थ्यो । विवशता पनि कस्तो एउटै बाबाको एकै खुन तर फरक किन ? घरीघरी विद्रोह गर्न मन नलागेको पनि होइन । तर उनको विद्रोहलाई पाइतालाले कुल्चने थिए । अरु थुप्रै दरिला पाइतालाहरु जसको अघि झुकिरहन्थिन उनी अपाहिज हुँदै ।
नुहाइ धुहाइ सकेर पुजा गरिन् घण्टी बजाएर अनि चिया बनाउन लागिन । श्रीमान र दुई बच्चाहरु मिठो सपना देख्दै निन्द्रामै डुबुल्की मार्दै थिए । उनीहरुलाई न रोएको कुकुरले बाधा पुर्यायो न बिहानी पख कराएको कागले न त पुजा गर्दा उनले बजाएको घण्टीले नै । बिहानीको समय, श्रीमानज्युको अफिस साथसाथै दुई बच्चाको स्कुलको तयारी । सास फेर्न पनि हम्मेहम्मे हुन्थ्यो । श्रीमानज्यु र बच्चाहरुको उठ्ने अत्तोपत्तो थिएन । चिया पिउँदै तरकारी केलाउन थालिन् । राती भुकेको कुकुर र बिहानीपख कराएको कागको आवाजले कताकती चिसो मन भएकी उनलाई अनायसै भन्न आयो, हे भगवान , अशुभ समाचारले यो कानलाई अपवित्र नबनाइदेउ दया गरेर म टुहुरीमाथि ।
बिहे भएको धेरै बर्षपछि लक्ष्मी पुजाको दिन जन्मिएकी उनी । लक्ष्मी पुजाको दिन जन्मिएकी भएर नाम जुराउन कति गार्हो भएन । न्वारान र बोलाउने लक्ष्मी भनी नामाकरण गरिदिनु भयो पण्डित बुवाले । सन्तान बिहिन आँगनमा लक्ष्मीको आगमनले हर्षित थियोे परिवार । सानो परिवार सुखी परिवार । लक्ष्मी हुर्कदै गइन् । नाम जस्तो उस्तै रुपरङ्ग र बानी ब्यहोरा ।
केही बर्षपछि दुखसुख बाँडी रमाउदै आएको परिवारमाथि कसको नजर लाग्यो कुन्नी ? स्वाहा भयो खुशीहरु एकैछिनमा अचानकको बिमारले अस्पताल पनि पुर्याउन नपाइ लक्ष्मीकी आमाको मृत्युले । ब्यवस्थित भइसकेको परिवार लथालिङ्ग भयो । एक रथको दुई पाङ्ग्रामध्ये एक पाङ्ग्रा खुस्किएर रथ पल्टिएजस्तो ।
आइमाई बिनाको घर । काँचो कचिलो त कहिले मिठो कहिले नमिठो जसोतसो चल्न थाल्यो । कष्ट त थियो निकै नै लक्ष्मीका बाबालाई सानी छोरीको स्याहार घर धन्दा र बाहिरी कामको चटारोले । दोस्रो बिहेको कुरो नचलेको पनि होइन घरमै केटी दिन आएका पनि हुन । एकातिर बिहे भएको धेरै बर्षपछि जन्मिएकी छोरी, त्यसमा टुहुरी, सौतेनी आमाको दमन कसरी सहली ,अर्कोतिर लगभग पचपन्न बर्ष कटेको आफ्नो ढल्किसकेको उमेर । समय न हो आखिरीमा दोमनलाई छलाएर परिस्थितिले बाँधेरै छाडिदियो ।
निधारमै लेखेको थियोे दुई स्वास्नीको पोइ हुन । कसरी पो मेटिन्थ्यो र । लेखेको लेखान्तर । आफुभन्दा आधा उमेर फरककी केटिको कुरा आएर घर शोभायमान भयो, हातका चुराहरु बजेर । रमाइलै थिए दिनहरु । तर, सँधै उस्तै नहुँदो रहेछ । धेरै उमेर फरकका जोइपोइको सम्बन्ध त्यसमा पनि मुख्य जड लक्ष्मी थिइन् । कसरी पो पच्थ्यो र सौतेनी आमाको दुष्ट ब्यवहार । लक्ष्मीले सबै सम्पत्ति हडप्ली भन्ने ठुलो पिर थियो उनलाई । आधा उमेर फरकका लोग्नेको मायाभन्दा सम्पत्तिको प्यारो भएकी लक्ष्मीकी सौतेनी आमाले छोराको सपना देख्न थालिन् । छोरा पाउने आशामा धर्मकर्म, पाठपुजा, व्रत बसेर आखिरी छोरा पाएरै छोडिन् ।
