असार खास बनेर आयो, कत्ति आमाको काख रित्तो पारेर आयो

कविताः २०७८ सालको खास असार

सुखकला राई
हालः पोखरा, कास्की ।

हरेक वर्ष समयचक्रसँगै घुमेर आउने
असार मास
यस वर्ष धेरैको लागि खास बनेर आयो
कसैको भान्छाबाट गाँस खोसिएर आयो
कसैको जीवनमा बास खोसिएर आयो
कत्तिको घरबाट लास उठाएर पनि आयो
धेरै जनाको घरबारै उठिबास लगाएर आयो ।

कत्ति आमाहरुको काख रित्तो पारेर आयो
धेरैजनाको रङ्गीन संसार उजाड पारेर आयो
देखेका मिठो सपनामा कालो धब्बा बनेर आयो
धेरैको लागि कहालीलाग्दो अँध्यारो रात बनेर आयो ।

यो वर्षको असार
कसैको लागि जीवन जिउने आश बनेर आयो
भोलि फेर्ने सास बनेर आयो
मिठो आभास लिएर आयो
धेरैको जीवनमा उल्लाश छरेर पनि आयो ।

हिलोसँग टाढिएर लामो समय पर धकेलिएकालाई
यो वर्षको असार नजिक गराएर आयो
धुमिल ती पुराना यादहरुलाई
फेरि एकपटक ताजा बनाएर आयो ।

नवयौवनाको मनमा अञ्जानमै रसाएको प्रेमको मूल
हिलोसँगै छताछुल्लै पोखाएर आयो
एकअर्कामा हिलोसँगै माया साटेर
मनभरि प्रेमिल हलचल मच्चाएर आयो ।

केवल आमाको काखमा लुटपुटिरहने बालकलाई
हिलो र माटोको सप्रेम स्पर्श सिकाएर आयो
माटोप्रेमी प्यासी हातहरुको
आँत भरपूर मेटाएर आयो ।

मेरो लागि पनि यस वर्षको असार मास
छुट्टै मिठास लिएर आयो
धेरै निराशाहरुलाई आशामा बदलिदिएर आयो
सानोतिनो चोटहरु दिएर नै त होला
यो वर्षको असार मास
मेरो लागि सम्झनामा खास बनेर आयो ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button