तर्किदा तर्किदै मृत्युसित

कविता

टीका आत्रेय

सन्नाटा भरिए खुसी धमिलिए छाना उडे भत्किए
सग्ला गाउँ टुटे मुहार सबका ऐना थिए चर्किए
आगाेझैँ खरकाे भई घरघरै सल्क्याे डढेलाे यहाँ
छैनन् हारगुहार अन्तिम घडी भागेर जाऊँ कहाँ

फाेक्साेकाे अवराेध स्वास कसरी फेरेर फर्कूँ भन
आगाेझैँ ज्वर सल्कियाे हृदयमा निभ्दैगयाे जीवन
छाती दुख्छ खसेर थिच्छ नभले अड्किन्छ याे धड्कन
पापी काेभिड विश्वकाे समरमा हारे कराेडाैँ मन

हुन्नन् लास उठाउने प्रिय सखा आफन्त काेही जन
आफ्नाकाे अनुहार अन्तिम घडी पाइन्न हेरी रुन
लासैलास जताततै विरहमा दुख्दैछ माटाे पनि
पानी बग्छ बनेर शाेकसरिता माया फुटेका घडी

जन्ती जीवनका र मृत्युपछिका जाे जाे मलामी थियाैं
मिथ्या सावित देखियाे कठिनले बाँच्याैँ र एक्लै मर्याैं
भेटिन्नन् गह यी चिसा पुछिदिने आफन्तका सान्त्वना
मात्रै मृत्यु लुकेर डस्छ घरका काेठा ढाेका झ्यालमा

लेखिन्छन् जति शब्द वाक्य तिनले बाेल्छन् कुरा मृत्युका
लेखिन्छन् कि त प्याक्क प्याक्क मुटु नै फुट्दै गरेकाे व्यथा
निस्के लस्कर एक एक शबका धर्ती स्वयं लास भाे
पृथ्वीकाे अनुहारबाट सधवा मुस्कान झर्दै गयाे

आफ्नाे लास उठाउँदै बगरमा आफैँ मलामी हुनु
आफ्नै शान्त चिता चुमेर कसरी त्याे दागबत्ती दिनु
आफ्नै नेत्र रुझाउँदै सजलले श्रद्धाञ्जली सुम्पिनु
यस्ताे दीन बनेर आज कसरी याे देह अस्ताउनु ?

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

4 Comments

  1. अन्तिम श्लोकले सोचमग्न बनायो ।आदरणीय कवि टीका आत्रेयज्यूको मार्मिक रचना ! सान्दर्भिक,सुन्दर!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button