भो ! म बन्दिन आमा, बरु बाँझै बस्छु

कविता: बरु बाँझै बस्छु म !

गीता खनाल
भक्तपुर, सृजनानगर

टुक्राएपछि आमाले
आफ्नै मुटु
जन्मिएका सन्तानहरु
बन्छन् माकुरा
र, कोतरिरहन्छन् आमाकै प्राण !

भाला उठाउँछ एउटा
र, रोप्छ अर्कोलाई
अनि, खेल्छ रगतको होली
ओकल्छ स्निग्ध ज्वाला
तर जलाउँछ आफ्नै बंश
अनि ताप्छ राप !

आफैले रोपेको बिरुवामाथि
बुरुक्क उफ्रन्छ बाबु
र, निमोठ्छ अबोध छोरीको गला
कुटिल नजरले घुर्छन् हजुरबुवा
एउटै लाम्टो चुसेको दाजु
हेर्छ आफ्नै बहिनी
अनि, ओकल्छ वैंशको विष !

छिद्रै छिद्र पर्यो मुटु
कसरी लुकाउ र अस्तित्व
कोखामा दाह्रा देखाएर
घुमिरहन्छन् रक्षकहरु
र झम्टेर पछार्छन्
विश्वासको कल्पवृक्ष
कसरी गरौ उपासना
र, बनौ आमा
भो ! म बन्दिन आमा
बरु बाँझै बस्छु म !

सलक्क निलेर तिम्रो अभिमान
लुकाउन मन छ सारा सृष्टि
आफ्नै पोल्टामा
पहिल्याउन मन छ सामर्थ्य
र, बाल्न मन छ आँखामा ज्योति
मेट्न मन छ शरीरभित्र कोरिएका
सृष्टिका सारा रेखाहरु
रोक्न मन छयो सृष्टि
अनि, जन्माउ तिमी
तिम्रो पुरुष कोखबाट
अर्को तिम्रै सृष्टि ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button