
भो सरकार अब हामीलाई कोटा चाँहिदैन
कविता
सुष्मा सापकोटा
हामी मान्छे
आफूलाई विवेकशील प्राणी भन्छौं
कुकुरको पुजा गर्छौं
बाँदरलाई भगवान ठान्छौं
अनि मान्छे भएर मान्छेलाई नै के ठानिरहेका छौं ?
यी सबै कुराहरु छर्लङ्ग हुँदाहुँदै पनि
दलित कोटा किन चाहियो ?
तिमी दलित कोटा चाँहिदैन भन, म तिमीलाई कोठा दिन्छु
भन्नेहरुलाई मेरो आग्रह
तपाई नेपालको जुनसुकै ठाउँमा जानुहोस्
आफ्नो परिचय विश्वकर्मा, परियार
या सार्की भनेर दिनुहोस्
मलाई लाग्दैन
तपाईलाई आप्नो प्रश्नको जवाफ पाउन
एक हप्ता लाग्नेछ ।
अनि तपाई आफैं भन्न थाल्नुहुनेछ
जातकै आधारमा कोठा नपाउनु
मन्दिरभित्र पस्न नपाउनु
धारा पानी छुन नपाउनु
मैले छोएको अरुले नखानु भनेको त
अरुले ममाथि कुल्चेर हिँड्नु सरह रहेछ
आत्मसम्मानको कुरा रहेछ
जहाँ, मैंले कोटा नपाउँदा भन्दा कयौं गुना बढी पीडा रहेछ
अनि
यदि तपाई साँच्चै ‘मान्छे’ हो भने
चिच्याउँदै भन्नुहुनेछ
ओहो ! उनीहरु पनि पो मजस्तै मान्छे रहेछन्
यत्तिका दिनसम्म मैले किन चिन्न सकिनँ ?
र, मलाई विश्वास छ
जुन दिन तपाईले जस्तै सबैले
दलितहरु पनि मान्छे हुन् भनेर चिन्नेछन्
त्यो दिन उनीहरु आफैले भन्नेछन्
भो सरकार अब हामीलाई कोटा चाहिंदैन ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



