
असारे गाउने धुनमा छ किसान, हल गोरु दाउने धुनमा छ किसान
गजल
एक्लो प्रितम खड्का
रुपन्देही ।
रोपी मानो मुरी उब्जाउने धुनमा छ किसान
माटोसँग मितेरी लाउने धुनमा छ किसान ।
भोक प्यास थकावट छैन अहँ जिउमा कत्ति
प्रफुल्ल भइ शान्ति पाउने धुनमा छ किसान ।
घट्घट गरी अमिट बर्षा छाइरहिछिन् धरतीमा
मख्ख पर्दै हल गोरु दाउने धुनमा छ किसान ।
पीयूषरुपी वर्षा पनि संगीत तालमा रमाउँदा
रोपारसँगसँगै असारे गाउने धुनमा छ किसान ।
रोगीभोगी बुज्रुक सबको जिम्मेवारी आफ्नै ठानी
हरेक नेपालीको पेट छाउने धुनमा छ किसान ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)