
अलिक अल्छी छु
सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।
कविता
रोशनी कटवाल
ढलेको लोटा उठाउन नजान्ने म
ढलेका आशहरु जगाउन खोज्छु
ओछ्यानमा पल्टेर मात्र यो सम्भव कहाँ छ र
उठेर गर्न त साथी
अलिक अल्छी छु म ।
सफल पृष्ठभुमिको माटोमा मेहेनतको बीउ छरी
सफलताको फल खान खोज्छु
बुर्कुसी मारेर बसेर मात्र यो सम्भव कहाँ छ र
केही पाइला अगाडि सार्न त साथी
अलिक अल्छी छु म ।
काँचो धागोमा उनेर राखेका सपनाले
जीवनको सुन्दर माल बुन्न खोज्छु
उपरखुट्टी लगाएर मात्र यो सम्भव कहाँ छ र
जाँगर गरेर अघि बढ्न त साथी
अलिक अल्छी छु म ।
कति बलिया रहेछन खुट्टा ती सपनाका
मस्तिष्कमा दौडिएर कहिल्यै नथाक्ने
सपना त दौडिएर धेरै अघि पुगिसकेछ
भेट्टाउन त मन छ साथी तर के गर्नु
अलक अल्छी छु म ।
सात डाँडा पारी पुगेको सपना
र, एक डाँडा पारी पुगेकी म
कहिले होला र हाम्रो मेल
दौडिदै सात डाँडा पार गर्न त साथी
निकै अल्छी छु म ।
सात डाँडा पारी पुगेका ती सपनालाई
बरु फर्काउ क्यारे दुई डाँडा वारी
अल्छीपनले दिएन साथी मलाई टाढा पुग्न ।
सपना त्यागौं या अल्छीपन ?
यो सोच्न समेत साथी
एकदमै अल्छी छु म ।



