
हाँसिरहनू सगरमाथा ! म अन्नपूर्णा र माछापुच्छ्रेलाई पनि त्यसै भन्छु
कविता / सगरमाथा तिमी
राजेन्द्रमान डंगोल
हाँसी रहनू सगरमाथा तिमी !
म अन्नपूर्णा र माछापुच्छ्रेलाई पनि त्यसै भन्छु
नत्र कोशीले सुक्नुपर्छ
मोदीले पनि रित्तिनुपर्छ
म पनि त युग–युग बाँचि रहने छु
नत्र मेरो कलमले पनि यहीँ रोकिनुपर्छ ।
तिम्रो शिरमामाथि बादल घुमिरहने छ
कोशी निरन्तर बगिरहने छ
तिमी धूपी र सल्लाको हरियालीमा सजिएर बस,
तिमी लाली गुराँस सिउरिएर बस
तिमी कोशीमा प्रतिविम्ब सँगालेर बस ।
हरेक दिनको सूर्योदयसँगै
प्रकृतिका सौन्दर्य सिर्कामाँझ
तिम्रै मधुर मुस्कानको आभासमा
अहोरात्र माया प्रितीका लहरहरु बोकेर
न्यानो आतिथ्यको ढोका खोल्दै
नाम्चे बजार
पाहुनाहरुलाई
हार्दिकता पस्किरहेछ
र, छर्किरहेछ सुन्दर भावना ।
तिमी कुहिरोसित लुकामारी गर्दा
मलाई पनि
तिमीसितै केहीबेर लुक्न मन छ
सूर्यको किरणसँगै
जीवन ताजापनमा घोलेर
एक क्षण तिमीले फेरेको रुप
सँगै बसेर हेर्न मन छ
अनि, स्वप्निल तरङ्गहरुमा
आफैँभित्र रङहरु भर्ने धोको पनि छ ।
फेरि मलाई
तिम्रो छातीमा निधार ठोक्काएर
एउटा रक्ताम्मे इतिहास भर्नु छ
मेरो रगतको रङलाई तिमीले आकाश भरिदिनू
यसरी नै मेरो जीवनमा आयाम थपिदिनू ।
त्यसैले,
म आउदैछु सगरमाथा
साँच्चै, म आउँदैछु
तिम्रो सेरोफेरोको
छ्योत्र्तेन र गुम्बाहरुलाई
दाहिने पारेर आउदै छु
त्यतिखेरसम्म तिमी बसाइँ नसर्नू ।