आऊ, हामी मृत्यु साटासाट गरौं

कविता
शुभलक्ष्मी लम्साल

गणतन्त्रको बिउ बचाउन
आऊ हामी मृत्यु साटासाट गरौँ
आऊ हामी दिपावली गरौँ
अलिकति बाँकी रहेको श्वासमा श्वास भरौ
र, यो सरकारको प्राण रक्षा गरौँ ।

किनकी,
हाम्रो आँसुले ऊ स्नान गर्छ
हाम्रो लाशमा ऊ रमाउँछ
हाम्रो चिताको आगोले ऊ न्यानो ताप्छ !
नभए केही लागेन भने
हाम्रो चितामाथि उभिन्छ र निर्बिघ्न हाँसो हाँस्छ
हो ! सरकार यसबेला मृत्यु उत्सव मनाईरहेको छ ।

जब जब जनतालाई संङ्कट पर्छ
सरकार सानो बालक जस्तो हुन्छ
उसलाई दुख्दैन हाम्रो चोटमा
आफ्नै तालमा मस्त निन्द्रामा सुत्छ
आफ्नै दौँतरीसँग मनमौजी खेल्छ
भो नउठाउ उसलाई
फेरि उठेपछि उसले लड्डी गर्नेछ
उल्टै हामीसँग
मलाई भोट देउ भनेर ।

(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी,संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button