
मृत्यु मान्छेजस्तो जीवनसँग हम्मेसी जिस्किँदैन
मृत्यु कविता-९
ठाकुर बेलवासे
बुझेनौ
पटक्कै बुझेनौ
मृत्युका संकेतहरू ।
मृत्यु
जीवनजस्तै स्वाभाविक छ
तिमीले अस्वाभाविक बनायौ ।
मृत्यु मानिस झैं कपटी पनि छैन
मानिसले जस्तो झुक्याएर
मृत्युले प्रहार कहिल्यै गर्दैन
तिमीले मृत्युको सूचना पढ्नै चाहेनौ
तिमीले मृत्युको भाषा बुझ्नै खोजेनौ ।
बाढी बनेर बग्नु थियो, मृत्युलाई
नदी किनारामा गएर
तिमीले बाटो छेक्दै बस्यौ ।
भीरपहिरोबाट मृत्युले आफ्नो गन्तव्य पुरा गर्नु थियो
मृत्युको यात्रालाई रोक्दै भीरमा
मृत्यु उत्सव मनायौ
उत्सवमा मृत्यु ताण्डव गर्छ
तिमी ताण्डवमा पर्यौं ।
आगोमा रूपान्तरण भएर
मृत्यु निदाएको थियो
तिमीले आगोलाई जिस्कायौ ।
मृत्यु
मान्छेजस्तो
जीवनसँग हम्मेसी जिस्किँदैन
मृत्युको अस्तित्वसँग
मान्छेले ठट्टा गरेजस्तो
मृत्युु मान्छेसँग ठट्टा पनि गरिरहेको छैन् ।
मान्छे मृत्युसँग ठट्टा गर्दागर्दै
पहिरोमा हराइरहेको छ
मृत्युुलाई हेप्दाहेप्दै
बाढीमा बगिरहेको छ ।
मानिसको अन्तिम त्रास
मृत्यु
मान्छेभन्दा इमान्दार छ ।
मृत्यु
अविश्वासी बनेको छ भने
मान्छेकै कारण बनेको छ ।
मृत्युको विश्वासलाई
तिमीले बुझ्न चाहेनौ
मृत्युको चरित्रलाई
तिमीले जान्न चाहेनौ ।
बुझेनौ
पटक्कै बुझेनौ
मृत्युका संकेतहरू ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)