ईशा एकदमै खुशी थिई तर …

कथाः फेरिएका मानिस

सरिता दाहाल

केहि वर्षको माया विवाहमा परिणत भएकोमा ईशा एकदमै खुशी थिई । आफुले रोजेको मानिस जीवनसाथीको रूपमा पाउँदा जो कोहि पनि हर्षित हुन्छन् ।

बिहे भएको भोलिपल्टै सासु एक्कासी बिरामी भएर अस्पताल भइन् । ईशाको मन असाध्यै डरायो । नयाँ पारिवारिक परिवेश अनि घरमा त्यस्तो अवस्था । बुहारी कस्ती रहिछ भनेर औंला तेर्साउने बेला थियोे त्यो । भाग्यवस् सासुलाई केही भएन र चाडै घर फर्केर आइन् । घरमा खुशी फर्कियो । भर्खर अस्पताललबाट आएकी सासुलाई त्यसरी छोडेर काममा नजाओस भन्ने मनासाय घरका अन्य सदस्यहरुको भए पनि श्रीमानको सहयोग पाएर ऊ आफ्नो कार्यालय जान थाली ।

दिनहरु सुखमय थिए । र, सरल हिसाबले चल्दै थिए । आफुप्रति जेसुकै धारणा राखे पनि ईशाले सासुलाई जन्म दिने ममीजस्तै सोचेकी इिन् । कहिलै पनि उसले ममी र सासुमा फरक गरिन । सासु एकल महिला थिइन् । सासु उसलाई आँटिली, स्पष्ट र स्वाभिमानी लाग्थ्यो ।

कुनै चाडवाड होस् वा आमाको मुख हेर्ने दिन, सासुकै मनोभाव अनुसार काम गरिदिने बानी थियोे उसको ।

विवाह भएको पनि दुई पुरा भएर तीन वर्ष भइसकेको थियो । उनीहरु आफ्नो संसार सजाउन व्यस्त थिए । यतिकैमा उसको सासु फेरि एक्कासी बिरामी भएर अस्पताल भर्ना भइन् । भर्ना नै भए पनि त्यस्तो केही नहोला र पहिला जस्तै पुनः घर फर्किलिन् भन्नेमा सबै विश्वस्त थिए। तर, सोचेकोजस्तो कहाँ हुँदोरहेछ ? सासुको तुरुन्तै फेरि मुटुको अप्रेसन गर्नुपर्ने भयो भनेर डाक्टरले भने । यस्तो खबरले एक छिन त सबै सारै अतालिए । तर, पनि श्रीमानले धैर्यतासाथ अप्रेसनको चाँजोपाँजो मिलाए । सासुको रगत केही बाक्लो भएको कारण पातलो बनाउने औषधी प्रयोग नगरी अप्रेसन नहुने भयो । एक हप्ताको अस्पताल बसाईमा सासु र उसको आफ्नै खालको आत्मीयता बढेको महसुस भई अझ नजिकबाट चिनेको अनुभुति भयो उसलाई ।

‘तिमीले कति राम्रोसँग स्याहारसुसार गर्यौ, यतिसम्म र यसरी गर्छौ भन्ने लागेको थिएन’, मानिसहरुले उसलाई त्यसो भन्दा बोलीले भन्दा पनि कामले रिझाउन पर्दोरहेछ भनेर भित्रभित्रै आनन्दित भएकी थिई ईशा । हुन पनि सासुको हेरचाहमा केही कमी गरेजस्तो लाग्दैन उसलाई । राती सासु सुतेको बेला पनि सारै सजग भएर कस्तो छ भनी याद गरिरहन्थी ऊ । समयसमयमा खान खुवाउने, शौचालय जान डाक्टरले बर्जित गरेकोले यथास्थाननमा त्यसको व्यवस्था गर्ने दिनचर्या भएको थियो उसको । त्यसबाहेक भेट्न आएकाहरुलाई पनि कम बोल्न र सकारात्मक कुरा गर्न सुझाउँथी ऊ । यत्तिकैमा अप्रेसन गर्ने दिन पनि आयो ।

मुटुको पुनः शल्यक्रिया गरियो तर दुर्भाग्य लाखौं कोसिस गर्दा पनि बचाउन सकेनन उनीहरुले । अपरेसन गर्न चाहिने सामानको व्यवस्था जुन हिसाबले उसको श्रीमानले गरेका थिए, त्यो सब अर्थहीन भएको देखेर नमज्जाले रोयो उसको मन । हुन पनि आफ्नो प्राणभन्दा प्यारी ममीलाई बचाउन कुनै कसर राखेका थिएनन् श्रीमानले । जे नहुनु थियो, त्यहि भएकोमा उनीहरु हताश थिए । स्तब्ध थिए । साँझमा स्वर्गवास भएकोले राती नै अन्तिम संस्कार गर्ने निर्णय अनुरुप पशुपति लगे । रातको समयमा पनि आफन्त, इषटिमत्रहरुको उपस्थिति र सान्त्वनाका शब्दले दुखेको घाउमा केही मलम लाउने काम गर्‍यो ।

