
दरवारमा दिल्लगी
कथा
मणि लोहनी
यो आफैमा रोमाञ्चक अवसर थियो । नारायणहिटीदरवारमा एक रात बिताउने ।
दरवार संग्रालयका प्रमुख रोहित ढुगांनाको सौजन्यमा प्राप्त यो अवसर कुनै पनि हालतमा गुमाउनु थिएन । राजा वीरेन्द्र र उनका परिवारको वंश नाश भएको नारायणहिटी दरवार सधै रहस्यको गर्भमा रह्यो । रहश्यमयी दरवारमा २०५८ जेठ १९ मा भएको हत्याकाण्डको भेद अहिलेसम्म सुल्झिएको छैन । भन्न त दीपेन्द्रले हत्याकाण्ड मच्चाएको भनियो तर धेरैले पत्याएनन् । दरवार हत्याकाण्डको दुइचार वर्षमै मुलुकमा गणतन्त्र आयो र रहस्यको उत्खनन् हुनै पाएन ।
‘यो दरवारमा अहिले राजारानी छैनन् । तर यहाँ उनीहरुका स्मृतिहरु पक्कै छन्’ भन्ने सम्झेर दरवार छिर्नासाथ म रोमाञ्चित हुन्छु । उनीहरुले प्रयोग गरेका सामग्रीहरुमा उनीहरुका सम्झना झुण्डिएको हुनुपर्छ । दरवार परिसरमा कहिँकतै अझैपनि उनीहरुका पदचापका ध्वनीहरु सुनिन सक्छन् । मलाई राजा बीरेन्दको मुस्कान, रानी ऐश्वर्यको धमण्ड, दीपेन्द्रकोजोश, निराजनको निर्दोषपना र श्रुतीको सौन्दर्य सधै यादगार रहिरह्यो ।
खराव मान्छेलाई पनि मृत्युपछि प्रशंशा गर्ने नेपाली समाजमा दीपेन्द्र मात्र यस्ता मानिस हुन्, जसलाई मृत्युपछि निकै निन्दा गरियो । उनले गोली चलाए कि चलाएनन् कसैलाई थाहा छैन । शाही छानविन आयोगले भनेझै उनी हत्यारा नै हुन् की होइनन् त्यो पनि थाहा छैन । तर, त्यो जोशिलो युवा जो ढिलोचाँडो मुलुकको राजा बन्दै थियो, उसले आफ्नै बाआमा, भाइबहिनी र नातागोताको सामुहिक हत्या ग¥यो, भनियो । छापियो । त्यसपछि दरवार हत्याकाण्डको फेरि कहिल्यै अनुसन्धान भएन ।
नारायणहिटी दरवार संग्रालयका प्रमुख ढुंगानाले सुरुमा मलाई दरवारका अधिकांश हल र कोठाहरु घुमाए । तत्कालीन राजाले प्रधानमन्त्री, प्रधानन्ययाधीश, सभामुख लगायतलाई सपथ गराउने कास्की हल, पाहुनाहरुले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने र जलपान गर्ने पर्वत कक्ष, रात्रीभोजको आयोजना हुने लमजुङ हल र सुशोभन लगायतका विशेष समारोह मात्र हुने भव्य सजावटको गोरखा हल पु¥याए ।
‘यो चाहिँ राजाको सिंहासन हो । राजा वीरेन्द्रले २०४७ सालको संविधान यही सिंहासनबाट घोषणा गरिबक्सेको थियो’, उनी हौसिए ।
अवलोकनको अन्तिम चरणमा हामी लाग्यौं, सर्वाधिक चर्चा, चासो र रहस्यमा रहेको त्रिभूवन सदनतर्फ । जहाँ जेठ १९ मा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन र अधिराजकुमारी श्रुती लगायत राजपरिवारका १२ जनालाई गोली लागेको थियो । तत्कालीन राजा ज्ञानेन्द्रले भत्काउन लगाएको यो भवन जगबाटै पुनःनिर्माण गरिएको हो । सात सय ५४ रोपनीमा फैलिएको एक शताब्दीभन्दा पुरानो इतिहास बोकेको नारायणहिटी दरबारमा मलाई त्रिभुवन सदनमै रात बिताउन मन लाग्यो । तर मिलेन ।
