मेरो टुक्रा टुक्रा निलेर आफुलाई तृप्त पार्नेछन्

कविता: चित्कार

विभा निरौला
हाल, ललितपुर ।

यो सुनसान-कोलाहलमा
मृत्युको सन्देश लिएर
एक झल्को राप मनमा पोलिरहेछ ।

छोपेर आशाका त्यन्द्राहरुले छोपिन्न यो
खेदेर सम्झाइका लहरहरुले खेदिन्न यो
ओहो ! कस्तो डरलाग्दो चाहना छ यसको
सन्त्रासले मुटु नै कमाइदिन्छ ।

भित्रभित्रै धमिराले काठ खाए झैं
खोक्रो बनाइरहेछ मेरो जिजिबिषालाई ।

भुलेर मेरो तनलाई अन्तै मोडिए हुन्थ्यो
बिर्सेर यो दृश्य च्यानल बदल्दिए हुन्थ्यो ।

सपना मानेर यसबाट मलाई बिउँझाइदिए हुन्थ्यो
तर अफसोच !
यो त मेरो ढोकाबाट भित्रै छिरिसकेछ
मेरो घांटीमा मन्त्र नि पढ़िसकेछ
अब भकभक उम्लिएको पानी लिएर
आउनेछ मेरो श्वास मेट्न
ऊ त्यो टलटल टल्किरहेको खुकुरी
मेरो गर्दनमा बजार्नेछ
एक प्रयासमा विफल भए
अधकल्चो मलाई फेरि प्रयास गर्नेछ
अनि मानवताको खोक्रो आदर्श छाँट्ने
यी विवेकशील-स्वार्थीहरु
मेरो टुक्रा टुक्रा निलेर आफुलाई तृप्त पार्नेछन्
मेरो अवशेषले आफ्नो अस्तित्व बलियो पार्नेछन् ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button