गणतन्त्र लाजले मुख रातो बनाउँदै सिंहदरबार छिर्दै थियो

कविताः गणतन्त्र

कविता पन्थी

ठूला अनि धनी नेताको भाषण सुन्न
गाउँबाट शहर आएकी
आमसभाको बीचमा हराएर
काखे बच्चाको साथमा अलपत्र
कान्छीले सोध्दै थिइन्
यही हो गणतन्त्र ?

धनी मालिकको अन्याय सहन नसकी
न्यायको लागि सडकमा उत्रिएका
कृषकले सोध्दै थिए
यही हो गणतन्त्र ?

छोराको हत्यारालाई कारवाही गर्न
अनसनमा बस्दाबस्दै ज्यान गुमाएका,
कलिली छोरीले भोग्नुपरेको पीडाको
न्याय खोज्दै आँखामै आँसु सुकाएका
आमाले सोध्दै थिए
के यही हो गणतन्त्र ?

देशमा रोजगारी नपाउँदा
मास्टर्सको सर्टिफिकेट बाक्सामा कोची
खाडी जाँदै गरेको युवाले
इशारामै सोध्दै थिए
के यही हो गणतन्त्र ?

ठिक त्यतिबेला नै
विदेशबाट बाकसमा फर्किएको
आफ्नो छोराको शव देखाउँदै
वृद्ध बाबा कलिली बुहारी र काखे नातिलाई
देखाउँदै भन्दै थिए-
देख्यौ त गणतन्त्र !

यो सब चुपचाप देखिरहेको
गणतन्त्र भने
लाजले मुख रातो बनाउँदै
सिंहदरबार छिर्दै थियो ।

(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

One Comment

  1. पृथ्वीकै उत्कष्ट छ, अन्य अर्थ नलागोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button