विद्यालयको विद्यार्थी वह

कविताः प्रतिक्षारत विद्यालय

विद्या खड्का

म उभिरहेको छु
चौतारीको सदियौं पुरानो बूढो पिपल झैं
महिनौंअघि हराएका पदचापहरू फिर्ने आशामा
टाठा दुई जोडी आँखा र कान
पर परसम्म तन्काएर
हावाले पनि अवरोध पुर्‍याउलान् भनी
स्वास फेर्नै छाडेर
निस्प्राण, निर्जीव
ठिङ्ग ।

हेर्दैछु
छातीमा रहेका
कोठा, चोटा, बरण्डा, आँगन
चमेनागृह, पुस्तकालय
ढुसी लागेका किताब, कापी
धुलो जमेका डेस्क, बेन्च, टेबुल, कम्प्युटर
खिया लागेका पिङ, चिप्लेटी
घण्टैपिच्छे ट्वाङ ट्वाङ बज्ने घण्टी
मादल, तबला, हार्मोनियम
बल, ब्याट, डोरी
न्याउरा, नियास्रा, निशब्द
ब्याट्री सकिएको पुतली जस्तै
सबै मौन ।

सम्झन्छु
विद्यार्थीका
पढाई, चिच्चाई, होहल्ला
हाँसो, ठट्टा
झगडा, मित्रता
चकचकी, बदमासी, उट्पट्याङ
हराउँछु शान्त वातावरणबीच
आफैभित्रको कोलाहलमा ।

खोजिरहेको छु
झरीले मेटिएका पैतालाका डोबहरू
रङ्ग उडेका भित्ताका केरकार चित्रहरू
कलिला हातका मायालु स्पर्शहरू
कहिलेकाँहीको घुर्काई, हप्काई, रोई, कराई
ती थिए र पो, ममा प्राण थियो
गलामा आवाज थियो
लय, संगीत र ताल थियो ।

सोच्छु
के गर्दै होलान् ?
कसो गर्दै होलान् ?
मैलेजस्तै उनीहरू
सम्झन्छन् या बिर्सिए
मेरो प्राङ्गणमा बिताएका पलहरू
कल्पना गर्लान् फेरि बिताउने समयहरू ?
सबै कुशलै होलान् नि ?
खै कहिले आउलान् मेरा प्यारा विद्यार्थीहरू ?

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button