
कोकाकोला/फ्याण्टा खाएपछि गोष्ठी सकिन्छ
लघु कथाः कवि गोष्ठी
पुरूषोत्तम पौडैल
कलैया ।
पियुश पौडेल केवल तीन वर्षको भएको थियो । तीन वर्षको भए पनि ऊ गफ गर्न उस्ताद थियो । यसो लेखपढ गर्न लागेको देखेपछि वरिपरी झुम्मिन थालिहाल्थ्यो । केही न केही सोधी रहन्थ्यो । केही न केही सिक्न खोजेजस्तो गर्थ्यो । एक दिन कलैया वजारमा भव्य कवि गोष्ठी आयोजना भएको थियो । म पनि कवि गोष्ठीको लागि कविता कोर्दै थिएँ ।
उसले नजिक आएर प्रश्न गरिहाल्यो, ‘बाबा ! के लेख्नु भएको हो ? मैले झट्ट जवाफ दिएँ, कविता लेखेको बावु ।’
उसले आफ्नो लागि पनि एउटा कविता लेखिदिन भन्यो । मैले पनि एक पाना लेखेको कागज उसलाई थमाइदिएँ । उसले आफ्नो खल्तीमा हालेर चपक्क च्याप्यो ।
म भोलिपल्ट खानासाना खाएर कपडा लगाउँदै थिएँ । उसले सोधिहाल्यो, ‘बाबा कता जाने हो ?’
‘कवि गोष्ठीमा’, मैले भनेँ ।
‘म पनि जान्छु’, उसले भनिहाल्यो । जाने जिद्दी गर्न थाल्यो । कपडा झिकेर लगाइवरी तयार भयो । उसको जिद्दीको अगाडि केही सिप लागेन । उसलाई कवि गोष्ठीमा लान बाध्य भएँ । उसलाई लगेपछि दिनभरी उसैको कुरामा झुमिरहनु पर्थ्यो । तर, पनि उसको अड्डिअगाडि मेरो केही सीप लागेन ।
म उसलाई पनि डोर्याउदै गोष्ठीतिर लागेँ । कवि गोष्ठी निकै रमाइलो थियो । तामझामसहितको तयारी थियो । वातावरण झकिझकाउ थियो । रमझम र झिलिमिली भएकोले उसले खासै समस्या पारेन । आनन्दसँग रमाउँदै कविता र गीत सुनेर बसिरह्यो । समय समयमा भोक लाग्ने उसको विमारी थियो । तैपनि कवि गोष्ठी भरी मैले उसलाई शान्तिपूर्वक स्याहारेर राखेँ ।
कवि गोष्ठीमा मैले पनि सानो मन्तव्य राखेँ । एउटा लघु कविता वाचन गरेँ । जब म कविता वाचन गरेर फर्कन लागेँ, ऊ पनि मञ्चमा चढेर कविता भन्ने कुरा गर्न थाल्यो । खल्तीमा हात हालेर हिजो मैले दिएको कागज झिक्न थाल्यो । म त दङ्ग परे । ऊ पनि कागजका अक्षरहरू हेरेर अभिनय गर्न चाहन्थ्यो सायद । खल्तीको कागज हेरेर रमाउन चाहन्थ्यो होला ।
उसलाई सम्झाउन हम्मेहम्मे !
