
मुटु भरिएर आउँछ, जब सम्झन्छु आमा
कविताः आमाको सम्झनामा
रश्मिका लम्साल
आमा छोडी गयौं तिमी
किन मलाई एक्लो पारी
छैनन् कोही मेरा आफ्ना
खुशी थिएँ तिम्रै साथमा ।
एक्लै बस्दा एकान्तमा
गुन्जिन्छ तिम्रै आवाज यहाँ
कस्ती हौली कता हौली
सुख छ कि छैन त्यहाँ ?
साथी जस्तो माया तिम्रो
हरेक कुरा साटासाट गर्थें
अब त छैन बुझ्ने कोही
बसेकी छु एकान्तमा रोई ।
पीडा हुँदा सधैं मलाई
मेरो सहारा बन्थ्यौं तिमी
मुटु चूडाई कहाँ गयौ
कुन नौलो सहर तिमी ?
फर्की आऊ भन्न पनि
मिल्दैन अब कसै गरी
किन छोडेऊ साथ मेरो
एकान्तमा एक्लै पारी ।
सम्झन्छु जब तिमीलाई म
मुटु भरिएर आउने गर्छ
सँगै बस्ने हाँस्ने तिमी र म
केवल सपना जस्तो लाग्छ ।
फर्किएन त्यो अतीत अब
केवल सम्झना बाँकी रह्यो
यो जुनीमा आमा शब्द
केवल शब्दमै रहने भयो ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)