त्यस दिन मैले घरको ढोका खोलिन

निबन्ध: यो मन मान्दैन

तीर्थ सिग्देल

आकाश खुल्यो तर मन खुलेन । मन पनि गजबकै हुँदो रहेछ । कहिले बाहिरी वातावरणले परिचालित गर्छ त कहिले शारीरिक अवस्थाले चल्छ । आज खै किन हो किन ? बाहिर वातावरण पनि सफा नै छ । भित्री अवस्था पनि उतिसारो बिग्रेको छैन । लगातार घरैमा बसिरहनु परेर पो हो कि ? हुनतः यस्तो बेला अलिकति मन खिन्न हुनु स्वाभाविकै हो ।

डोरबेल बजेको सुनिन्छ । बाहिर कुकुर भुकेको पनि आउँछ । को आएछ त यस्तो बेलामा ?

कोरोनाको त्रासमा बस्नु परिरहेको छ । बाहिर निस्कौं, लकडाउन छ । सरकारको आदेश मान्नु नै पर्छ । नमाने आफ्नै ज्यान जाने खतरा छ । धन्न पोहोर आफ्नै घरमा अफिस बनाएइछ । नत्र आज अफिसको कामको लागि हिड्नै पर्ने हुन्थ्यो । यस्तो जोखिमयुक्त समयमा बाहिरफेर निस्कनु यसै चुनौतीपूर्ण हुन्छ । तर, घरमैमा बसिरहँदा पनि समस्या नै हुने रहेछ । के गरेर दिन कटाउने ? पढ्ने, लेख्ने । यो पनि त बाह्रै घण्टा त सकिन्न नी । टिभी हेर्यो, आँखा दुःख्छ । मोवाइल हेर्यो भनेपनि आँखा र टाउको दुःख्छ । सुत्यो, दिउँसो कति सुत्नु ?

केही नगरी बस्यो, चिन्ता बढ्छ । अझ मन दुःख्छ । मन दुःख्यो भने गाह्रो हुँदो रहेछ । मन डरलाग्दो हुन्छ । अन्तर्मन दुःख र पीडाले आकुल व्याकुल हुन्छ ।

विषम मनस्थितिमा उज्यालो पनि अध्यारोजस्तो देखिन्छ । त्यतिबेला मन भारी भई गह्रौ हुन्छ र मस्तिष्क बोझिलो एवम् असावधान हुन्छ । कहिलेकाहीँ ठूलो उपलब्धिमा पनि मन खुशी देखिँदैन त कहिलेकाहिँ सानो कुरामा पनि मन खुशी देखिन्छ ।

मानवीय मन अति नै चञ्चल हुन्छ । हरक्षण त्यो मन हावासरह दौडिरहेको, उफ्रिरहेको हुन्छ । त्यसैले गर्दा कहिले मन अशान्त र दुःखी हुन्छ । कहिले मनभित्रभित्रै कलह भइरहेको हुन्छ । अन्तरद्धन्द्ध चर्किरहेको हुन्छ ।

शरीरमा लागेको चोटपटक सहन सकिन्छ । तर, आन्तरिक वेदनाले उब्जाएको दुःख, कष्ट र पीडाका कारणले मनमा भूकम्प नै आउँछ । यो बाहिर देख्न सकिँदैन । जब मानव मस्तिष्कले तीतो र खल्लो अनुभूति गर्छ । तब तर्क र विचारका मार्गहरू विपरीत दिशामा बहन्छन् । यसले गर्दा मानसिक कष्ट निम्त्याउँछ । त्यतिबेला ऊ आफैँमा भित्रभित्रै नैराश्यको गहिरो खाडलमा जाकिन्छ । जतिबेला व्यक्ति न साथीसंगीका साथ बोल्छ न आफ्नो कुरा नै व्यक्त गर्छ । ऊ जति एकान्तप्रिय हुन्छ, ऊ उति एक्लोपन महसुस गर्न थाल्छ । अनि एक्लै रोइकराई अश्रुधारा बगाउनु बाहेक केही गर्न सक्दैन । त्यतिबेला मन अति भारी भएर हतोत्साहित हुन्छ र निराशाजनक हुन्छ ।

मनको मैला जबसम्म स्वच्छ र निर्मल पार्न सकिँदैन । तबसम्म अन्तरकुन्तरमा रहेको विषयले मनमा ठाउँ ओगट्छ । त्यतिबेला आफ्ना दुःख र वेदना अरूलाई सुनाएर मनको व्यथा हलुका गर्न सकिन्छ ।
किनभने यो मन मान्दैन ।

बरु आँखाले मनको भाषा बुझ्छ । मनले अहएपछि आँखाले कुरा खोल्छ । तर, मन भन्दा कमलो हुँदो रहेछ आँखा । उसले त केवल देख्ने मात्र रहेछ । मनले यसो गर आँखा… अब तिमी रोऊ भनेपछि बल्ल उसले आँशु झार्छ । हुनतः त्यतिबेला आँखालाई त रोएको मात्र देखिन्छ । तर, खासमा मन नै रोएको हुन्छ । देह रुन्छ त्यतिबेला । खासमा मनलाई त्यतिबेला अफ्ठ्यो परेको हुन्छ । दुःख परेको बेला, चोट लागेको बेला, खोट लागेको बेला, जतिबेला पनि रुन्छ, मन । जतिबेला पनि झर्छ, आँशु । जतिबेला पनि रुन्छ, देह । दुःख्छ मुटु ।