उनले मलाई त्रिभुवन सदनसंगैको तत्कालीन युवराज दीपेन्द्रको कोठामा बस्न दिने भए ।
शुक्रबार अपरान्ह एक बजे दरवार पुगेको म, ढुंगाना सरसँग दरवार घुम्दाघुम्दै साँझको साढे ६ बजेछ ।
उनले मलाई स्कटल्याण्डको स्कच खाउँ भने, ‘राजा बीरेन्द्रले मलाई यसैमा बानी पारिबक्स्यो । सकभर अरु पिउँदिन । अरुमा मन पनि जाँदैन ।’
‘मैले त यसको नाम मात्र सुनेको हो’, मैले गिलास समाएँ ।
‘चेयर्स ।’
‘म त घर फर्किनु पर्छ, धेरै पिउँदिन, तपाई ढुक्कले पिउनुस्’, उनले मलाई हौसाए । म हौसिएँ त के भन्नु तर सामान्य अवस्थाभन्दा धेरै पिएँ । अरुको आग्रहलाई लत्याउन नसक्ने मेरो यही बानी मनुश्रीको मामुलाई मन पर्दैन ।
साँझ निकै छिप्पिएपछि त्रिभुवन सदनकै बगलमा रहेको दीपेन्द्रको कोठामा मलाई पु¥याएर उनी फर्किए । जानु अघि उनले भने, ‘म भोलि बिहानै आउँछु ।’ तपाई यहाँ राम्रोसँग निदाउनु होला । निद्रा नलागे दरवारको चकमन्नतामा केही लेखेर बस्नु होला । तर झुक्किएर पनि कोठा बाहिर ननिक्लनु है । फेरि अर्को कुरा, दरवारमा एक रात बिताएको यो घट्ना कहिल्यै कसैलाई नबताउनु होला ।’
मैले उनलाई ढुक्क रहन आग्रह गरेँ, ‘कुनै पीर नलिनुस्, यो एक लेखकको पागलपन मात्र हो । दरवारमा बसेर स्कच पिउने । जुन तपाईले पुरा गरिदिनु भो । यो हल्ला गर्ने होइन अनुभूत गर्ने विषय हो । म यहाँका रहस्य, भ्रम र सत्यलाई अनुभूत गर्न चाहन्छु ।’
‘भत्काएर फेरि बनाइएको यो भवनका कोठाभित्र के सत्य बाँकी होला र खै ?’, उनले उदेक माने, ‘यहाँ त हत्याकाण्डका स्मृति र झझल्कोहरु पनि राम्रोसँग रहन पाएनन् ।’
उनले ढकमक्क फूलले ढाकिएको श्रीसदनको आँगनको प्रशंशा गरे, ‘श्रीसदनको आँगनमा मात्र हो आनन्द लिन सकिने । त्यो आँगनमा रानी ऐश्वर्यले नियमित मयुरलाई चारो खुवाइबक्सिन्थ्यो । राजा वीरेन्द्रले हरेक साँझ त्यहाँआफै घाँस काटिबक्सन्थ्यो ।’
‘मैले लिने आनन्दबाहिरको सौन्दर्यमा होइन ढुंगानाजी, भित्रको रहस्यमा छ । दरवारको यो कोठाभित्र त्यस्तो के छ जसले मानिसहरुले भनेझै रहस्यमयी हत्याहरु भइरहन्थे यहाँ । मलाई त्यो अनुभूत गर्नुछ ।’
‘त्यस्तो त के अनुभूत होला र ? दीपेन्द्र सरकारको बिबाहको निक्यौल हुँदैथ्यो त्यो साँझ, दीपेन्द्र सरकारको इच्छाविपरित विवाह तय हुँदै थियो’, ढुंगाना दुखी देखिए, ‘सम्झाउन बुझाउनतिर नलागी सरकारले त्यस्तो गरिबक्सन्छ भन्ने कसले सोचेको थियो र ?’
