ऊ मुसुक्क हाँस्छे, अझै धेरै सुन्न, जान्न उत्सुक हुन्छे

लघु कथाः सानीको कथा

दिला शाह
नेपालगन्ज, बाँके ।

घरभन्दा अलि पर खेतको आलीमा मेरी सानी र म बसेका छौँ । सानीलाई कथा सुनाउनु छ । आजको लागि सानीको कथा मेरो मनमा फुरिसकेको छ । म हात्तीको कथा भन्छु । उ चाख मानेर सुन्छेः

‘हात्ती मात्र यस्तो जनावर हो, जसलाई मानिसहरू गणेश भगवानको रुपमा पूजा गर्छन्, सम्मान गर्छन् । उसलाई देख्ने वित्तिकै प्राय मानिस अहिले पनि हात जोड्छन् । गाउँका मानिसमा यो कुराको अझै धेरै बिशेष आस्था छ । सहरका विकसित मान्छेको त कुरा नगरौं । यहाँ त गणेश भगवानलाई नै हात्ती भने पनि अनौठो मानिंदैन ।’

ऊ मुसुक्क हाँस्छे । अझै धेरै सुन्न, जान्न उत्सुक हुन्छे । म अगाडि भन्दै जान्छुः

‘जब हात्तीको यात्रा तय हुन्छ तब उसलाई कसैको प्रवाह हुँदैन । ऊ आफ्नो लक्ष्यमा पुग्नको लागि आफ्नो बाटोमा निरन्तर हिँडिरहन्छ तर उसलाई देखेर अन्य जनावरहरु कराउछँन् । चराचुरुङ्गीहरु चिरविर गर्न थाल्छन् । कुकुरहरु त झन् जोड ज‍ोडले भुक्छन् । यसैले भनिन्छ, यो संसारमा जसको सामु असल कुराहरु झुक्छन्, उसकै पछाडि खराब कुराहरू भुक्छन् । यो संसारमा जस्को धेरै स्तुति हुन्छ, उसकै धेरै निन्दा पनि हुन्छ । यो जरुर हो । यदि हात्तीको पछाडि भुक्ने कुकुरले मेरो भाषा बुझ्थ्यो भने म सोध्थे उसलाई ।’

सानीले हातका औंलाहरुले इसारा गर्छे, ‘के सोध्नुहुन्थ्यो ?’

‘किन यसरी भुकेको ? हात्तीसँग तिमीलाई के रिस छ ?’

उसको जवाफ के आउँथ्यो, त्यो पनि मलाई थाहा छ ।

सानी उत्सुक हुँदै फेरि, ‘के भनेर सोध्छे ।’

म भन्दै जान्छु, ‘उसले भन्ने थियो, मलाई हात्तीसँग रिस होइन । उसको अगाडि उभिएर उस्को स्तुति गर्दै हात जोडेकाहरुलाई देख्दा डाहा हुन्छ त्यसैले भुकेको ।’

ऊ जिल्ल परेर मुन्टो हल्लाउँछे ।

म भन्दै जान्छु, ‘यो कथा हात्तीको मात्र होइन । हाम्रो जीवनसँग पनि मेल खान्छ ।’

‘दुनियाँ यस्तै हो । मतलब गर्नुहुँदैन । यहाँ राम्रो काम गर्नेहरूको खुट्टा तान्नेहरु धेरै हुन्छन् । तिनीहरूको मतलब गर्नुहुँदैन । हात्ती आफ्नो बाटोमा निरन्तर हिँडिरहन्छ । न हात जोड्नेको अगाडि रोकिन्छ न त भुक्नेहरुलाई नै पछाडि फर्केर हेर्छ । बस् आफ्नो बाटोमा निरन्तर लम्किरहन्छ, त्यसरी नै हामी पनि आफ्नो लक्ष्य प्राप्तिको लागि निरन्तर अगाडि बढिरहनु पर्छ । न कसैको दबाबमा न कसैको अभावमा, बस् आफ्नै प्रभावमा अडिग रहन सक्नुपर्छ ।’

सानीले हात्तीको कथामा आफुलाई पाउँछे । ऊ खुसी हुन्छे । उसको खुसी देखेर म झनै खुसी हुन्छु । हामी खुसी प्राणी उठेर घरतिर लाग्छौ ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button