दुष्ट ब्यवहार त छँदै थियो । छोरा पाएदेखिीत झन्झन् आफ्नो चरीत्र देखाउदै लक्ष्मीको कुरालाई लिएर दिनहुँ रडाको मचाउँथिन । दिनहुुँको रडाको मचिएर घरको वातावरण अशान्तिले छाएको थियो । लक्ष्मीको बाबा मुकदर्शक हुन्थे । विकल्प थिएन । केहि सम्झाउन खोजे झन उदण्ड मचिन्थ्यो । एकातिर श्रीमती त अर्कोतिर आमा नभएकी आफ्नै खुन टुहुरी छोरी । छोरीमाथि गालीगलौज बर्षंदा लक्ष्मीको भन्दा बाबाको घाँटी सेरिन्थ्यो ।
सौतेनी आमाको छाँयाले तर्सिने लक्ष्मी अवाक हुँदै गइन । अति माया गरेकी थिइन् भाइलाई तर ऊ पनि पर पर भइ बैरी हुन थाल्यो । जन्म दिने बाबाको छेउ त के छाँयासम्म हेर्न बन्देज हुँदै गयो । आफु जन्मी हुर्केको घरले पनि लक्ष्मी, अब तँ यो घर छोडेर गएकै राम्रो किन बसिरहन्छेस मुटु छेड्ने गाली सुनेर भन्दै गिज्याए जस्तो लाग्दा लाग्दै पनि जानू कहाँ त ? आँशुको धारा पिएर बाँचेकी लक्ष्मीको एक दिन बिहेको कुरो आयो । माइतीघर कतिन्जेल पो हुन्थ्यो र चेलीको लागि एक दिन जानै पर्ने पराइको घर । उनी त्यस घरबाट निस्किएपछिीसबैभन्दा आमालाई खुट्टामा बिझेको काँडो निस्किए जस्तो हलुँगो हुनेछ । तर बाबा … बाबाको कन्तबिजोग सम्झेर छाती पोल्थ्यो भत्भती । लुकिछुपी ख्याल गर्ने उनै थिइन् तर यो सबै सोचेर सम्भव थिएन । उनले पनि आफ्नो घर बसाउनु थियोे । मायाको अभावमा खटकिएकी उनी सुन्दर जीवनमा रमाएर हराउनु थियोे ।
उमेर पुगेकी उनी अन्मिएर गइन पराइको घर बाबालाई एक्लै पारेर । उनी अन्मिदा सबै भन्दा धेरै चोट बाबालाई परेको थियोे । धेरै रुनु भयो बाबा सायद । लक्ष्मीकी आमाको मृत्युको पिडामा पनि त्यति रुनु भएन होला । रोए अरु पनि तर देखावटी पारेर । कति फरक थियोे आँशु बहनुमा । त्यही घरका सदस्य मध्ये कोहीका आँशु बहे हर्षका भने कोहिका बहे पिडाका ढिके आँशु ।
शुन्य भयो घर । ढकमक्क फुलले भरिएको आँगन, जुन प्रत्येक फुलहरुमा लक्ष्मीका पसिना बगेका थिए तर उनको अभावमा मुर्झाउन थाले । त्यस्तै रित्तो भयो कोठेबारी । घरका प्रत्येक कुनाकानीले उनैलाई खोजे जस्तो आभास, कतै सह जति सबै उडेर गए जस्तो ।
जो जस्ता भए पनि जन्मेको घर चटक्क छोडेर जाँदाको पिडा उनलाई मात्र थाहा थियोे मात्र उनलाई । बाबाको यादले सताउँथ्यो तर माइतीघरको वातावरणले तर्साउँथ्यो । चाहेर पनि सक्दिन थिइन् केही गर्न । माइतीघरको कुकुर पनि प्यारो हुन्छ भन्ने कुरा एकादेशको कथा भइ ओझेलिएको थियोे । यदाकदा जाँदा बाबाको अनुहारमा मन भित्रका कुण्ठासहरु गुम्सिएको देख्थिन । ओकल्न नसक्ने बाबा सोध्न नसक्ने उनी । सोधेर पनि कुनै रडाको मच्चाउन नैतिकताले कहिले दिएन । सकारात्मक सोचकी लक्ष्मी आफ्नी सौतेनी आमा जसरी हुन्छ खुशी भएको देख्न चाहन्थिन ।
तिम्रो फोन आयो भन्दै श्रीमानज्युले मोबाइल हातमा थमाृउँदा पो झस्किन । तरकारी काट्दा काट्दै चक्कुले औंलामा चस्स पारेर रगत निस्किएछ अलिअलि, उता कपको चियामा छाली बसिसकेछ । अझै तरकारी चाहिने भन्दा बढी नै काट्छिन । फोनमा पुरै घण्टी बजेर रोकिएको थियोे । कहिले नगर्ने सौतेनी आमाको मोबाइलमा आएको नम्बरले चिसो भयो मुटु । फोन लगाइन । बाबा सिकिस्तको खबरले आतिएको मन सम्भाल्दै दुई बच्चालाई घरै छोडी श्रीमानसँग लागिन् माइतीघर, कुकुर र कागले दिएको अशुभ शंकेतलाई सम्झदै ।
