मान्छे फेरि पनि नर्कको बाटो खन्न हतारमा छ

मृत्यु कविता-७

ठाकुर बेलवासे

मृत्युको जति डर छ
मान्छेलाई
नर्कको पनि उस्तै त्रास छ ।

मृत्युभन्दा
भयानक सम्झन्छ नर्कलाई
मान्छेले ।

गलत बाटो हिँडेर
गन्तव्यमा पुग्न अभिशप्त
जीवनका सम्पूर्ण अभीष्ट
अहिल्यै पुरा गर्न आतुर छ
मान्छे ।

आफ्नै जिन्दगीको कुरुयुद्धमा
ऐरावणजस्तो बाँचेको छ ।

आफैसँग तर्सिनुपर्ने
मान्छे
ठट्ठा गरिरहेको छ
आफैसँग ।

मृत्यु र नर्क सम्झदैमा
आधा उमेर मरिसकेको
मान्छे
डराउनु पर्छ
आफ्नै
मन
आँखा
हात
खुट्टासँग
अनि डराउनु पर्छ
आफ्नै
विवेक र कानसँग ।

आफ्ना सम्पूर्ण अवयवहरु
जिन्दगीविरुद्ध प्रयोग गरेर
आफैले बनाएको
नर्कको राजमहलसँग
भयभित मान्छे
मृत्युसँग भन्दा पनि
नर्कसँग भयाक्रान्त छ
फेरि पनि
नर्कको बाटो खन्न सधैँ हतारमा छ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button