
बाढीको आत्मकथा
कविता
सायुसुसन राई ‘चरन’
सुनसरी, हालः दोहा, कतार ।
म किसानको प्रिय छु ।
उसको र मेरो समीपता
धेरै गहिरो छ ।
म बिना ऊ
एकदमै एक्लो हुन्छ
त्यसैले म उसको रोमरोममा हुनु पर्छ ।
जब मेरो खाँचो पर्छ
तब जुनकीरी र भ्यागुतोलाई पुकारा गर्छ
अनि म ढुस्स ढुम्मिएर
खिसिक्क हाँस्दै
चमकचमक गरी
चम्किदै म
प्रलय हुने गर्छु ।
तर, तिमीले
म हिँड्ने गोरेटाहरूमा
मैले छोडेको मेरा विगत अबषेशहरूमा
आफ्नो हैकम जमाई मोडिदिएछौ
विभत्स तोडिदिएछौ, छेकिदिएछौँ
अनि म लाचार भई
नयाँ बाटो खोजी गर्दैँ हिँड्दा
म विनाशकारी भएछु
असत्ति भएछु
कैयौंको नरसंहारी भएछु
पापी भएछु
अनि निर्दयी भएछु
बाढी भएछु ।
तर, म त आफ्नै
पदचाप खोज्दै थिएँ
गोरेटो खोज्दै थिएँ
अनि उनै मेरो प्रिय साथी
किसानजनको उर्वर भूमि खोज्दै थिएँ
मुहान बनेर अविरल बग्ने खोला बनेर
हरेक बालीनालीलाई सिञ्चित गर्दै
भोक, रोग र शोक
सबै भगाउँदै
प्राकृतिक हुँदै ।
अप्राकृतिक रसायनले
उर्वर माटो नि
रुखो बनाई सक्यौ
शक्तिहीन बनाई सक्यौ
अनेकका विषादी हाली
गाई, गोरु र घर पालुवा निर्दोष जनावरको
अमृतसरी मल फाली
मैले हलुका बर्सिदा नै पग्लने
भइसके माटोहरू
छेकिदैछन् बाटोहरू
रुखो भएर
त्यसैले
मलाई नि दुख लागेको छ
पृथ्वीबासीसँग म विनाशी बाढी हुँदा ।
म त केवल
सधैं उनैको प्रिय छु
अनि तिम्रै सहाराको लागि आएथेँ
तर विनाशको लागि नभई
उन्नति गरी
रोग हटाई
भोक मेटी
निस्फिक्री सबैलाई
बचाउन आएथेँ
तर, अन्यथा भएछ
दुखी छु
म सारै दुखी छु, बाढी हुँदा ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)