‘तपाई पनि दीपेन्द्रलाई नै दोषी भन्नुहुन्छ ?’, म झोक्किएँ ।
‘तपाई रिसाउँदैमा सत्य फेरिदैन’, उनी गम्भीर बने, ‘तपाईले दीपेन्द्र सरकारलाई गरेको यही विश्वासले नै हो मैले तपाईलाई यहाँ एकरात बिताउने अवसर दिएको । कसैले थाहा पाए मेरो जागिर जान्छ ।’ उनी कोठाको एक छेउमा रहेको सोफाबाट उठेर अर्को छेउमा पुगे । त्यहाँ रहेको फराकिलो पियानोमाथि मुड्की बजार्दै भने, ‘साला गए पनि जाओस् यो जागिर, बीरेन्द्र सरकार हुँदाको त्यो तिलस्मी ज्वाज्वल्यमान दरवार र अहिलेको यो भूत बंगलाजस्तो चकमन्नता ।’
‘ल म गएँ’, रसिला आँखा काला खिरिला औलाले पुछ्दै उनी गए ।
उनी जानु भनेको दरवारको चकमन्नतामा म एक्लो हुनु पनि हो ।
मैले ढोका लगाएँ ।
बाहिर गेटमा रहेका प्रहरी जवानहरुलाई उनले दिउँसो नै कुरा मिलाइसकेका थिए । ‘यिनीहरु भित्र आउँदैनन्, तपाई बाहिर नजानु ।’ उनले मलाई दरवार छिर्दैसाथ बताएका थिए । प्रहरी जवानहरु मुखामुख गरेका थिए तर कोही केही बोलेनन् ।
गिलासमा एक प्याक स्कच थपेँ । पानी मनपर्दैन । आइस पग्लिसकेको थियो ।
निट पिएँ ।
०००
आफ्नै शरिर आफैलाई भारी लाग्छ ।
बिउँझिदा मलाई फरक अनुभूति भयो । हातहरु मोटा र छाती चौडा लाग्छ । सोचे, ‘स्कच राम्रैसँग लागेछ ।’
म उठ्छु र ऐना अघि गएर उभिन्छु ।
लौ के हो ? के भएको यो ? मैले हेरिरहेको ऐनामा त दीपेन्द्रको अनुहार पो देखिन्छ । कसरी यस्तो भयो ? (अचम्म … के भएको यस्तो ? म त पुरै दीपेन्द्र नै पो भएछु ।)
मैले झ्यालबाट बाहिर हेरेँ । सैनिक अधिकारीहरुको फर्याकफुरुक देखियो । सबै जवानकम्ब्याक ड्रेसमा सजिएका । सामान्य अवस्थामा डिउटीमा रहेकाहरु मात्र युनिर्फममा हुन्थे । आज के रहेछ कुन्नी ? सैनिक पोशाकमा अधिकांशनयाँ अनुहार देख्छु । गुल्ममा नयाँ फौज आएको हुनुपर्छ । तर, सर्कुलर हुनुपर्ने । नयाँ फौज आउँदा सबैको नाम, परिचय र तस्वीर दरवारका रक्षा सचिवले बुबाहजुरमा जाहेर गर्छन् । अनि बुबाहजुरले मलाई ‘नयाँ सेना कस्ता छन् हेर्नु ।’ भनीबक्सन्थ्यो । यसपाली सायद व्यस्तताले होला नयाँ फौज आएको खवर मसम्म आइपुगेन । (के हो यस्तो ? म त दीपेन्द्रले झैं पो सोचिरहेको छु ?)