मंसिरको त्यो चिसो रातमा त्यही बस्ने चाँजोपाँजो मिलाउने आदरणीय अंकलहरु, देवरबावुहरुको सहयोगप्रति ऊ सदैव कृतज्ञ छे ।

सासु उनीहरु माझ नरहेको पिडा कम नहुँदै घरमा भएका अझ भनौ जसलाई सबभन्दा नजिकको, प्यारो, हरबखत सहयोग गर्ने सुखदुःख का साथी ठानेका थिए, उनीहरूको स्वभावमा अनपेक्षित परिवर्तन देखापर्यो ।

सासुको मृत्युसँगै धेरै कुरामा परिवर्तन भए । जो सबैभन्दा नजिक थिए, तिनै टाढा भए । जसलाई प्यारो, भद्र, मिलनसार ठानेका थिए, उनीहरुको अनौठो चरित्र देखियो । आमाको काम राम्रोसँग नगर्ने भो भनेर उसका श्रीमानलाई पनि अनावश्यक आरोप आयो । चिर निन्द्रामा रहनु भएकी आफ्नी ममीलाई राम्रो ध्येयसाथ बिशिष्ट तबरले अन्तिम संस्कार गरेका उसका श्रीमानलाई गलत अर्थले बुझियो । सम्पत्तिको नाममा ठासठुस शुरु भयो । बरु सारै कम भेटघाट र खासै आत्मियता नभएकाहरु नजिक भए । दुखको त्यो घडीमा उनीहरूको साथ, हौसला र सहि मार्गनिर्देशनले उनीहरुलाई सकारात्मक रूपमा अघि बढ्न मद्धत पुरायो ।

जीवनको गोरेटोमा घटेको त्यो नमिठो घटनाले अहिलेसम्म पनि कताकता पोलिरहन्छ । उसले राम्रो गर्दागर्दै पाएको त्यो उपहारले एउटा विशेष पाठ सिकाएको छ । हाम्रा र राम्राको फरक बुझाएको छ । धेरै कुरा जीवनमा अपरिहार्य भए पनि समय र परिस्थिति अनुसार के र कुन ठुलो भनेर थोरै भए पनि मापन गर्न सिकाएको छ । कहिल्यै कसैको कुभलो नसोची निरन्तर आफ्नो कर्मको बाटोमा हिँड्न उत्प्रेरित गरेको छ । जीविकोपार्जनका निमित्त धन अपरिहार्य भए पनि यो नै सबैथोक होइन रहेछ भन्ने आभास गराएको छ । झटट, हेर्दा राम्रो देखिने धमिराको घरको चरित्र भएका मानिसभन्दा सत्य, सहि, कडा तर स्पट बोल्ने मानिस नै ठिक लाग्न थालेको छ । परिवारमा बस्दा सबैको विचार नमिल्नु, कहिलेकाहीँ ठाकठुक पर्नुलाई स्वाभाविक मानी कसरी एकअर्कालाई साथ दिन सकिन्छ भन्ने कुरा सिकाएकोले पारिवारिक जीवन र योसँगै जोडिएका अन्ने सम्बन्धरुलाई सुन्दर ढंगले अघि बढाउने उमंग प्रदान गरेको छ ।

आज उनीहरु जेजस्तो छन्, खुशी छन् । आफूले भोगेकोजस्तो स्थिती अरु कसैले भोग्नु नपरोस् भनी कामना गरिरहन्छ्न् । किनकि, बाहिरी दुनियाँका मानिसभन्दा नजिककाहरुले रङ्ग बदलेको थाहा पाउन गाह्रो रहेछ । यति भन्दै गर्दा उसले आफ्ना जति सबै खराब हुन्छन्, धेरै पिडा उनीहरूले नै दिन्छन् भन्न कदापी खोजेको होइन् । उनीहरुको जीवनको त्यो घटनाले केही व्यक्तिलाई अवश्य टाढा बनायो । तर पनि निस्कपट, स्वार्थहिन व्यवहार र सहि मार्गनिर्देशन गर्ने मानिसको नजिक पनि गरायो । सबै मानिसको एकै मनसाय नहुँदो रहेछ । एकाध मानिस गलत हुन सक्लान् तर सबैलाई एकै तराजुमा कदापि जोख्नु हुँदैन भन्ने उनीहरुले राम्रोसँग बुझेका छन् ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button