नलगलमा आलोपालो मेयर हुनेबारे नगरवासीलाई थाहा थिएन

लघुकथाः परिणति

योगेन्द्र तिमिल्सिना

कुनै देशमा नलगाँड र गलगाँड नाउँका दुईटा शहर थिए । दुबै शहरका बासिन्दा अत्यन्त सभ्य र सुसंस्कृत नागरिक थिए । शहरमा कुनै कुराको कमी थिएन । एकसेएक विद्वान र मूर्धन्य साहित्यकारहरु थिए । नलगाँडमा शहरभरि खानेपानीका पाइप विछ्याइएका थिए, तर तिनमा जोडिएका धाराबाट एक थोपा पानी पनि चुहुँदैनथ्यो । डोकामा गाग्री राखी चारघण्टाको बाटो हिँडी खोलाबाट खानेपानी बोकेर ल्याउनु पर्ने हुन्थ्यो । उता गलगाँडमा भने पानीको कुनै अभाव थिएन, तर सलक्क परेको घाँटी भएको एउटा मानिस पनि थिएन । सबैका घाँटीमा साना, ठुला गाँड झुण्डिएकै हुन्थे ।

दुवैै शहरमा सभ्यता र संस्कारको कुनै कमी थिएन । दुबै शहरका राजनेताहरु आ–आफ्नो शहरको कमजोरीप्रति खिन्न थिए । तसर्थ एकदिन दुबै शहरका सामाजिक अभियन्ता, कुटनीतिज्ञ र विज्ञहरुले आपसमा सल्लाह गरी दुबै शहरलाई गाभेर एउटै महानगरपालिका कायम गरी शहरमा सहज व्यवस्थापन गर्ने प्रस्ताव पारित गरे । यसै प्रस्तावलाई सम्बन्धित निकायहरुमा पठाई नलगल महानगरपालिका नाम राख्ने निर्णय गराए । एउटै नगरपालिका कायम भएपछि पानीको अभाव भएन ।

गलगाँडका जनताको समस्याबारे अध्ययन गर्न एउटा कार्यदल बन्यो । कार्यदलले दिएको प्रतिवेदन अनुसार गलगाँडमा पानी उपलब्ध भए पनि त्यस पानीमा आयोडिनको कमी भएकोले त्यहाँका जनता गलगाँडले पिरोलिएका थिए । प्रतिवेदनमा आयोडिनको मात्रा मिलाएर पानीको उपचार गरी शहरमा शुद्ध पिउने पानी वितरण गर्न सिफारिस गरिएको थियो ।

हालको नलगल महानगरपालिका बनेपछि नगरमा पिउने पानीको मुख्य समस्या समाधान भयो । पूर्व नलगाँड र गलगाँड नगरपालिकाका मेयरहरुका बिचमा हाल बनेको नलगल महानगरपालिकामा आलोपालो मेयर हुने समझदारी भएको भन्ने थियो, तर त्यसको जानकारी नगरवासीलाई थिएन । केही समयपछि गोप्य समझदारी अनुसार पूर्व नलगाँडका मेयरले महानगरपालिकाको मेयरको सिट छोड्न अस्वीकार गरी नगरपालिकाको ताजा चुनावको समयसम्म एक वर्ष प्रतीक्षा गर्न अनुरोध गरे । पूर्व गलगाँडका मेयरले वर्तमान मेयरले कमिटीमा छलफल नगरी मनमानी ढङ्गले निर्णय गरी तानाशाही प्रवृत्ति देखाएकोले विरोध जुलुसहरु निकाल्न नगरबासीहरुहरुलाई अनुरोध गरे ।

शहरमा सामाजिक अभियन्तासहितका विरोध जुलुसहरु निस्कन थालेपछि विद्रोहीहरुले गलगाँडतर्फका पानीका पाइप समेत धमाधम काट्न थाले । शहरमा व्यापक अराजकता बढ्न थाल्यो । पहिलेको सुन्दर शहर अब कुरुप बन्न थाल्यो । गलगाँडका बासिन्दाले पनि नलगाँडतर्फको पानीको पाइप काट्न थाले । निरन्तरको आपसी विद्रोहले दुबै शहरहरु अन्ततोगत्वा अभावग्रस्त र कुरुप हुँदै गए ।

यसैबीच केन्द्र सरकारले हस्तक्षेप गरी पूर्व गलगाँडका मेयरलाई कारवाही ग¥यो र नलगल शहरलाई व्यवस्थित बनाउने प्रयास ग-यो । पूर्व गलगाँड शहरका पछिल्ला पुस्तामा प्रायः सबैका घाँटी सलक्क परेका थिए । केही वर्षपछि गृहस्थी र राजनीतिबाट सन्यास लिई पूर्व गलगाँडका मेयर कर्णाली नदी तटको जङ्गलमा तपस्यामा लीन रहेको अवस्थामा भेटिएको खवर गाउँमा फैलिएको थियो ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button