होइन, यिनीहरुले किन त्रिभुवन सदनको बाहिर निरिक्षण गरिरहेका ? केही नयाँ संरचना बनाउने तयारी हो कि ? केही दिनअघि गार्डेनलाई रिनोभेट गर्ने कुरा भएको थियो ।
‘आज बेलुका अनिवार्य उपस्थितिका लागि हुकुम छ सरकार ।’ गजेन्द्रले भन्यो । ऊ मेरो होइन, दीपेन्द्रको एडिसी हो । तर, मलाई नै दीपेन्द्र मानेर खाइलाग्दो ज्यान र हँसिलो अनुहारको ऊ मेरो अघिपछि लागिरहेको छ ।
‘के रहेछ आज ।’ ओहो मेरो त स्वर पनि फेरिएछ । दीपेन्द्र नै भएँ त म ? कसरी यस्तो भयो ?? रातभरिमा यो के भयो ?
‘महाराजधिराजबाट विशेष घोषणा हुँदैछ रे’, उसले भन्यो ।
कस्तो घोषणा होला ? कि माओवादीविरुद्ध बुबाहजुरले सेना परिचालन गर्न लागिबक्स्यो ? मुमा हजुरले सेना परिचालनका लागि धेरैपल्ट भनिबक्सेको थियो । तर बुबाहजुरले कहिल्यै मानिबक्सेन । ‘उनीहरु पनि नेपाली हुन् । हाम्रै जनता । उनीहरुलाई सेना लगाएर मार्नु हुदैन । अन्ली डाइलग क्यान सल्भ द प्रब्लमस् । सम्वादबाटै समाधान खोजिनु पर्छ ।’ बुबाहजुरको यो भनाईबाट मैले देशभक्ति र जनताको सुरक्षा सर्वोपरी हो भन्ने बुझेको हुँ ।
केही सैनिक बेला बेलामा मेरो कोठाको आसपास आइरहन्छन् । उनीहरुको अनुहारमा कालो चश्मा छ । पोशाक पनि टिलिक्क टल्किएको । हाम्रा सैनिकले पोशाक मिलाएर लगाए भने निकै स्मार्ट देखिन्छन् । बुबाहजुरलाई निकै सुहाउँछ कब्याक्ट ड्रेस । यिनीहरुलाई पनि सुहाएको छ ।
ब्रेकफास्ट खाएर म गार्डेनतर्फ लागेँ । त्यहाँ भेटिएका अधिकाशं जवान पनि नयाँ अनुहारका ।
‘फौज फेरिएको हो ?’, मैले गजेन्द्रलाई सोधेँ ।
‘खोई सरकार, आज सबै नयाँ देखिरहेछु । यिनीहरुको गतिविधि पनि अलि बेग्लै छ’, उसले त्रिभुवन सदनभन्दा अगाडिको पोखरीमा उफ्रिएका रंगीन माछा हेर्दै भन्यो, ‘साँझको घोषणाका लागि यिनीहरुलाई झिकाइएको होला ।’
‘गतिविधि बेग्लै भनेको के ? के गरे यिनीहरुले ?’
‘त्यस्तो त केही होइन सरकार, तर यिनीहरु श्रीसदन र त्रिभुवन सदनसँगै क्याम्प खडा गरेर बसेका छन् । सायद भरे त्रिभुवन सदनमा महाराजधिराजको विशेष सम्वोधन हुने भएर होला ।’
‘बुबाहजुरको सम्बोधनका बारेमा तिमीलाई कस्ले भनेको ?’
‘मैले गाँइगुँई सुनेको सरकार’, ऊ निहुरियो ।
‘गाँइगुँई सुनेको कुरा पनि भन्ने हो ?’, मैले गाली गरेँ ।
ब्रेकफास्ट खाइसकेपछि म बुबाहजुरको कक्षमा पुगेँ । बुबाहजुर अफिस सवार भएको रहेछ । भेट हुन सकेन । मुमाहजुरको खोपीमा पुगेर मैले सोधेँ, ‘माओवादीविरुद्ध सेना परिचालन हुने लागेको हो ?’ उहाँ मुस्कुराइबक्स्यो, ‘तिमीलाई कति धेरै चिन्ता छ हगि, देशको ?’