बाबाको पार्थिव शरीरमा फुल चढाउनु सिवाय अरु सोध्न चाहिनन् किनकी उनी एक्ली थिइन्, सिर्फ एक्ली । त्यतिकैमा सौतेनी आमाले भित्रबाट एउटा टिनको थोत्रो बाकस निकालेर लक्ष्मीको अगाडी फाल्दै भत्भताइन । ला, तेरो बाउको सम्पत्ति । यो बाकस जहिले पनि च्यापिरहन्थे । प्यारी छोरीलाई थुपारेर राखेका होलान नि सुन, चाँदी, हिरा, मोती । खोल आफैं र हेर । ू
कति रुखो बोली । सिउँदोको सिन्दुर पुछिदैछ तर कति छैन शोक । घाँडो थियो जिन्दगीको जुन आजदेखि छुटकारा हुँदैछ । सायद लक्ष्मीकी सौतेनी आमाको मनले यस्तै यस्तै सोचेको उनको हाउभाउले बताउँथ्यो ।
धेरै समय भएको थियोे बाबा एक्लै कोठामा बस्नुभएको । खानपिन, सुताइदेखि हरेक कुरामा बाबा एक्लै फगत एक्लै तर लक्ष्मीले थाहा पाएर पनि थाहा नपाए जस्तो भइदिएकी थिइन् ताकि उत्पात नमचियोस् भनेर । मनमनै प्रार्थना गरिन् । बाबा, हजुरले दुख लुकाउनु भयो । हजुरको आत्माले शान्ति पाओस् । मात्र दुई थोपा आँशु खसालिन् मात्र दुई थोपा बाबाको चिर शान्तिको कामना गर्दै ।
राखनधरनका कृयाकलापमा सक्रिय लक्ष्मीकी आमा घरीघरी लक्ष्मीतिर धारे हात लाउदै के के भन्थिन्, मानौ लक्ष्मी एउटी ठुलै अपराधी भए जस्तो । हिम्मत कसको र उनको अघि कोहि कसैले केही भन्न सक्ने । बस, तैं चुप,मै चुप ।
डराइ डराइ बाकस खोलिन्। जहाँ कोरिएका दुई पानाबाहेक केहि भेटिएन । पढ्न थालिन् । जति पढिन्, उति भक्कानिन् ।
‘छोरी, हाम्रो बिहे भएको धेरै बर्षपछि तिमी जन्मियौ । खुशी छायो हाम्रो घरमा । तर, टिक्न सकेन धेरै समय । तिमी, म र तिम्री आमा को अभागी हो थाहा छैन । यो सबै चमत्कार रहेछ छोरी । आआफ्नो भाग्यसँग आफैले जुध्नुपर्ने । तिम्री आमा मरेर गइन ्तर पायौ दुख तिमीले । तिम्रा दुखहरु म जिउँदो बाबा हुँदाहुँदै हेरिरहेँ । गर्न केहि सकिन । तिमी पराइघर गएदेखि मेरो कोठा अलगियो । बोलचालमा परिवर्तन आयो । अरु त के भनुँ र छोरी, आफ्नै घरमा भतुवा भएँ म ।यो सबै भाग्यको खेल थियो सायद । तिम्री आमा जिउँदी हुँदी हुन् त यो सबै हुन्थेन होला । तर छोरी कति पिर नलेऊ । जन्मेपछि एक दिन मर्नुपर्छ । बिष्णु भगवानजस्ता ज्वाइँ राजाको काख पाएकी छौ । तिम्रो लागि केहि गर्न सकिनँ, न दिन नै सकेँ केही । एउटा थोत्रो टिनको बाकस छ, जुन आमा र बाबाको मायाको चिनो भनी सङ्गालेर राख है ।’
लक्ष्मीको छाती चर्कियो । मुटु भक्कानियो । अझै थिए कोरिएका अक्षरहरु तर नबुझिने । कतै लेख्दा लेख्दै मुटु भक्कानिएर आँखाभरी आँसु भइ बाबाका कामेका हातले कोर्न सक्नुभएन होला आफ्ना मनका व्यथाहरु । यहि सोचिन् लक्ष्मीले अनि टिनको बाकस हेरिन्, जहाँ बाबा र आमाका धमिला आकृतिहरु सलवलाइरहेका थिए। फेरि प्रार्थना गरिन् ।
‘बाबा, हजुरको आत्माले शान्ति पाओस् ।’