
शहरमा कोठा लिई डिग्री पास गरेँ मैले
कविता: पढेर काम नपाएपछि विदेशिनेको कथा
सुशीला नेपाल
बाबाआमाले दुख गरी खर्च गरी पढेँ मैले
शहरमा कोठा लिई डिग्री पास गरेँ मैले ।
सकियो हजुर ! भएको सम्पति पढाइमा छर्दा
उल्टो ऋणी भा’छु पढेका ऋण तिर्न नपाउँदा ।
मार्कसिट बोकी शहरगल्ली चाहारिसकेँ
आएन मेरो दिन, हजार संस्था गुहारिसकेँ ।
सीपमूलक शिक्षा दिइ जीउन सिकाइदेऊ
परिस्थीती मिलाई आत्मनिर्भर बनाइदेऊ ।
धनीले त पढीलेखी ज्ञान धेरै पाए होला
पैसा धेरै भएपछि आफ्नै व्यवसाय चलाए होला ।
म गरीबको चूलो तिम्ले किन निभायौ
यति गर्नु नै थियो भने कलेज किन बनायौ ?
आशा अब मर्यो भन्दै विदेशमा मेसीन चलाउँदा
आज जीवन निराश भयो पढेको काम नलाग्दा ।
खाडीमा नै बालुवा चाल्छु नेपालमा रोजगारी नपाउँदा
डिग्री पासको सर्टीफिकेट दराजमा किराले समाउँदा ।
खै के गर्यौ र तिम्ले ? बलिया दिमाग अनि कलम चलाउँदा
अािखर मर्नु नै पार्यौ नि सबै यूवालाई उदासीन बनाउँदा ।
किन माग्छौ ऋण तिमी अरु देशसँग सधै ?
गर्न देऊ त युवालाई उनकै क्षमतासँगै ।
उमेरसँगै गयो नि जवानी विदेशमा दुखको सिरानी
नेपाल आउँदा न घर न घाटको पारी दियौ किन यति बिरानी ?
सबैलाई समान अवसर र गरिखाने ठाउँ देऊ
अनि नेपाल अगाडि बढ्नेछ, सानो नेपाल विशाल हुनेछ
तिम्रो र हाम्रो जीवन एकनासले अगाडि चल्नेछ
सरकार र जनताबिच सद्भाव माया रहनेछ
देशमा युवाको हातले नयाँ परिवतर्नको बाटो खुल्ने छ ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)