म आफ्नै कोठामा फर्किएँ । दिउँसोको साढे एक बजेको थियो । रामकृष्णले खाना तयार भएको जानकारी गरायो । प्राय म यतिखेरै खाना खान्छु ।
‘सरकार, आज हजुरको बिहेको कुरा पक्का हुने रे’, खाना राखिदिँदै जमूनाले भनिन् ।
‘कस्ले भन्यौ तिमीलाई ?’
‘मैले गाँइगुँई सुनेको’, उनी लजाइन् ।
‘गाँइगुँई सुनेको कुरा पनि भन्दै हिँड्ने ?’, म फेरि रिसाएँ ।
मुमाहजुर अघि मुस्कुराइबक्सेको यही भएर पो रहेछ । मेरो विवाहको लागि मैले सबै जिम्मा बुबाहजुर र मुमाहजुरलाई सुम्पेको छु । ‘हजुरहरुले भनेको केटीसँग खुशी भएर म विवाह गर्छु । मेरो पर्सनालिटीलाई सुहाउँदो रानी हुन लायक केटी खोजिबक्स्योस्’, मैले दिएको बचनले मुमाहजुर निकै खुशी होइबक्सेको थियो । ‘यति असल हाम्रो युवराजको बारेमा, बाहिर चाँहि किन नचाहिने हल्ला चल्छ होला ?’
‘Future King should deal with all necessary and unnecessary talks about him. To overcome all such situations is a challange for our Prince.’‘भावी राजाका बारेमा चाहिने नचाहिने दुबै किसिमका हल्ला चल्छन् । त्यसलाई जितेर अघि बढ्नु हाम्रो युवराजको चुनौती हो ।’ बुबा हजुरले मेरो काँधमा धाप दिइबक्सिएको थियो । त्यसपछि मेरो बिबाहका बारेमा कहिल्यै केही कुरा भएको मलाई थाहा छैन ।
दिउँसो दुई बजेपछि म बुबाहजुरको अफिसमा गएँ । तर भेट भएन । फेरि मुमाहजुरको खोपीमा गएँ । ‘किन तिमीलाई सञ्चो छैन ?’, मुमाहजुरले सोधिबक्स्यो ।
‘I am good. Are any talks about my marriage is happening today?’ ‘म ठिक छु । के आज मेरो बिहेको कुरा हुन लागेको हो ?’
‘होइन, कसले के भन्यो र तिमीलाई? तिम्रो बिहे अर्को वर्षका लागि गुरुपुरोहितले जुराएका छन् । अहिलेदेखि किन हतार गर्नु र ?’ मुमाहजुर मुस्कुराइबक्स्यो । बुबाहजुरले गर्ने अधिकांश निर्णयहरु मुमाहजुरलाई जानकारी हुने गरेको छ । कहाँसम्म भने २०४७ को संविधानको प्रस्तावनामा समेत मुमा हजुरले दुई शब्द थप्न लगाइबक्सेको थियो । मुमाहजुरकै प्रस्तावमा बुबाहजुरले हतियारको कारखाना नेपालमा नै खोलेर एसेम्बल हतियार दक्षिण एशियामा बिक्री गर्ने तयारी सुरु भएको हो । माओवादीसँग एककिसिमको सहमति गर्ने र शान्तिपूर्ण समाधान निकाल्ने बुबाहजुरको प्रयासका लागि मुमाहजुरलाई कन्भिन्स गर्न निकै समय लागेको पनि मलाई याद छ ।
मलाई झन खुल्दुली भयो । बुबाहजुरले मुमाहजुर र मलाई पनि जानकारी नदिई के घोषणा गर्न लागिबक्सेछ । पछिल्लो दुई बर्षदेखि उहाँले हरेक कामकाजमा मलाई सरिक गराउँदै आउनु भएको छ । उहाँले मलाई भावी राजाका रुपमा अरुको अघि प्रस्तुत गरिरहँदा म भने निकै दुःखी हुन्थ्ये । उहाँको शेषपछि मात्र राजा हुने अवसर मलाई मिल्थ्यो । प्रचलन र परम्परा नै त्यस्तै । तर, म उहाँको स्वर्गारोहणको कल्पना पनि गर्न सक्दिन । दोस्रो पटक उहाँको हर्टमा समस्या आएपछि उहाँले मलाई हरेक क्रियाकलापमा अगाडि सारिबक्सेको हो ।