मलाई लकडाउनको बेलामा एक्लै घरमा के गरेर बस्नु हुन्छ भनेर सोध्नुहुन्छ नी । त्यस्तो समयमा मन र आँखाको अन्तरसम्बन्धको खोजी गर्नु मेरो कर्तब्य हुन आउँछ किनभने मान्छेका मनका बारेमा कुरा गरेर न सकिन्छ न उसका ब्यवहारबारे धेरै चर्चा गर्न सकिन्छ । बरु उसले गरेका हर्कतका बारेमा सुनिएका कथालाई समेट्ने हो भने अर्को कथासंग्रह नै निकाल्न सकिन्छ । तैपनि म मनलाई आँखासँग जोड्ने तन्तुको बारेमा मनोबैज्ञानिकहरुको परामर्शमा लागिरेहेको छु ।

मान्छेका आँखालाई धेरै तरिकाले हेर्न सकिने रहेछ । बिशेषगरेर उसको बनावटका आधारमा र उसले गर्ने कामका आधारमा । यहाँ हामी बनावटतिर गइरहनु परेन । आँखाले गर्ने काम, कर्तब्य र अधिकारको खोजीमा लागौं बरु । अलिकति उसको अधिकारको मात्र कुरा नगरौ । उसको जिम्मेवारी पनि सम्झाऔं किनभने मान्छेजस्तै उसका आँखाले पनि काम गर्छ । कर्तब्य पूरा गर्छ र अधिकार जमाउन खोज्छ । कहिलेकाँही अलिक बढी अधिकार मात्र जमाउन खोज्छ । त्यतिबेला उसले कर्तब्य र जिम्मेबारी बिर्सन्छ । कहिलेकाँही आँखा निरिह पनि बन्छ । शरिरका अरु अंगजस्तै आँखाले पनि धोका खान्छ । त्यतिबेला आँखाले गलत सूचना प्राप्त गर्छ । त्यही मनलाई पठाइदिन्छ र मनले पनि धोका पाउँछ । त्यतिबेला मनले आँखालाई नै बढी बिश्वास गर्छ र मान्छेको मन दुख्छ । खासमा मान्छेले आफ्नो मनमाथि धेरै विश्वास गरेको हुन्छ । जसरी मनले आँखाको भर परेको हुन्छ । मान्छे त्यही आँखा र मनको सन्देशको पूरै भर पर्छ र अन्ततः लड्छ ।

भनिन्छ, आँखामा एउटा गजबको शक्ति हुन्छ । त्यो शक्तिको उसले कमै मात्र उपयोग गरेको हुन्छ । कतिपयको आँखाले शक्ति गुमाएको हुन्छ । जसोतसो उनीहरुले चश्माको प्रयोग गर्छन् र आफ्नो आँखाको गुमेको शक्ति फर्काउने प्रयास गर्छन् । त्यतिबेला त्यस्ता आँखाले गलत सन्देश पठाउन सक्छन् ।

मन पनि त्यसखाले भ्रमयुक्त सन्देशको भर पर्छ । अन्योलमा पर्न सक्छ । म बेलाबेला मनलाई आँखाको शक्ति परिक्षण गर्न अह्राउछु । मान्छेका आँखालाई बुद्धका आँखासँग तुलना गर्न खोज्छु । स्वयम्भूका दुई आँखाको बयान सुन्छु । बुद्ध र शान्तिको गाथा पढ्छु । बुद्ध र युद्ध नामको कविता पढ्छु ।

स्वयम्भूका दुइटा आँखाले न्याय अन्याय छुट्याएर हेर्छ रे भनेको कतै लेखेको पढ्छु । अनि ती आँखाको अर्थ केलाउन पुग्छु । थाहा हुन्छ, एउटाको अर्थ प्रेम र अर्कोको शान्ति हो । अनी कसैले गाएको गीत सुन्छु, नेपथ्य सगीत । सुन्छु अमृत गुरुंगका शान्तिका गीत ।

मनलाई फेरि भन्छु । अहँ… आँखाले कहिलेपनि धोका दिँदैन । उसले देखेको कुरामा पनि विश्वास नगर्ने हो भने कसको कुरामा विश्वास गर्नु ? अनि कान ? कानको त भरै हुन्न । ऊ त उडुवा कुरा मात्र गर्छ । अरुले भनेको कुरा मात्र सुनाउँछ । उसले आफैँ देख्दैन, सुन्छ मात्र । सुनेको कुराको भर पर्नु हुन्न । कानलाई कसैले नचाहिँदो कुरा सुनाएको पनि त हुन सक्छ नी । भनिन्छ, काग कराएको बेला कान छाम्नु रे । त्यतिबेला बरु आँखा खुल्लै हुन सक्छ । कसैले आँखामा पट्टी लगाएन भने सबथोक देखिन्छ । राति सुतेको बेला बाहेक आँखाले रामै काम गरेको हुन्छ । रातको त के कुरा गर्नु ? किनभने अँध्यारोमा त उल्लु मात्र जागेको हुन्छ । मान्छे उल्लु होइन । ऊ रातको धेरै भर पर्न सक्दैन । बरु दिनमै भएगरेका कामको भर पर्छ । हरपल आँखाको दृष्टि मात्र खोजिरहन्छ ।

