
लीलाराज दाहालको ‘कार्ड’
लघुकथा
यात्रु प्रतिक्षालयमा सार्वजनिक बस आएर रोकियो । बस पर्खनेहरुको भिड थियो । बलिया युवायुवतीहरु त ठेल्ठाल् गरी बसमा चढे । एउटा खुट्टा काटिएर बैशाखी टेक्ने शारीरिक अशक्त शिव र जेष्ठ नागरिकहरुलाई बस चढ्न निकैबेर लाग्यो । उनीहरु बडा सकसले बल्लतल्ल बसमा उक्लिए ।
बसभित्र पनि भिडभाड थियो । अशक्त र जेष्ठ नागरिकलाई छुट्याइएको सिटमा त युवायुवती पो आनन्दले बसिरहेका थिए । यहाँ पनि निकै लामो तर्क बितर्कपछि मात्र उनीहरुले आफ्नो आरक्षित सिट भेट्टाए । बसका चालक सहचालकहरुका कर्कश हप्काईले पनि यात्रुहरु पिडित भएर यात्रा गर्दै थिए ।
सहचालक भाडा उठाउंँदै आयो । फेरि पनि सहचालकको ओठबाट विवादको कर्कश ध्वनी निस्कियो । बृद्धबृद्धाले यत्ति भनेका हुन्, ‘हामी जेष्ठ नागरिक हौँ । भाडामा सरकारले तोकेको सहुलियत देऊ ।’
अशक्त यात्रु शिवले पनि यत्ति भनेको हो, ‘म अशक्त हुँ । भाडामा छुट गर ।’
सहचालक च्याँठिएर कर्कश स्वरमा बोल्यो, ‘कार्ड छ, कार्ड ??’
बृद्धबृद्धाले त जेष्ठ नागरिक परिचयपत्र बोकेका रहेछन्, देखाए । तर उसले अशक्त परिचयपत्र बोकेको रहेनछ । सहचालक फेरि चर्कियो, ‘कार्ड बिना पाइन्न छुट !’
‘मेरो एउटा खुट्टा छैन । यी हेर ! घुँडामाथि काटिएको ठुटो । बैशाखी टेकेर हिंड्छु । म शारीरिक अशक्त होइन ?’
यतिखेर शिवको मनको आकाशमा आशंकाको बादल मडारिन थाल्यो ।
सहचालक भने अझै भन्दै थियो, ‘तपाईंको खुट्टा होस् कि नहोस् , मलाई के मतलब ! मलाई त कार्ड चाहिन्छ , कार्ड !’
…
(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)