‘आज त नियमित भोज पो रहेछ ।’ पाँचबजे गजेन्द्रले भन्यो, ‘सामान्य राजनीतिक घोषणा होला । प्रधानमन्त्री र प्रधानन्यायाधीशलाई पनि निमन्त्रणा छ रे ।’
‘फेरि तिमीले गाँइगुई सुन्यौ ?’ झर्किएँ । उ केही बोलेन । निहुरियो ।
अगाडि रुखमा चराहरु जिस्किरहेका थिए । मेरो झ्यालबाट देखिने यी अग्ला रुखहरु सधैं चराहरुले भरिभराउ रहन्छ । चराकै रुखजस्तो । रुखभरि चराहरुफलेझैं ।
‘सरकार तयार होइबक्स्योस्’, निकैपछि उसले भन्यो ।
औपचारिक कुनै जानकारी थिएन । नियमित भोज हो भने क्याजुअल ड्रेस नै लगाउनु प¥यो । उस्तै परे रात छिप्पिएपछि केटापार्टी नाचगानमा उत्रिन्छौं ।नाम मात्र केटापार्टी, बहिनीहरु र बुहारी पनि यही ग्याङमा मिसिन्छन् ।मैले नीलो जिन्स र ह्वाइट लाइनर टिर्सट लगाए ।
‘प्रधानमन्त्री र प्रधानन्यायाधीश नआउने रे’, गजेन्द्रले फेरि नयाँ गाईगुई सुनेर आयो । मैले केही भनिन । बाहिर रुखमा देखिएका चराहरुको चर्तिकला हेरेर बसिरहेँ । साँझमा चराहरुको चञ्चलता निकै प्रिय लाग्छ मलाई ।
‘ए, के गरेको गजेन्द्र’, म कराएँ । उसले मलाई पछाडिबाट मरक्क समातेको थियो । मलाई झनक्क रिस उठ्यो । मैले पछाडितिर धकेल्दै उसलाई भित्तामा ठोक्काएँ र लडाएँ । गजेन्द्र होइन रहेछ । मैले नचिनेका दुई जना सैनिक थिए ।
‘के भो ? के गरेको ?’ म झोक्किएँ । उनीहरु बोलेनन् । र कन्चटमागन तेर्साएर उनीहरुले मलाई कन्ट्रोलमा लिए । मलाई चुपचाप बसिरहन इशारा गरे । रुमभित्र म एक्लै थिएँ । केही गर्न सक्ने अवस्था थिएन । मैले आफ्नो गन निकाल्न भ्याइन । मेरो इमरजेन्सी ब्याग कता राख्यो गजेन्द्रले ? रामकृष्ण पनि देख्दिन । दुवै छैनन् । कता गए ? के भइरहेको यो ? मैले केही भेउ पाउन सकिनँ ।
‘तिमीहरु को हौ ? के गर्न लागेको ? तिमीहरुलाई चाहिएको के हो ? यहाँसम्मको एक्सेस कसरी पायौ ?’ मैले सोधेँ । उनीहरु केही बोलेनन् । केहिबेरको सन्नाटापछि एउटा बोल्यो,’Don’t even utter a single word. Not just you, the whole Palace is under our control. Every thing is going to finish in a while. Sorry, Prince.’ ‘तिमी केही नबोल, तिमी मात्र होइन पुरै राजदरवार हाम्रो कब्जामा छ । अहिले केहीबेरमा सबै समाप्त हुदैछ । माफ गर युवराज ।’
अंग्रेजीमा बोलेको उसले ‘सबै समाप्त हुँदैछ’ भनेको के हो ? किन मसँग माफी मागिरहेको छ । जीवनमा पहिलो पटक मलाई डर लाग्यो ।
ड्याम्म… ड्याम्म… ड्याम्म ….
