गोठालो बहुलाएको छ

कविता

राजु पंधाक लिम्बु
तेह्रथुम, हालः दक्षिण कोरिया ।

माटोको हरेक सुगन्धहरूलाई
मेरो मस्तिष्कको फेवातालमा
भरोसाको डुङ्गा बनाई
वाकस्वतन्त्रताको रङ्गमञ्चमा
समुन्नत विकासको सुरिलो धुन बजाउँदै
नमूना देश बनाउँछु भनेर
थुप्रै हुलहरूमा डुक्रिने गोठालो
हिजोआज बहुलाएको छ
हो, गोठालो बहुलाएको छ ।

कच्चा पर्दार्थलाई प्रशोधन गर्नसक्ने नौजवानहरूलाई
भलै सिमापारीका विशाल कंक्रिहरूमा
अश्वेत जुकाहरूले तारा खस्दा नारेर
जुन उदाउँदा बल्ल जुवा खोलिदिन्छ
त्यसैले
स्वभिमानको रगत धुमिल छ
आज अस्तित्वको शिर
झुकेको छ ।

अब, कर्णधार जन्मिने पाठेघरहरू
बाँझो हुन थालेका छन्
निरासाले बाबुहरूको शुक्रकिट सुक्दै छ
र, आशाका झोलाहरू मक्किएका छन् ।

तस्करहरूको बिगबिगीले
भुइँ मान्छेहरू चिथोरिन्छन्
भावनाहरू च्यातिन्छन् ।

कठै !
हरेक रोगको डाक्टर वैद्यमै हो भन्ने गोठालो
गुफाको अजिङ्गर भएको छ यतिखेर ।

त्यसर्थ
बेला बखत बितण्डा मच्चाउने गर्छ ऊ
असुरक्षित यौनीको गन्ध सुँघ्न चाहँदैन ऊ
राष्ट्र र राष्ट्रियताबीचको पर्खाल सम्याउन चाहँदैन ऊ
चेत उन्नत आवाज सुन्दैन ऊ
साम्राज्यवादले नङग्रा गाडेको,
विस्तारवादले घुर्यान मिचेको
साथै पूर्खाहरूको खुनपसिना लिलाम हुन लागेको वास्ता गर्दैन ऊ ।

किनकि,
नितान्त आफू कालजयी ओडारको बाघ भएको ठान्छ
ठान्न सक्नुहुन्छ
यतिखेर गोठालो बहुलाएको छ
हो, गोठालो साँच्चै बहुलाएको छ ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button