पियुशले मलाई निकै समस्या पार्यो । ‘तिम्रो कवि गोष्ठीको पालो आऊन बाँकी छ । एक छिनपछि तिम्रो पालो आउँछ’ भनेर सम्झाउँदै मञ्चबाट तल झारेँ । कार्यक्रम जारी थियो । उसको कविता वाचन गर्ने इच्छा मरिसकेको थिएन । ऊ खल्तीको कागज हेर्दै थियो ।
केहीवेरमा कवि गोष्ठी सकियो । सबैलाई मिठाई वितरण हुन थाल्यो । उसले पनि एक पोका मिठाई पायो । मैले उसलाई लौ तिम्रो कवि गोष्ठी भनेर मिठाइको पोका थमाइदिएँ । लालमोहन, रसभरी, वुनिया आदी के के मिठाईले भरिएको पकेट थियो । पियुशले पनि स्वादसँग मिठाई खायो । आनन्दसँग मुख मिठ्यायो । हामी पनि मुख मिठो बनाएर घरतिर लाग्यौ । त्यस दिनदेखि ऊ कवि गोष्ठी भनेपछि हुरूक्कै हुन थाल्यो । सम्भवतः उसलाई मिठाईले आकर्षण गर्यो कि ?
जब म कवि गोष्ठीतिर लाग्न तयार हुन्छु । ऊ पनि चाँसो राखिहाल्थ्यो । कवि गोष्ठीतिर लागेको थाहा पाउने वित्तिकै आफु पनि जाने दावा गर्न थाल्थ्यो । उसलाई लिएर जान मलाई अलि कठिन हुन्थ्यो । तर, ऊ जबर्जस्ती गर्थ्यो । तारतम्य मिलाएर सुटुक्क हिँडिदिन्थेँ । उसको कवि गोष्ठीप्रतिको यति ठुलो लगावको अर्थ म बुझिरहेको थिइनँ ।
छुट्टीको दिन थियो । शनिबार । कवि गोष्ठी पनि प्राय छुट्टीको दिनमै हुन्थ्यो । त्यस दिन माओवादीको बन्द पनि परेको थियो । देवकोटा स्मृतिसभाले प्रत्येक महिनाको पहिलो शनिबार साहित्यिक सभा चलाउने गरेको थियो । खाली समयमा म पनि जाने गर्थेँ । उसले फेरि कवि गोष्ठीमा जाने अड्डी लियो । लिएर गएँ ।
त्यो गोष्ठीमा पियुश त्यति रमाएन । त्यस दिनको समारोहस्थल पनि सिँगारिएको थिएन । उसले त्यहाँ ठुलो रमझम पनि देखेन । तैपनि ऊ कार्यक्रम अवधिभर सजिलै अडियो । मैले पनि कविता पाठ गरेँ । ऊ ध्यान दिएर सुनिरहेको थियो । त्यसपछि प्रमुख अतिथीले बोलेर कार्यक्रम सकियो । कविहरू र अन्य सहभागीहरू उठेर हिँड्न थाल्नु भयो । सबै हिँड्न थालेपछि उसले अँध्यारो मुख लगाएर मतिर हेर्यो । ऊसले खोजेको कवि गोष्ठी बाँकी नै थियो तर कार्यक्रम सकिएको जस्तो लागेछ । ऊ अमिलो मुख बनाएर भुँईतिर फर्क्यो ।
म पनि उठेर हिँड्न थालेँ । उसले हिड्ने जाँगर देखाएन र मलाई प्रश्न गर्यो, ‘बाबा, बाबा ! कवि गोष्ठी खोई त ?’ यसको मतलव उसको कवि गोष्ठी सकिएको रहेनछ । उसले भन्न खोजेको कुरा मैले झट्ट बुझिनँ । मैले उसलाई सम्झाएँ, ‘अघि नै सबै मान्छे उठेर कविता सुनाएको देखेनौ । कवि गोष्ठी त्यही हो ।’
त्यत्तिमा उसले चित्त बुझाएन । उसले भन्यो, ‘रातो, सेतो मिठाई खाएपछि पो कवि गोष्ठी हुन्छ त ।’ ऊ भन्दै गयो, ‘कोकाकोला, फ्याण्टा खाएपछि पो कवि गोष्ठी सकिन्छ त ।’
मैले बल्ल कुरा बुझेँ । पसलतिर लगेँ । पियुशले पेटभरी मिठाई र कोक खायो । उसको कवि गोष्ठी सकियो । हामी घरतिर लाग्यौ ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)