सायद मानिसको सृष्टि नै आँखाबाट भएको हुनुपर्छ । नत्र उसले कसरी अरु कुरा देख्थ्यो र ? आँखा नहुनेले त केवल छामेर वा सुँगेर मात्र महसुस गर्छन् । उनीहरुले आँखाले नै देखेजस्तो अनुभूति गर्न सक्दैनन् । जसरी आँखा देख्ने मान्छेले देखेको कुरा सबै बयान गर्न सक्छ । दृष्टिबिहीनले त्यो सक्दैन ।

म फेरि प्रारम्भमा पुग्छु ।

आकास र मनबीच अचम्मको सम्बन्ध गाँसिएको हुन्छ । आकास धुम्म हुँदा मन पनि धमिलो हुन्छ । जतिबेला आकास खुल्छ, त्यतिबेलासम्ममा मन खुलिसकेको पनि हुन्छ । मनलाई अर्को शब्दमा चित्त वा देह पनि भनिन्छ । सायद त्यो शरीरको कुनै कुनामा हुन्छ । कसैकसैले यसलाई मुटुभित्र हुन्छ भन्छन् । यसको गहन अनुसन्धान हुनै बाँकी छ । अर्थात्, यसको खोज जारी नै रहेको छ । नत्र यो किन देखिँदैन त । यो अदृश्य हुन्छ ।

कहिलेकाँही बरु आकास खुल्ला मन खुल्दैन । मन कुन रसायनले बनेको हुन्छ होला ? मन किन मान्छेको बसमा हुँदैन होला ? यस्ता अनेकन प्रश्नले घर गर्छ त्यही मेरो मनमा । भनिन्छ, मानिस बुद्धिले चल्छ । दिमागले चल्छ । तर, त्यो दिमागले मनलाई किन चलाउन सक्दैन ? जसले मनलाई किन बशमा राख्न सक्दैन ? त्यसपछि मलाई यस्तो लाग्छ ।
हुनतः मन मुटुभित्र हुन्छ । मुटुको पत्रपत्रभित्र कसरी मन रमेर बसेको होला ? मुटु शरीरको अति नै संबेदनशील अंग हो । यसमा चोट लाग्यो भने सिंगो शरीर नै ढल्छ । शरिरको मुख्य संचालक भएको नाताले यसले निक्कै गौरव गर्दो नै होला । तर, यसले अझ संबेदनायुक्त बनाएर राखेको मनले कति घमण्ड गर्दो हो ।

मनशास्त्रीहरु भन्छन्, मनको मैलो धुन सकिन्न । जब मनमा मैलो लाग्छ । तब यसलाई धुने कुनै चिज बनेको छैन । न मनलाई साबुनले धुन सकिन्छ, न निर्मल कंचन पानीले पखाल्न सकिन्छ ।

कतिपय मानिस भन्छन्, मनलाई पखाल्नु नै पर्दैन । यो आफैंमा निर्मल र कंचन हुन्छ । केवल यसलाई हेर्ने आँखा सफा हुनपर्छ । मनलाई हेर्ने र बुझ्ने आँखामा कचेरा परेको हुनुहुन्न । आँखामा रतन्धो लागेको हुनुहुन्न । आँखाको सुरक्षाका लागि लगाइएको चश्मामा फोहोर लागेको हुनुहुन्न ।

कतै कसैले लेखेको देख्छु, मन त फिल्टर गरेको पानीजस्तै हो । यसलाई शुद्ध पारिरहनु पर्दैन ।

अनि म सोच्न बाध्य हुन्छु । मन यति शुद्ध हुनेभए किन मानिसले नराम्रो काम गरेका होलान् ? मनले सिंगो शरीरलाई गाइड गर्ने नै हो भने यति शुद्ध मनले किन मानिसलाई नराम्रो काम गर्नबाट रोक्न सकेन ? कसरी उब्जिन्छ मनभित्र अरुलाई निचो देखाउने भावना ? कसरी जन्मिन्छ, मनमा आफू सर्वेसर्वा बन्ने सपना ?
सायद मनले राम्रो नराम्रो दुबै सोच्न सक्छ । उसलाई कतिबेला के लाग्छ, थाहा हुन्न ।

…त्यस दिन मैले घरको ढोका खोलिन ।

लकडाउनको समय छ । यस्तो बेला कसैलाई घरमा स्वागत गर्न यो मन मान्दैन ।

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button