
सुकिलो नीलबहादुरको ‘नीलो’ चरित्र
कथा
सुशीला शर्मा
झट्ट हेर्दा नीलबहादुरको व्यक्तित्व हराभरा नै देखिन्छ । लाग्दैन, उनी पैसठ्ठी वर्षका पुगे । सरकारी जागिर खाएर पेन्सन भइसकेका उनी घर परिवार, समुदाय, साथीभाई माझ विनम्र र अनुशासित अनि नियमको परिपालक भनेर चिनिन्छन् ।
कार्यकौशलता भएकै कारणले आफ्ना सन्तानहरुलाई पढाउन, लेखाउन कुनै कसुर बाँकी राखेनन् । त्यसैले नै आफ्ना पाँचै सन्तानले आफ्नो लक्ष्य हाँसिल गर्दै जीवनयापन गरिरहेका छन् । अहिले नीलबहादुुर नाती नातिनातिनाका हजुरबा पनि भइसके ।
नीलबहादुरको भेगमा उनी एक सभ्य, पठित, कुशल व्यवस्थापकका रुपमा प्रसिद्ध छन् । गाउँघरमा मर्दा पर्दा, सहयोग गर्नुपर्ने ठाउँमा पनि उनको अग्रसरता राम्रै हुने गर्छ । उनी यस्तो हुनुमा उनकी श्रीमतीको अहोरात्र खटाई, त्याग, श्रीमानका हरेक निर्णयमा समर्थन पनि प्रमुख हुन आउँछ । उनकी श्रीमतीले एउटा जिम्मेवार श्रीमती, प्रेमिका, सेविका बनेर श्रीमानका हर निर्णयहरुमा साथ दिईरहेकी छन् । उनी पढेलेखेकी होइनन् तर घर व्यवहारका हरेक परिक्षामा पास हुँदै आएकी छन्, महिला भएकै कारणले समाजले तोकिदिएको हर कार्यमा आफूलाई सहभागी गराएर ।
नीलबहादुरको सकारात्मक व्यक्तित्व जेष्ठताउन्मुख उमेर ढल्किँदासम्म पनि कायमै छ र अब उनी सामाजिक व्यक्तित्व भएका छन् । विभिन्न सभा समारोहमा पनि उनलाई आतिथ्यको लागि बोलाईन्छ । उनका मन्तव्यहरु सुनिन्छ ।
यी त भए नीलबहादुरका सकारात्मक देखिने जीवन । उनकाबारे सबैले राम्रै मात्र भन्छन् त ? नीलबहादुर राजनैतिक बहस गर्दा उनी कुन आदर्शलाई पछ्याउँछन् त भन्ने पत्ता लगाउन अहिलेसम्म पनि त्यस भेगका मानिसले सकेका छैनन् । एकदम कुटनीतिक तरिकाले कुरा गर्छन् उनी । जो कोहीले उनको भाषा बुझ्नै गाहृो पर्छ । सर्वसाधारणलाई उनी रिसाएका हुन कि खुसाएका हुन पनि थाहा हुँदैन ।
विगत २० वर्षजति अगाडि नीलबहादुरको आफूसँगै काम गर्ने सहकर्मीसँग ‘सम्बन्ध’ थियो रे यसो टोल छिमेकमा अलिअलि हल्ला चलेपछि उनको बाहिर देखिने ‘क्लिन’ व्यक्तित्वले गर्दा जोसँग उनको ‘चक्कर’ थियो, उनको चाँहि बदनाम भयो । तर नीलबहादुरलाई खासै फरक परेन् ।
फेरि त्यो घटनाको दश वर्षपछि पनि उनको लुकिछिपिवाला यौन चाहना र उनले कमजोर मानेका महिलामाथिको उनको नजर र व्यवहारमा भने फरक आएको छैन भन्छन्, चियो चर्चोबाट उनका ‘चरित्र’ पत्ता लगाउनेहरु । अनि घृणाचाँहि ती नीलबहादुरले उपभोग गरेका महिलाहरुलाई बढी गर्छन उनीहरु नै ।
(सत्यकथा, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



