टोली त्रिचन्द्र कलेज पुगेर अडियो

लघुकथाः अभियन्ता

लीलाराज दाहाल
बागमती ११, कर्मैया, सर्लाही ।

एक दिन रत्नपार्कको पुरानो बसपार्कमा केही मानिस भेला भए । उनीहरुले एकै प्रकारका पोशाक र टोपी लगाएका थिए । गन्जीको अगाडिपछाडि दुवैतिर र टोपीमा सरसफाई अभियान लेखिएको थियो ।

‘आफ्नो टोल–नगर सफा राखौं’ भनेर लेखिएको प्लेकार्ड पनि बोकेका थिए । उनीहरुको उद्देश्य भनेको धुमपान, मद्यपानलाइ निरुत्साहित गर्नु, सरसफाईको महत्वलाइ जनस्तरमा पुर्याएर जनचेतना जगाउनु हो भनेर बताइएको थियो ।

उनीहरु पुरानो बसपार्क, रत्नपार्क, जमल हुँदै त्रिचन्द्र कलेज पुगेर अभियान समापन गर्ने सल्लाह गरी सडक छेउका फोहरमैला टिप्दै, प्लेकार्ड देखाउँदै, फोटो खिच्दै हिँडिरहेका थिए । टोली त्रिचन्द्र कलेजअगाडि पुगेर अडियो ।

हात हातमा बोकेका प्लेकार्ड भुँईमा राखेर उनीहरुले बोतलको पानीले हात धोए । कसैले चुरोट सल्काए । कसैले बिस्कुटका प्याकेट झिके । कसैले चाउचाउ निकाले । अनि कसैले विदेशी मदिरा गिलासमा खन्याएर, कसैले बोतलबाटै पिउन थाले ।

हल्का बिश्रामपछि उनीहरु अगाडि बढे ।

उनीहरुले खाएरफालेका बिस्कुट, चाउचाउका खोल, पानी र मदिराका खालि बोतलहरु भने सडकभरि जताततै छरिएका थिए ।

(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button