
रातो रगत सेतो रगत
कविता
मीरा प्रसाईं
सृष्टिका निम्ति निरन्तर
सृष्टिद्वारा नै संचालित हुँदा
योनीबाट रातो तरल बग्नु भनेको
नछुने हुनु,
अपवित्र हुनु हो भने,
ओ समाज !
लिङ्गबाट बग्ने सेतो तरललाई पनि
अब तिमीले नछुने भन्न सक्नु पर्छ, पुरुषले पनि
नछुने बार्नु पर्छ ।
सक्छौ भने,नछुने
का नाउँमा हुने अनेकौं विभेद,
अनेकौं अपराधका विरुद्ध
मेरो कलमले शब्द क्रान्ति गर्दैन ।
सक्दैनौ भने,
आऊ
`नछुने परम्परा´को अन्त्यष्टी गरेर
बागमतीमा अस्तु बगाउ ।
संस्कारको आडमा
पितृसत्ताको बागडोर सम्हालेका
तिमीद्वारा संचालित आमाहरूलाई भन्न्
-लिङ्गबाट सेतो तरल जस्तै
योनीबाट रातो तरल बग्नु भनेको
सृष्टिको शुभ शुरूवात हुनु हो
किनकी,
हरेक शुभ कार्यको सुरुवात
नछोएर होइन
गणेशजीलाई छोएर गरिन्छ
ॐ गणेशाय नम : ।