
बाँड्यौ ईश्वर बाइबल, कुरान, वेद र त्रिपिटकमा, त्यसमा पनि म बोलिनँ
कविता: भाग र मानवता
सुमन घिमिरे ‘अग्रिम’
सर्लाही ।
निकै अबेरसम्म
सोचेँ –
भाग लगाएपछि मिल्छन् धेरै कुरा
र, म बोलिनँ ।
तिमीले-
लगायौ झन्डा र विचारमा भाग
स्विकार्दै आएँ
लगायौ भूगोलमा साँध र सिमाना
मौन रहेँ त्यहाँ पनि ।
बाँड्यौ ईश्वर
बाइबल, कुरान, वेद र त्रिपिटकमा
त्यसमा पनि म बोलिनँ
लाग्यो-
कित्ता छुट्याएपछि सबै कुरा मिल्छ !
गरायौ शाश्वत भन्दै अभ्यास पनि
तर, भएछ भूल त्यहीँनिर
जहाँ,
मान्छेको कित्ता छुट्टियो
र, बेसरी छट्पटायो मानवताको प्राण
कित्ता छान्न नसकेर ।
रेटिएछ त्यही दिन घाँटी मानवताको
जुन दिन
पटक पटक अभ्यास गर्दै
मान्छे लामबद्ध भएर आ-आफ्नो हिस्सा रोज्दै थिए-
कालो लमतन्न सडकमा निकै पाउने आशामा ।