
‘मलाई लाज लाग्छ, हजुर हाउसवाइफ हो भन्नलाई’
गृहिणी कथा: दीपाको कार्यतालिका
सलुजा बस्नेत
एउटी गृहिणीको मूल्यांकन त परै जाओस्, पारिश्रमिकका बारेमा चर्चा अनि परिचर्चा हुँदा दीपाको दिमाग गरम हुन्छ । बिहान दीपाको घरमा यहि मुद्दामा कुरा भएको हुन्छ्र । कुरा गर्दा मात्र सबै हौसिने अनि त फेरि उही ताल । किनकि, दीपाले आफ्नै परिवारजनबाट पनि सोचेजस्तो सम्मान पाएकी हुँदिनन् ।
मास्टर डिग्री गरेकी दीपाले घरमा गृहिणीका रुपमा बिहानदेखि बेलुकासम्म खटिएता पनि उनलाई हेर्ने नजर आफ्नै घरका मान्छेका पनि त्यति राम्रो हुँदैन । उनी हप्ता दिनअघि आफ्नो छोरीले ‘मामु हजुर के गर्नुहुन्छ ?’ भन्ने प्रश्नको उत्तरमा ‘हाउसवाइफ लेख न’ भन्दा ‘नाई, टिचर लेख्छु म त, मेरा साथीका मामुहरु सब काम गर्नु हुन्छ, मलाई लाज लाग्छ, हजुरचाहिँ हाउसवाइफ हो भन्नलाई’ भन्ने छोरीको कुराले दीपालाई झन् थप तनाव दिएको हुन्छ ।
दीपाको अनुहार अँध्यारो हुन्छ । उनी छक्क पर्छिन्, ‘आखिर मैले यो घरमा भित्रिएदेखि झन्डै दुई दशकसम्म आफ्ना परिवारको जीवन सहज बनाएँ, तर के पाएँ त ?’ दीपाको यो प्रश्न उसका सरकारी सेवामा उच्च तहमा काम गर्ने श्रीमानलाई त पटक्कै थिएन र उनका घरका अरु सदस्यहरुलाई त झन् हुने कुरै भएन ।
दीपा सदा झैँ उनकी छिमेकी कला चटक्क परेर जागिरमा गएको देख्छिन् । कला घरको काम हतारहतार सबै भ्याउँछिन् । दिनभरको उनको कामको पारिश्रमिुँक पनि पाक्छ । घर तथा समाजमा पनि राम्रो प्रतिष्ठा छ । तर, कलालाई दीपाजस्तो पाहुनापासा आउँदा के पकाएर दिने, छोराछोरी स्कुलबाट आउँदा उनीहरुका रुची अनुरूपको खाजा तयार गर्ने, श्रीमान थकित भएर आउँदा तातो चिसो के दिने भन्ने तनावचाहिँ दीपालाई जति हुदैन र’छ । ओर्तिर र पर्तिर घर भएकाले दीपाले सजिलै कलाका घरमा मान्छे आएको गएको देख्न सक्ने र’छिन । दीपाले कलाको कार्यतालिका उसका घरपरिवारदेखि पाहुनापासा समेतले बुझिसकेका हुँदा रहेछन् भन्ने कुरा कलाका घरमा आका पाहुना आफै भान्सामा पसेर काम गरेको देखेर नै अड्कल काटिसकेकी हुन्छिन् । अनि कलाका बच्चाहरु पनि विना सिकायत खाजा खाने रहेछन् । श्रीमान पनि आफै भान्सामा पसेर तातो र चिसोको मात्रा नापेर खान जानेका हुँदारहेछन् ।
दीपा लामो सास फेर्छिन् र आफ्नो र कलाबीचको ठुलो खाल्डो देखेर छक्क पर्छिन् । किनकि, त्यो खाडल समय अनुसार पुरिनुको साटो झन्झन् बढ्दै गएको थियो । दीपा सोच्छिन् कि आफुले पनि घर र परिवारका बारेमा धेरै कुरा नसोचिकन एउटा काम बेलैमा टिपेको भए सबै कुरा कलाको झैँ आफै व्यवस्थित पो हुन्थ्यो कि ? तर दीपा अभिमन्यु झैँ भुमरीमा फसिसकेकी थिइन् जहाँ निस्कने बाटोको कुनै पत्तो थिएन । दीपाले आफ्ना परिवारको दिनचर्यालाई यति सजिलो बनाइदिएकी थिइन् कि १५-२० मिनेट पनि यसो पार्लरमा थ्रेडिंग गर्न जादा पनि दिनभरको सब कार्यतालिका डामाडोल हुन्थ्यो्र ।
यत्तिकैमा एक्कासी दीपाले छोराको आवाज सुन्छिन्, ‘मामु ! टोइलेटको फ्लश खोइ त बना’को ?’ दीपा सिरिङ्ग हुन्छिन् । समयमा मर्मत गरिएन भने थाकेर आएका दीपाका श्रीमानलाई रिसाउँछन् । उनलाई घरको तनाव पटक्कै मन पर्दैन ।
दीपा हतारहतार मोबाइलमा प्लम्बरको नम्बर डायल गर्छिन् । उनलाई त नम्बर कन्ठै छ ।
हजुर ! अब के लेखौं र म ?
त्यसपछि उही गृहिणीको पगरी धारण गरेकी दीपा र दीपाको कार्यतालिका ।
…
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)