गोलीका केही आवाजहरु आए । उनीहरुले अघि नै झ्याल र ढोका बन्द गरिसकेका थिए ।
ड्याम्म… ड्याम्म… ड्याम्म ….
गोलीका आवाज झन बाक्लियो । के अनिष्ट भएको होला यो ? म आफ्नै रुममा किन बन्दी भइरहेको छु ? के दरवार माओवादीले कब्जा ग-यो ?
उनीहरुकै कब्जामा रहेको मलाई उनीहरुले फेरि बेस्करी समाए र भित्तातिर फर्काए । मैले जति नै बल गरे पनि उनीहरुबाट फुत्किन सकिन । उनीहरुले मेरो अनुहारलाई लगभग पुरै भित्तामा धसाएका थिए । त्यैतिकैमा कोठाको ढोका खुलेको चाल पाउँछु । केही मानिसहरु भित्र छिरेको आवाज आउँछ । कसैले मलाई पछाडिबाट कञ्चटमा पेस्तोल तेर्साउँछ ।
‘If you have guts, shoot me from the front.’ ‘हिम्मत छ भने अगाडिबाट गोली हान न ।’ म चिच्याउँछु ।
‘ड्याङग ।’
उसले ट्रिजर दबाएको हुनुपर्छ । म डङरङ्ग भूईमा ढल्छु । सकिनसकी आँखा खोल्छु र अगाडि पेस्तोल लिएर उभिएको मानिसको अनुहार हेर्छु ।
ओहो …. चिन्छु म उसलाई । म सम्झिन खोज्छु … सँधै देखिरहेको … भेटिरहेको अनुहार । तर, नाम सम्झिन किन सकिरहेको छैन ? के मेरो मृत्यु भइसक्यो ? किन मेरो मस्तिष्कले उसको नाम सम्झिन सकिरहेको छैन ? परिचित यो अनुहारलाई मैले ‘यो हो’ भनेर सम्झन सक्नु पर्ने नि । त्यो पनि सकिरहेको छैन । के भयो ? किन यस्तो भयो ? उसको अनुहार र नाम दुबै मलाई थाहा छ तर भित्र सम्झिएको यो अनुहारको नाम ठम्याउन सकिरहेको छैन । कस्तो असमजस्यको अवस्था यो ?
आँखाले आफ्नो शक्ति धरमराउँदै गयो । मानिसहरु बोलेको कराएको सुनेँ पनि प्रष्ट देखिन । केही बुझ्ने र सम्झने शक्ति बाँकी रहेन । ‘मलाई गोली हान्ने त्यो मानिस मैले चिनेको छु,’ मलाई सम्झना भएको यत्ति हो । तर उसलाई चिनेर पनि चिन्न सकिनँ मैले ।
०००
कसैले ढोका ढकढकाएपछि म ब्युझिएँ । हत्तपत्त ढोका खोलेँ ।
‘दरवारभित्रको रात कस्तो रह्यो, मणिजी ?’, मुस्कुराउँदै ढुंगाना सर छिरे, ‘आज जेठ २० । दरवार हत्याकाण्ड भएको २० वर्ष भएछ ।’
मैले ढुंगाना सरलाई रातको अनुभव सुनाउन सकिनँ ।
सुनाएँ भने उनलाई कस्तो लाग्ला ? के कसैले पत्याउला जेठ १९ को रातको मेरो अनुभवको यो बयान ?
…
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)
अति मार्मिक र सत्य घटनाको उजागर !!